• १२ असोज २०८१, शनिबार

उच्च शिक्षा अध्ययनमा मुक्त कमलरीलाई समस्या

blog

पत्रकार सम्मेलनमा सहभागी मुक्त कमलरी

लिलाधर वली

घोराही, असार ९ गते । उच्च शिक्षा अध्ययनसँगै छात्रावास सुविधाका लागि बजेट कटौती हुँदा समस्यामा परेको मुक्त कमलरीहरुले बताएका छन् । मुक्त कमलरी विकास मञ्चले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुक्त कमलरीहरुले शिक्षा र छात्रावासका लागि बजेटको व्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन् ।

सङ्घीय र प्रदेश सरकारले बजेट कटौती गर्ने र स्थानीय सरकारले सहयोग नगर्दा मुक्त कमलरीलाई उच्च शिक्षा अध्ययनमा समस्या भएको बताएका छन् । साथै, उहाँहरुले सङ्घ र प्रदेश सरकारले विनियोजन गरेको बजेटमा कमलरी शब्द हटाइएकोप्रति गुनासो  गरेका छन् ।

राज्यले बेवास्ता गर्दा उच्च शिक्षा अध्ययनका लागि विगत दुई वर्षयता मुक्त कमलरीहरुका नाममा बजेट आउन नसकेको मुक्त कमलरी विकास मञ्चका पूर्वअध्यक्ष मञ्जिता चौधरीले बताउनुभयो । उहाँले विगतमा सरकारसँगै गरिएको १० बुँदे सहमति अनुसार उच्च शिक्षा अध्ययनसम्म छात्रवृत्ति उपलब्ध गराउने सहमति भए पनि नदिएको गुनासो गर्नुभयो । 

‘मुक्त कमलरीहरुलाई उच्च शिक्षा अध्ययनका लागि राज्यले सहयोग गर्ने सहमति भएको थियो’, मुक्त कमलरी मञ्जिताले भन्नुभयो, ‘सहमतिअनुसार सरकारले बजेट दिएको भए अध्ययनमा समस्या हुने थिएन । तर बजेट नदिँदा समस्या भएको छ ।’ उहाँकाअनुसार १२ कक्षा पास गरेका दुई सयभन्दा बढी मुक्त कमलरीले आर्थिक अभावकै कारण उच्च शिक्षा अध्ययन गर्न नसकेको बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका–१७ निवासी आशा चौधरीले आफूले पाउँदै आएको छात्रवृत्ति रकम नआउँदा पढाइमा समस्या भएको बताउनुभयो । छात्रवृति रकम नपाउँदा पढाइ छाड्ने अवस्था सिर्जना हुन थालेको बताउनुभयो । 

‘सरकारले १२ सम्म अध्ययनका लागि छात्रवृति दिएको थियो । तर स्नातक तह अध्ययनका लागि दिएन’, आशाले भन्नुभयो, ‘जसले गर्दा स्नातक तहको दोस्रो वर्षमा अध्ययन गर्दागर्दै पढाइ छोड्नुपर्ने अवस्था आएको छ ।’ 

उहाँले देउखुरी बहुमुखी क्याम्पस लमहीमा व्यवस्थापन विषय लिएर अध्ययन गर्दै आइरहनुभएको छ । तर पैसाको अभाव हुँदा पढाइ छुट्ने हो कि भन्ने चिन्ता उहाँलाई लागेको छ । 

आशाको जस्तै समस्या घोराही उपमहानगरपालिका–४ गोग्ली निवासी अङ्किता चौधरीको पनि छ । १२ पास गरेर उच्च शिक्षा अध्ययन गरिरहनुभएका अङ्किता मुक्त कमलरीहरुलाई पढाइका लागि बजेटको व्यवस्था गर्न माग गर्नुहुन्छ । 

‘१२ पास गरेर मात्र जागिर पाइँदैन । पढ्नलाई सरकारले सहयोग गर्दैन’, उहाँले भन्नुभयो, ‘उच्च शिक्षा अध्ययनका लागि सहयोग गरिदिए आफू जस्ता धेरै दिदी बहिनीहरुले पढेर केही गर्न सक्थ्यौँ होला ?’ उहाँले पढाइका लागि बजेट नदिने भए रोजगारीको व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभयो । ‘हामीले जीवनभर पैसा मागेका होइनौँ, पढाइ लेखाइका लागि सहयोग गर्न आग्रह गर्दै आएका हौँं’, उहाँले भन्नुभयो, ‘उच्च शिक्षा अध्ययन गर्न पाए रोजगार गरेर सक्षम बन्न सक्छौँ ।’

छात्रवृत्ति नपाउँदा लावाजुनी छात्रावासमा बसेर पढ्दै गरेका १७ जनालाई विशेष गरी पढ्न समस्या भइरहेको छ । ३६ जना बस्दै आएको छात्रावासमा १९ जनाले पाउने छात्रवृत्तिबाट सबैको खर्च धान्नुपर्ने अवस्था छ । 

दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा गरी २७७ जना मुक्त कमलरीहरुलाई उच्च शिक्षा अध्ययनमा समस्या भइरहेको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय सचिव निर्मला चौधरीले बताउनुभयो । 

उहाँले मुक्त कमलरीकहरुका लागि अब सीपसहितको पुनःस्थापनाका लागि सरकारले योजना बनाउनुपर्ने बताउनुभयो । ‘घरमा पठाउने, कहाँ पठाउने, कतिपय कमलरी बहिनीको घर नै छैन । कमैया बसेका, बुबाआमा नभएकालाई लिएर यहाँ राखिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यस्ता मुक्त कमलरीले राज्यले छात्रवृत्ति रोकेपछि कसरी अध्ययन गर्ने ?’ 

मुक्त कमलरी विकास मञ्चका अनुसार १२ हजार ६६९ जना मुक्त कमलरी छन् । जसमा सबैभन्दा धेरै दाङका छन् । केन्द्रीय सचिव चौधरीका अनुसार चार हजार ९३४ जना मुक्त कमलरीले परिचय पत्र पाए पनि सात हजार ८३५ जनाले अझै परिचयपत्र प्राप्त गर्न सकेका छैनन् ।