अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ । शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो । सो हमलाको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत् निन्दा गरेको छ ।
डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि जिल्लास्तरीय समन्वय, सहकार्य समिति गठन गरिएको छ । अमरगढी नगर प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा जिल्ला समन्वय समिति प्रमुख, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, वन, स्वास्थ्य, शिक्षा समन्वय कार्यालयका प्रमुखहरु सदस्य रहने गरी समिति गठन गरिएको हो ।
अविरल वर्षासँगै सहायक राजमार्गदेखि जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । वर्षाले सहायक राजमार्ग भानुमार्ग, डुम्रे–वेशीशहर मार्ग, बुद्धसिंह र श्रृङ्गपथमा ठाउँ ठाउँमा गएको पहिरोले यात्रुलाई सास्ती भएको छ । अविरल वर्षाले गर्दा ह्युम पाईप बगाउने, पहिरो जाने, सडक भासिने गरेकाले सहायक राजमार्गहरु भानुमार्ग, डुम्रे–वेशीशहर खण्ड र अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएको भानु नगरापलिकाको प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल 'प्रचण्ड' सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने प्रवृत्ति अझै कायमै रहेको बताउनुभएको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्यांकले पुष्टि गरेको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिना अघिदेखि उडान अवरुद्ध बनेको छ । बाक्लो हुस्सु र वर्षासहित मौसम प्रतिकुल हुँदै आएकाले सुकेटारमा उडान अवरुद्ध बनेको हो । प्रतिकुल मौसमकै कारण महिना दिनयता लगातार उडान अवरुद्ध हुँदा यात्रु सेवा लिनबाट बञ्चित भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन गर्नुभएको छ । उहाँले सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन गर्नुभएको हो । राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो जग्गा धनी पूर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन गर्नुभएको हो ।
जाजरकोटको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष मुनबहादुर घर्तीको मृत्यु भएको छ । आज ( शनिवार) विहान घरमै वडाध्यक्ष घर्तिको मृत्यु भएको हो परिवारिक स्रोतले जानकारी गराएको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नै घर कुशे ७ समाइलामा विहान एक्कासी टाउको दुःख्यो भनेर ओछ्यानमा पल्टिनुभएका घर्ति मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । मृत्युको कारण खुल्न सकेको छैन ।
जिल्ला समन्वय समितिमा हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको छ । जिसस निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएपछि एकीकृत समाजवादीका शिबराज शर्माले प्रमुख पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
मुग्लिन नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो खसेपछि बिहान ११ः३० देखि राजमार्ग अवरुद्ध भएको छ । राति पानी परे पनि विहान विना वर्षा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा खसेको पहिरो पन्छाउन प्रहरी परिचालन भएको छ ।
नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोख्नुभएको छ । राजोपाध्याय समाजले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिएर आलोचनाको रुपमा लिने प्रवृत्तिका कारण यस विधाको विकास हुन नसकिरहेको विचार राखेका थिए ।
वि.सं. २०७७ चैत २२ गते बर्दिया राष्ट्रिय निकुञ्जका माहुत पुलिसराम थारुमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ । उक्त बाघले उहाँलाई आक्रमण गर्नु अघि अरु दुई जनालाई आक्रमण गरेको थियो । त्यो बाघ अहिले सदर चिडियाखाना जाउलाखेलमा छ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका– ११ राङ्बास र गुल्मीबार गाउँपालिका–६ जोड्ने जाबुने ट्रसपुलको निर्माण कार्य सम्पन्न भएको छ । रेसुंगा नगरपालिकाको सिमिचौर–राङ्बास हुँदै गुल्मीदरबार–६ लाई जोड्न बठवाखोलामा २४ मिटर लम्बाई रहेको ट्रसपुल निर्माण भएपछि स्थानीयहरु निकै खुसी भएका छन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा पहिरोले एक घर बगाएको छ । खेजेनिमको चाखु टोलका स्थानीय जीवन बाराकोटीको घर पहिरोले बगाएको हो । घर माथिबाट झरेको पहिरोले बाराकोटीको घर बगाएको छ भने उक्त चाखु बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौंलागाईका अनुसार गएराति (शुक्रबार राति) झरेको पहिरोले बाराकोटीको घर बगाएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोदालोले खनेर मात्र बिरुवा नहुर्किने बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मधुवनधामको आठौँ चुरे दिवसको अवसरमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।