• ३० वैशाख २०८१, आइतबार

समालोचना विधाको विकास हुन नसकेकोमा चिन्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ४ गते । नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोख्नुभएको छ । राजोपाध्याय समाजले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिएर आलोचनाको रुपमा लिने प्रवृत्तिका कारण यस विधाको विकास हुन नसकिरहेको विचार राख्नुभएकाे थियाे। 


कार्यक्रममा स्वर्गीय इतिहासविद् दिवंगत सहप्राध्यापक गोवर्धन शर्माबाट लिखित समालोचना पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ को विमोचन गरिएको थियो । समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यलगायतले पुस्तकको विमोचन गर्नुभएको थियो ।

विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजाप्रसाद जोशीबाट लिखित उपन्यासहरुको स्व. इतिहासविद् सहप्राध्यापक शर्माले समालोचना गर्नुभएको थियो । 

विमोचित उक्त पुस्तकको बारेमा बोल्दै वरिष्ठ पत्रकार शाक्यले समालोचना विधामा इतिहासविद् शर्माको खुबीको प्रशंसा गर्नुभयो । ‘गिरिजा प्रसाद जोशीलाई साहित्य क्षेत्रमा पागल कविसमेत भन्ने गरिन्छ, मनमा उठेका भावनालाई जस्ताको तस्तै लेख्ने स्वच्छन्दवादी पनि भनिन्छ, उहाँको विचारको स्वतन्त्रतालाई गोवर्धनले राम्ररी प्रस्तुत गरेका छन्’ शाक्यले भन्नुभयो ।


समालोचक ताम्राकारले साहित्य क्षेत्रमा गिरिजाप्रसाद जोशीको योगदानको स्मरण गर्दै विमोचित पुस्तकले इतिहासविद् शर्मासँग सच्चा समालोचकको खुबीसमेत प्रमाणित गरेको विचार राख्नुभयो ।

‘गोवर्धन शर्माले यस पुस्तकमा गिरिजाप्रसाद जोशीको उपन्यासको समीक्षा गर्ने क्रममा समालोचनाको एक एक नियमलाई ध्यानमा राखेको स्पष्टै देखिन्छ । आज उहाँ जीवित हुनुभएको भए हामीले समालोचना विधामा उहाँबाट धेरै लिन सक्थ्यौं तर, अफसोच उहाँ हुनुहुन्न’ ताम्राकारले शर्माको समालोचनाको प्रशंसा गर्दै दुःखसमेत व्यक्त गर्नुभयो ।

शर्माका सुपुत्र सुभाष शर्माले स्वर्गीय भएको १४ वर्षपछि उहाँको पुस्तक प्रकाशन हुँदा निकै खुसी लागेको बताउनुभयो । नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः जातीय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीलगायतले राजोपाध्याय समाजले आफ्नो पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमै विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । 


सोही कार्यक्रममा महामारीको समयमा सङ्क्रमितको उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मीहरुको साथमा समाजबाट २०७६ र ७७ सालमा एस.ई.ई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो ।

समाजले पुस्तक विमोचन कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो । मेलामा वेद, तन्त्रको साथमा नेपालको धर्म, संस्कार, संस्कृतिसँग सम्बन्धित साथै विभिन्न पुस्तक थिए ।