• १२ वैशाख २०८३, शनिबार

‘एडभेन्चर विद्इन वन माइन्ड’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १२ गते  । बालकलाकार एवं खेलाडी आश्रीया देशारको पुस्तक ‘एडभेन्चर विद्इन वन माइन्ड’ लोकार्पण गरिएको छ । योङ पिकासोद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी र पुस्तक लोकार्पण समारोहमा प्रा. राधेश्याम मुल्मी, लेखक देशार, योङ पिकासोका निर्देशक कलाकार अजय देशार, शिक्षा अभियन्ता बाबुकाजी श्रेष्ठलगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । 

प्रा. राधेश्याम मुल्मीले विशिष्ट विधा कला जीवनका हरेक आयामसँग जोडिन्छ भन्दै आफ्ना बालबालिकालाई यसप्रति प्रेरित गर्न अभिभावकसँग आग्रह गर्नुभयो । साहित्यकार सोमनाथ दाहालले बालकलाकार, खेलाडी आश्रीयाको परिचयमा लेखकसमेत थपिएको बताउँदै उहाँका चित्रकथा पढ्दा आजका बालबालिका मोबाइल, ल्यापटपमा मात्र भुल्छन् भन्ने कुरालाई आश्रीयाले गलत साबित गर्नुभएको बताउनुभयो । लेखक आश्रीयाले बाबाआमासँग घुम्दा पुगेका स्थान, अन्य बालबालिका, आफूले पढेका विषय र नेपालका प्रसिद्ध व्यक्तित्वका योगदान नियाल्दै जाँदा र लेख्ने÷चित्र कोर्ने प्रयासले पुस्तक तयार भएको बताउनुभयो । 

योङ पिकासोका निर्देशक अजय देशारले बालबालिकालाई अभिभावकले आफ्नो रहर र सोख पूरा गरिदिऊन् भनेर दबाब दिनुभन्दा बालबालिकाले चाहेको क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । पाटन सङ्ग्रहालयमा आयोजित अन्तर्राष्ट्रिय बालकलाकारका सामूहिक चित्रकला प्रदर्शनीमा ३० नेपाली बालकलाकारसहित २७ देशका बालबालिकाले बनाएका चित्रकला राखिएको छ ।