• ३० वैशाख २०८१, आइतबार

ट्रसपुल निर्माण भएपछि दर्जनौं परिवार लाभान्वित

blog

जाबुने ट्रसपुल, तस्बिर - रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असार ४ गते । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका– ११ राङ्बास र गुल्मीबार गाउँपालिका–६ जोड्ने जाबुने ट्रसपुलको निर्माण कार्य सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकाको सिमिचौर–राङ्बास हुँदै गुल्मीदरबार–६ लाई जोड्न बठवाखोलामा २४ मिटर लम्बाइ रहेको ट्रसपुल निर्माण भएपछि स्थानीयहरु निकै खुसी भएका छन् ।

पुल निर्माण भएपछि वर्षायामको समयमा स्थानीयहरुलाई आवतजावत गर्न धेरै सहज हुने वडा अध्यक्ष खुमबहादुर रानाले बताउनुभयो । “वर्षायामको समयमा खोलो बढ्दा वारीपारी गर्न निकै समस्या भएको थियो,” उहाँले भन्नुभयो,“यस ठाउँमा पुल निर्माण हुँदा वर्षायाम घाँस दाउरा गरेर ल्याउन लैजान, खेत रोप्न आउन जान पनि निकै सहज हुनेछ ।” 

रेसुङ्गा नगरपालिकाको–११ र गुल्मीदरबार–६ लाई जोड्ने उक्त ट्रसपुल २४ लाख ८२ हजार ९ सय ९२ रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न भएको हो । पुल निर्माणसँगै त्यस क्षेत्रका १३५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष गोपाल नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ ६७५ कुल जनसङ्ख्या  छ । जसमा महिला ३५०, दलित १००, जनजाति २२५ छन् । पुल निर्माणका लागि सिर्जनशील सामुदायिक विकास केन्द्र तम्घास गुल्मीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।

पुल निर्माणका लागि रेसुङ्गा नगरपालिका तथा उपभोक्ता समितिबीच सम्झौता भई ०७८ फागुन ६ गते देखि निर्माण कार्य सुरु गरिएको थियो । सम्झौता अनुसार यही असार १५ गतेसम्म निर्माण कार्यको म्याद  थियो । म्याद अघि नै निर्माण कार्य सम्पन्न भएको छ । 

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले निर्माण भएको उक्त ट्रसपुलको एक कार्यक्रका बीच उद्घाटन गनुभयो । ट्रसपुलको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले विकासका काममा कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताउनुभयो । आफूहरु समुन्नत र सुन्दर रेसुङ्गा नगरपालिका बनाउने अठोटका साथ आएको, उहाँले भन्नुभयो, “रेसुङ्गा नगरपालिकालाई सम्मुनत बनाउने पहिलो आधार सालझण्डी, पटौटी, दुर्गाफाँट हुँदै तम्घास आउने सडक हो । यो सडकले राङबासलाई पनि छोएको छ ।”

“राङबास आफैमा भूगोलले भाग्यमानी स्थानमा रहेको,” उहाँले भन्नुभयो, “तत्कालै राङबासदेखि सिमिचौरसम्मको सडकलाई स्तरोन्नती गर्ने गरी काम अगाडि बढेको छ ।” विकासका कुनै पनि काममा बजेट अभाव हुन नदिने उहाँको भनाइ रहेको छ । विकासका पूर्वाधार साना भए पनि ठूलो महत्व राख्ने उहाँले बताउनुभयो । ट्रसपुल उद्घाटनको क्रममा उहाँले भन्नुभयो, “पुल सानो भएपछि यातायातलाई सहज बनाउने छ । समुन्नत नगरपालिका बनाउन इँट्टाको काम गरेको छ ।”