मङ्सिर ४ गते हुने निर्वाचनमा बाजुरामा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट स्थायी कमिटी सदस्य ५४ वर्षीय कर्णबहादुर थापा र पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका सह महामन्त्री ४८ वर्षीय बद्रीप्रसाद पाण्डे उम्मेदवार रहनु भएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं. ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुग्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुन्नुभयो र गठबन्धनका लागि जनतासँग भोट माग्नुभयो । जनगुनासो सुनिसकेपछि उहाँले भन्नुभयो, “बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा मुख्य समस्या सिँचाइसँगै तटबन्धको छ, यहाँबाट निर्वाचित भएपछि म यिनै कामबाट आफ्नो कार्यकाल सुरु गर्छु ।”
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक कार्य तीव्र गतिमा अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेको बताइएको छ । यस जिल्लामा कात्तिक १८ गतेदेखि जारी मतदाता शिक्षा कार्यक्रम आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । कम्तीमा १५ जना व्यक्तिलाई मतदाता शिक्षा दिनुका साथै एउटा मतदाता शिक्षा सामग्री उपलब्ध गराइएको छ ।
गुल्मीका ग्रामीण क्षेत्रमा महिला आलु खेती गर्न निकै व्यस्त छन्। जिल्लाको मुसीकोट नगरपालिकाका महिला समूहमा आबद्ध भएर आलु खेती गर्न निकै व्यस्त भएका हुन्। मुसीकोट नगरपालिका–७, वामीटक्सारमा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले सामूहिक आलु खेती गर्ने महिलालाई प्रोत्साहन गर्दै आएको हो। उक्त सहकारी संस्थामार्फत वडा नं. ८ मा गठित अमृतपुर आलु तथा अलैँची उत्पादक कृषक समूहले पनि कृषकहरूलाई समूहमा काम गर्न प्रोत्साहन गरेको छ।
दक्षिण कोरियाले नेपालसहित १६ देशसँगको रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता एकै पटक नवीकरण गर्ने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ देशकै एकै पटक गर्ने भएकाले केही ढिलाइ हो।
संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार मङ्गलबारबाट विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ। गत जुलाई ११ तारिखमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको थियो। सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो। विश्व जनसङ्ख्या कोषले चार महिनाअघि सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस् २०२२’ले विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने प्रक्षेपण गरेको छ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि भइरहेको सुरक्षा तयारी र भावी रणनीतिबारे निर्वाचन आयोग र सुरक्षा निकायका उच्च अधिकारीबीच छलफल भएको छ । सङ्घीय तथा प्रदेश तह निर्वाचनको मितिभन्दा छ दिनअघि मङ्गलबार आयोगले सुरक्षा तयारीबारे जानकारी लिएको हो । छलफलका क्रममा निर्वाचन सुरक्षाको तयारी सँगै सम्भावित सुरक्षा चुनौतीको सामना गर्ने गरी भइरहेको तयारी र भावी सुरक्षा रणनीतिबारे आयोगले चासो व्यक्त गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र लेतेमा मौसमबारे जानकारी दिने क्यामरा जडान गर्न लागेको हो । क्यामरा जडानका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । माहुरीडाँडा, कटुका र लेतेमा जडान गरिने मौसमी जानकारी दिने क्यामराको परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गरिने उहाँले बताउनुभयो ।
आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न निकायले आ–आफ्नै तरिकाले बिदा घोषणा गरेका छन् । सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयमा मङ्सिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै सरकारी कार्यालयलाई भने मङ्सिर ४ गते र ५ गते मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संयमित र संवेदनशील भई मताधिकार प्रयोग गरेर निर्वाचनमा निष्ठा कायम गर्न सबै मतदातालाई अनुरोध गर्नुभएको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु सार्वभौम अधिकार भएको उल्लेख गर्नुभयो । कसैले पनि यसविपरीत काम गरे दण्डनीय हुने उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्रिय राजनीति चर्चा कमाएका व्यक्तिहरु अहिले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार रहेकाले सप्तरीको निर्वाचन क्षेत्र नं. २ यतिबेला चर्चामा छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताउनुभएको छ ।
तनहुँ, कात्तिक २९ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले छाब्दी बाराही मन्दिरलाई नमुना धार्मिक पर्यटकीय क्षेत्र बनाएर काम गरिने बताउनुभएको छ। व्यास नगरपालिका-१४ छाब्दीमा आज आयोजित सभामा नेता पौडेलले भन्नुभयो, “निर्वाचनमा मलाई जिताएर पठाउनुहोस्”, उहाँले भन्नुभयो। शहीदका बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ थियो। पाँच दलीय गठबन्धन अपरिहार्य भएको उल्लेख गर्दै नेता पौडेलले देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कहीँ कतै विचलित नभई गठबन्धन शक्तिलाई बहुमतले विजयी गराउन आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अधूरा काम पूरा गर्नेछु, जनतासामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्छु।” सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनका लागि गठबन्धन गरेको बताउनुभयो। विकास गरी नमुना जिल्लाको रूपमा विकास गर्न गठबन्धन अपरिहार्य भएको अर्का उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले बताउनुभयो। रासस
कतामरा मंसिर ४ गतेदेखि सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडीको सहभागिता रहने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो ।
काठमाडौं, कात्तिक २९ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ। उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। उम्मेदवार लामिछानेविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो। मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानुनी व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताउनुभयो। उहाँले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने बताउनुभयो। त्यस्तै उहाँले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताउनुभयो। निर्वाचन विवाद निरुपण सम्बन्धमा आयोगमा अहिलेसम्म परेका ६ वटा उजुरीमा दुई वटा फस्र्यौट भइसकेको आयोगले जनाएको छ। ललितपुर ३ की उम्मेदवार तोषिमा कार्की, प्रतिनिधिसभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण सिवाकोटी, प्रदेशसभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहता, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ रेवतराज पुरीविरुद्ध उजुरी परेको आयोगले बताएको छ। उपन्यायाधीवक्ता वाग्लेले आचारसंहिता उल्लंघनका उजुरीमा मुलतः मतदातालाई आर्थिक प्रलोभन देखाएको, स्थानीय तहका निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफ्नो कार्यपालिका भित्र प्रचारप्रसार गरेको उजुरी धेरै आएको बताउनुभयो। त्यस्तै, सरकारी कर्मचारी राजनीतिक दलको प्रचारप्रसारमा सहभागी बनेको, आचारसंहिता विपरीतका सामग्री प्रयोग गरेर प्रचारप्रसार गरेको उजुरीहरु पनि धेरै आएको बताउनुभयो। आचारसंहिता लागू गरेपछि आयोगमा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनका १२१ वटा उजुरी परेका छन्। जसमध्ये ११ वटा उजुरी फस्र्यौट भइसकेका छन् भने ११० वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेका छन्।