• १३ असोज २०८१, आइतबार

निर्वाचनमा निष्ठा कायम गर्न अनुरोध

blog

काठमाडौँ, कात्तिक ३० गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संयमित र संवेदनशील भई मताधिकार प्रयोग गरेर निर्वाचनमा निष्ठा कायम गर्न सबै मतदातालाई अनुरोध गर्नुभएको छ ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु सार्वभौम अधिकार भएको उल्लेख गर्नुभयो । कसैले पनि यसविपरीत काम गरे दण्डनीय हुने उहाँले उल्लेख गर्नुभयो । 

“मतदातालाई गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता निर्वाचनसँग सम्बन्धित विभिन्न कानुन तथा आयोगबाट जारी निर्देशिकाहरूले गरेका छन्,” उहाँले भन्नुभयो, “कोहीकसैबाट जोकोही मतदातालाई डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा पारेर मतदान प्रक्रियाको गोप्यता भङ्ग गर्नु गराउनु निर्वाचन आचारसंहिता, निर्वाचन (कसुर तथा सजाय) ऐन र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ (मतदान निर्देशका) अनुसार दण्डनीय हुनेछ ।” 

कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको बेहोरा कुनै प्रकारले सार्वजनिक गर्न, छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने कानुनी व्यवस्था रहेको पनि उहाँले बताउनुभयो ।

“मतदान प्रक्रियाको गोप्यता भङ्ग गरिएको मतपत्र मतपेटिकामा खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मतपत्रलाई छुट्टै खाममा राखी त्यस्तो खाममा सोही बेहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्नेछ र त्यस्तो मतपत्र गणना नगरिने व्यवस्था छ,” थपलियाले भन्नुभयो, “आफ्नो नाममा बाहेक अरूको नाममा मत हाल्न, पटक–पटक मतदान गर्न, मतपत्र बिगार्न वा नष्ट गर्ने कुनै वस्तु वा पदार्थ मतपेटिकामा खसाल्न हुँदैन ।” यसरी मतपत्रको गोप्यता भङ्ग गर्ने र कानुनविपरीत मतदान गर्ने व्यक्तिलाई मतदान केन्द्रमै मतदान अधिकृतले दण्ड जरिवाना गर्न सक्ने व्यवस्था भएको प्रति उहाँले ध्यानाकर्षण गराउनुभयो ।

यसैबीच निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान रोक्ने सम्बन्धमा चारबुँदे निर्णय गरेको छ । निर्वाचन आयोगका अनुसार मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनका निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने निर्णय गरिएको छ ।

यस्तै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्रबाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिन निर्देशन दिइएको छ ।

कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो साथमा लगी मत सङ्केत गर्ने कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत गरिने बेहोरा सर्वसाधारणलाई सूचित गर्ने र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, निर्वाचन आचारसंहिताविपरीत उल्लेखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउन निर्देशन जारी गरिएको आयोगले जनाएको छ ।