• १७ असार २०८२, मङ्गलबार
blog

प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा सोमबार संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रकाश शिलवाल (स्पेन/रासस) 

चाँदनी हमाल (काठमाडौं/गोरखापत्र)

असार १७ गते । संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि स्पेनको सेभिया सहरमा सुरु भएको छ । सम्मेलन भव्य समारोहका बिच उद्घाटन भएको छ । सोमबारदेखि चार दिनसम्म चल्ने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुनुभएको छ । 

समतामूलक विकास चाहन्छौँ 

प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अतिकम विकसित मुलुकबिचको असमानताको खाडल थप गहिरो हुँदै गएको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पूर्ण सत्रमा अतिकम विकसित मुलुक समूहको अध्यक्षका हैसियतमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई पछाडि नछाड्ने प्रतिबद्धता विकसित मुलुकले बिर्सिंदै गएको टिप्पणी गर्नुभयो । 

उहाँले एक दशकअघि अदिस अबाबामा विश्वले अल्पविकसित राष्ट्रसँग ऐक्यबद्धताको प्रतिज्ञा गरेको स्मरण गर्दै त्यो प्रतिबद्धता दिगो विकास २०३० लक्ष्यमा पनि प्रतिविम्बित भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो,  “हामीले कसैलाई पनि पछाडि नछाड्ने र सबैभन्दा पछाडि परेकालाई पहिले माथि उठाउने प्रतिबद्धता व्यक्त गरेका थियौँ, १० वर्षपछि, विश्वले प्रगति गरिरहेको छ तर असमानता पनि उस्तै बढ्दै छ ।” उहाँले विश्वको कुल गार्हस्थ उत्पादन ७५ ट्रिलियनबाट ११५ ट्रिलियनमा पुग्दा पनि मुलुकहरूबिच समानता नरहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । उहाँले सामूहिक एकता सबैभन्दा अत्यावश्यक रहे पनि विकास सहायताको स्वरूप घट्दै गएको औँल्याउनुभयो । पछिल्लो दशकमा अल्पविकसित राष्ट्रको ऋण तीन गुणा बढेको प्रस्ट्याउँदै उहाँले असमान व्यापारको वृद्धि र कमजोर लगानीका कारण विश्वव्यापी गरिबीको दर उस्तै रहेको जिकिर गर्नुभयो ।

विकसित देशमा प्रविधि र नवप्रवर्तन द्रुत गतिमा अगाडि बढिरहे पनि अल्पविकसित राष्ट्रले प्राविधिक र डिजिटल विभेदको सामना गरिरहेको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो । विकसित मुलुकको तुलनामा एक प्रतिशतभन्दा कम हरितगृह ग्यास उत्सर्जन गर्ने अल्पविकसित राष्ट्रमा जलवायु परिवर्तनको मार अत्यधिक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

नेपालसहित केही मुलुक विकासशील मुलुकमा स्तरोन्नतिको मार्गमा अग्रसर रहेको बताउँदै प्रधानमन्त्री ओलीले धेरै चुनौती सामना गर्दै अल्पविकसित राष्ट्र विकास साझेदारको समर्थन र ऐक्यबद्धता प्राप्तिको आशामा रहेको सुनाउनुभयो ।

१४ वटा अतिकम विकसित राष्ट्रमध्ये जम्मा चार मुलुक मात्र स्तरोन्नतिको यात्रामा अग्रसर रहेको जानकारी उहाँले दिनुभयो । यस सम्मेलनमा उठेको प्रतिबद्धताले यी मुलुकलाई मार्गप्रशस्त गर्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले दिगो विकासको लक्ष्य साकार पान पनि विश्वव्यापी वित्तपोषण प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल जस्तो मुलुकलाई पर्याप्त जलवायु वित्तका लागि आह्वान गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पहुँचयोग्य बनाउन अपिल गर्नुभयो । यस्तै प्रधानमन्त्री ओलीले अल्पविकसित तथा साना मुलुकको विकासका लागि लगानीको मार्ग प्रशस्त गर्न स्वतन्त्र आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

नागरिक समाजको भूमिका अहम्

यसैबिच प्रधानमन्त्री ओलीले सम्मेलनको पूर्वसन्ध्यामा आयोजित सिभिल सोसाइटी फोरमले आयोजना गरेको अर्को समारोहको पूर्ण सत्रमा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीलाई थप सुधार गर्नुपर्ने टिप्पणी गर्नुभयो । 

विकासशील मुलुकले पूरा गर्नुपर्ने प्रतिबद्धतालाई ध्यानमा राखेर काम गर्न सुझाउँदै उहाँले विश्वको वित्तीय प्रणाली सुधारका लागि नागरिक समाजले आवाज बुलन्द गर्नुपर्ने औँल्याउनुभयो । उद्घाटन समारोहमा आयोजक राष्ट्र स्पेनका राजा फिलिप द्वितीयको विशेष सहभागिता थियो ।  स्पेन सरकारका अध्यक्ष तथा प्रधानमन्त्री पेड्रो सान्चेजले सम्मेलनको अध्यक्षता गर्नुभएको उद्घाटन सत्रमा अतिथिलाई स्वागत गर्दै सान्चेजले विश्वको विकासमा वित्तीय लगानीको सम्भावना उजागर गर्न र विकासका लागि सामूहिक सहभागिताका लागि सघाउने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व विकास भावी लगानीको खाका यस सम्मेलनले कोर्ने जानकारी गराउनुभयो ।  

द्विपक्षीय भेटवार्ता 

अन्तर्राष्ट्रिय सम्मेलनको अवसर पारेर प्रधानमन्त्री ओली द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा व्यस्त हुनुभएको छ । सो क्रममा प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबिच छुट्टा छुट्टै भेटवार्ता भएको छ । भेटमा आपसी सहकार्यलाई प्रगाढ बनाउने, नेपालमा लगानीको वातावरण तथा विकास साझेदारीमा चाल्न सकिने भावी कदमका बारेमा गहन छलफल भएको थियो । अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल स्पेनका राजा फिलिप द्वितीयले आयोजना गर्नुभएको रात्रिभोजमा सरिक हुनुभयो । स्पेनका सुन्दर सहर सेभियास्थित रोयल अल्काजरमा रात्रिभोजको आयोजना गरिएको थियो । 

महासचिव गुटेर्रेससँग भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबिच महत्वपूर्ण भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपालले हिमाल संरक्षणको नेतृत्व लिँदै जलवायु परिवर्तनका असर कम गर्न पहल थालेको जानकारी गराउनुभयो । सो क्रममा नेपाल सरकारले गत जेठमा सगरमाथा संवादको आयोजना गरेको अवगत गराउँदै त्यसका निष्कर्षलाई कार्यान्वयनमा लगेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको प्रभावका कारण नेपालका हिमालमा तीव्र असर पर्दै गएकाले न्यूनीकरणका लागि आर्थिक तथा प्राविधिक सहयोगको खाँचो उहाँले औँल्याउनुभयो ।