• १३ असोज २०८१, आइतबार

निर्वाचनमा आ–आफ्नै बिदा

blog

काठमाडौँ, कात्तिक ३० गते । आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न निकायले आ–आफ्नै तरिकाले बिदा घोषणा गरेका छन् । सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयमा मङ्सिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै सरकारी कार्यालयलाई भने मङ्सिर ४ गते र ५ गते मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस

निर्वाचनमा विद्यालय चार दिन बिदा दिने सरकारको निर्णय

त्रिभुवन विश्वविद्यालयले मातहतका क्याम्पसमा मङ्सिर १ गतेदेखि नै बिदा दिने निर्णय गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको सूचनामा विश्वविद्यालयका अधिकांश क्याम्पस र कार्यालयमा निर्वाचनको केन्द्र/कार्यालय र मतगणना स्थलसमेत राखिएको भन्दै मङ्सिर ५ गतेसम्म बिदा दिने निर्णय भएको महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गर्नुभएको सूचनामा उल्लेख छ । 

काठमाडौँ विश्वविद्यालयले भने मङ्सिर ४ र ५ गते मात्र बिदा दिने निर्णय गरेको छ भने त्यसअन्तर्गतको स्कुल अफ एजुकेसनले २ गतेदेखि नै बिदा दिने निर्णय गरेको छ । उपत्यकाका कतिपय नगरपालिकाले मङ्सिर २ गतेदेखि नै बिदा दिने घोषणा गरेका छन् । महानगरपालिकाका अधिकांश कर्मचारी निर्वाचनमा खटिएका कारण शुक्रबार नै सेवा बन्द गर्नुपरेको ललितपुर महानगरपालिकाले जनाएको छ । 

भक्तपुर नगरपालिकाले भने सरकारले तोकेअनुसार नै बिदा दिने निर्णय गरेको छ । नगरपालिकाबाट प्रवाह हुँदै आएको सेवा शुक्रबारसम्म नै यथावत् रूपमा सुचारु हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिनुभयो । 

काठमाडौँ महानगरपालिकाले पनि मङ्सिर ४ र ५ गते मात्र कार्यालयको नियमित काम रोकिने जनाएको छ । निर्वाचनका लागि खटिएका महानगरपालिकाका कर्मचारी शुक्रबारदेखि नै त्यसतर्फ जाने भए पनि अन्य कर्मचारीबाट भने नियमित सेवा प्रवाह हुने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।