• १३ असोज २०८१, आइतबार

कतार विश्वकपमा ८३१ खेलाडी

blog

काठमाडौं, कात्तिक २९ गते । कतामरा मंसिर ४ गतेदेखि सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडीको सहभागिता रहने भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो ।

जसअनुसार मंगलबारसम्म विश्वकपका लागि सहभागी ३२ देशले कूल ८३१ खेलाडी दर्ता गराएका हुन् । मंगलबारसम्म सहभागी सबै देशले आफ्नो अन्तिम टोलीको घोषणा समेत गरिसकेका थिए । फिफाले सार्वजनिक गरेको सुची अनुसार यस विश्वकपमा सबैभन्दा कम २५ जना खेलाडी इरानले दर्ता गराएको छ ।

अन्य सबै टोलीले २६ जना खेलाडी दर्ता गराएका छन् । फिफाले कोभिड–१९ पछि टोलीका २६ जना खेलाडी राख्न पाउने नयाँ प्रावधान राखेको छ । यसअघि अन्तिममा २३ खेलाडी राख्ने प्रावधान थियो ।

यस विश्वकपमा विश्व फुबटलका दुई चर्चित खेलाडी अर्जेन्टिनाका ३५ वर्षीय लियोनल मेस्सी र पोर्चुगलका ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो पाँचौं पटक विश्वकप खेल्दै हुनुहुन्छ । कप्तानको भूमिकामा रहनुभएका दुवै जनाका लागि यो अन्तिम विश्वकप हुने बताईएको छ ।

एकमहिना चल्ने विश्वकमिा सहभागी ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यसपछि आठ टोली क्वाटरफाइनल, चार टोली सेमिफाइनल हुँदै दुई टोलीले डिसेम्बर १८ तारिख फाइनल खेल्नेछन् । सेमिफाइनलमा पराजित टोलीबीच डिसेम्बर १७ तारिख तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । 

विश्वकप फुटबलले २१ औँ संस्करण पार गर्दा हालसम्म आठ देशलेमात्र उपाधि चुमेका छन् । विश्वकपको सर्वाधिक उपाधि चुम्ने देश ब्राजिल हो । ब्राजिलले पाँच पटक उपाधि उचालेको छ । यसैगरी ब्राजिलपछि जर्मनी र इटालीले चार चार पटक, अर्जेन्टिना, उरुग्वे र फ्रान्सले दुई दुई तथा इङ्गल्यान्ड र स्पेनले एक एक पटक उपाधिको स्वाद चाखेका छन् । एजेन्सी