• १३ साउन २०८१, आइतबार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

चर्चामा सप्तरी-२ : उपेन्द्र, जयप्रकाश र सिके छैनन् ढुक्क

blog

सप्तरीको निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादव, जयप्रकाश ठाकुर र डा. चन्द्रकान्त राउत (सिके) ।

धीरेन्द्रप्रसाद साह

जनकपुर, कात्तिक २९ गते । राष्ट्रिय राजनीति चर्चा कमाएका व्यक्तिहरु अहिले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार रहेकाले सप्तरीको निर्वाचन क्षेत्र नं. २ यतिबेला चर्चामा छ । राष्ट्रिय अध्यक्षको राजनीति रणभूमिका कारण यो क्षेत्र चर्चामा हुने गरेको हो ।तत्कालीन नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष गजेन्द्रनारायण सिंहको निर्वाचन क्षेत्र पनि यो नै थियो ।

अहिले यस क्षेत्रमा दुई पार्टीका राष्ट्रिय अध्यक्ष र सत्ता गठबन्धनका उम्मेदवार चुनावी मैदानमा उत्रिएको कारण सप्तरी २ लाई सुक्ष्म तरिकाले हेर्ने सकिने अवस्थामा छैन । जित र हारको अदृश्य  खेलमा जितका लागि विभिन्न समिकरण बनाउँदै भत्किदै गरेकाले परिणाम अपेक्षाकृत हुनेमा कुनै उम्मेदवार ढुक्क भने छैनन् ।

यस क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) बीच चुनावी रस्साकसी छ । राजनीतिक शक्तिहरुको मतको हिसाबले सत्ता गठबन्धनका उम्मेदवार जसपाभन्दा दोब्बर र जनमतभन्दा ११ गुणा मतले अगाडि छन् । तर, मतदाता अझै खुलेको छैन । शान्त भएर बसेका कारण जुनसुकै उम्मेदवारलाई मत परिणाम आफ्नौ पक्षमा पार्न निकै सकस परेको छ ।

गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा ६४ प्रतिशत अर्थात् करिब ६२ हजार मत खसेको थियो । त्यसमा सत्तारुढ गठबन्धन दललाई ३७ हजार ३७३ मत, जसपा–एमालेले १९ हजार ७५, जनमतले तीन हजार २७१ मत प्राप्त गरेको थियो ।

यस क्षेत्रमा जनअपेक्षा अनुरुप काम नगरेको भन्दै मतदाताहरुले जनप्रतिनिधि फेरिँदै आएको अर्को इतिहास रचेका छन् । यस क्षेत्रबाट एक पटक निर्वाचित गजेन्द्रबाबुलाई अर्को पटक झिनो मतले पराजित भोग्नु परेको थियो । हालसम्म यो क्षेत्रमा दोहोरिएर जितेको इतिहास छैन । अहिले उपेन्द्र यादवमाथि पनि यस्तै आरोप छ । चुनाव जितेर गएपछि एक पटक पनि क्षेत्रवासीको सुखदुःखबारे चिन्ता र चासो नलिएको मतदाताहरुको गुनासो छ ।

पहिलो चुनाव अघि सबै दल, संघसंस्था, व्यक्तित्वहरुसँग गरेको समन्वय सहकार्य जितेर गएपछि बिर्सेको उपेन्द्रलाई यस पटक सहयोग गर्ने नगर्ने विषयमा बौद्धिक व्यक्तित्वहरुको अझै मनसाय नबनेको अधिवक्ता डोमन साहको बुझाइ छ ।

मतदाताको घरदैलौमा पुगेर उपेन्द्रले गजेन्द्रनारायण सिंह अस्पतालको स्त्तरोन्नती, नर्सिंङ्ग कलेज भवन, इन्जिनियरिङ्ग कलेज भवन, सडक सञ्जाल, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगयातको संरचना र विकास गरेको भन्दै मतदातालाई रिझाउने गर्नुभएको छ । यता, मतदाता ज्योति झा भन्छन्, भौतिक संरचनाले मात्र हुँदैन । भएको स्वास्थ्य, शिक्षा, कृषिका भौतिक संरचनाहरुलाई प्रभावकारी व्यवस्थापन र सञ्चालनको मात्र खाँचो थियो, त्यो गर्न र गराउन सक्नु भएन । मतदाताको चाहना सर्वसुलभ स्वास्थ्य सेवा, शिक्षा, कृषिमा यान्त्रिकरण, मलखाद्य बिउ समयमा पाउनु रहेको उहाँले बताउनुभयो ।

अर्कोतर्फ, २०७४ निर्वाचनमा तत्कालिन राजपा र कांग्रेससमेतको समर्थनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट उपेन्द्रले जितेका थिए । तर, यस पल्ट राजपाबाट जसपा हुँदै बनेको लोसपा र कांग्रेस विपक्षमा उभिएका छन् । जसपाले एमालेसँग गठबन्धन गरेको कारण जसपाभित्रका असन्तुष्ट पक्ष पनि उपेन्द्रलाई खुलेर सहयोग गरिरहेको देखिँदैन । त्यसैले उपेन्द्रलाई चुनाव जित्नु फलामको चिउरा चपाउनु सरह भएको छ ।

यस क्षेत्रका मतदाताको आकाङ्क्षा अनुरुप स्थिर जनप्रतिनिधि पाएको देखिँदैन । यसकारण प्रत्येक निर्वाचनमा जनप्रतिनिधि परिवर्तन गरिँदै आएको छ । अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिबाट असन्तुष्ट मतदाता परिवर्तनको पक्षमा लागेको भेटिन्छ ।

पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उत्रिनु भएको डा. सिके राउतलाई रोज्ने मतदाताको सङ्ख्या पनि थपिँदै गएको छ । किसानको दुःख, समस्या र समाधानको राम्ररी बुझेको राउतलाई नै विकल्प बन्न सकिने पक्षमा माहौल बनाउन थालेको छ । अन्नभण्डारको क्षेत्र मधेशमा परिवर्तन भयो तर, उल्टो परिवर्तनले किसानको समस्या ज्यूँकात्यूँ नै छ । यहाँको धान चामलले देशलाई धानेर निर्यात भइरहेको थियो । अहिले आयातमुखी भएको छ । यसलाई फेरि निर्यातमुखी बनाउन किसानको समस्या समाधान गर्ने, रोजगारीको अवस्था सिर्जना गर्ने, भ्रष्टाचार न्यूनिकरण गर्ने लगायतको योजना रहेको राउतले बताउनुभयो । 

यस्तै, २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरी यो तेस्रो पटक यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ,सत्ता गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुर । उहाँले जिल्लावासीलाई आफ्नो निजी स्वास्थ्य शिक्षा, अस्पताल सञ्चालन गरेर सयौं जनतालाई प्रत्यक्ष रोजगार दिएको, गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा प्रदान गरेको उदाहरण दिएर मतदाता रिझाइ राख्नुभएको छ ।

पहिलो पटकको निर्वाचनमा पार्टीबाट उम्मेदवार हुँदा पाँच हजारभन्दा बढी र दोस्रो पटक स्वतन्त्रबाट उपेन्द्रसँगको प्रतिस्पर्धामा १० हजार हाराहारीमा ठाकुरले मत ल्याउनु भएको थियो । यो मत र गठबन्धनको मत समेत एकीकृत गर्दा ठाकुरको जित सुनिश्चित नै छ । तर, यो पटक मत कस्को पोल्टामा पर्ने त्यसको सुनिश्चितता भने छैन ।

यस क्षेत्रको २(१) मा सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार सरोजकुमार मण्डल, एमाले–जसपाबाट मधेश प्रदेशका अर्थमन्त्री जसपाका शैलेन्द्रप्रसाद साह, जनमतका सतिशकुमार सिंहबीच नै त्रिपक्षीय प्रतिस्पर्धा रहेको आँकलन गरिएको छ । यसैगरी, २(२)मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादव, जनमतका महेशप्रसाद यादव र जसपाका लक्ष्मण यादवबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १२ र चार जना स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये १३ जना पुरुष र तीन जना महिला उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानको लागि ६८ मतदान स्थलमा १२३ मतदान केन्द्र कायम गरिएको छ । त्यसमा ५१ हजार ३७ पुरुष, ४४ हजार ३५५ महिला र दुई जना अन्य गरी ९५ हजार ३९४ जनाले मतदान गर्न पाउने छन् ।