• १३ असोज २०८१, आइतबार

८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री

मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ : अध्यक्ष बस्नेत

blog

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत । फाइल तस्बिर

काठमाडौं, कात्तिक २९ गते। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताउनुभएको छ।

‘‘यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ। पक्षधरता लिनै हुँदैन। जे हो त्यो प्रस्तुत गर्न सकेन भने मिडियालाई पत्याउँदैनन्’’ अध्यक्ष बस्नेतले भन्नुभयो।

उहाँका अनुसार, ‘निश्चित विधि, प्रक्रिया र आधारबिनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न चाहिँ उठिरहन्छ।’ अध्यक्ष बस्नेतले मिडियाप्रति आम नागरिकको भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी रहेको औँल्याउनुभयो।

८४ वटा सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घन

मङ्सिर ४ गते आइतबार हुने निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेको आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ।

काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमन र उजुरीको दायरामा रहेकामध्ये ८४ सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको हो।

विज्ञप्ति अनुसार, अनुगमन भएकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन, ५ वटा वेबपोर्टलले यस्ता सामग्री सम्प्रेषण गरेका हुन्।

काउन्सिलले ४ वटा सञ्चार माध्यमलाई उजुरी र बाँकी सबैलाई स्वअनुगमनका आधारमा विभिन्न पत्राचार गरिएको जनाएको छ। ‘६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको छ।

त्यस्तै दर्ता, सूचीकरण नभएका ५ वटा न्युज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने तीनवटा अनलाइन मिडियालाई फोनमार्फत ध्यानाकर्षण गराइएको छ। यस्तै, मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गरिएको जानकारी काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन मङ्सिर ४ नजिकिँदै जाँदा सरकारी र निजी दुवै क्षेत्रका सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका नयाँ नयाँ प्रवृत्तिहरू देखिएको  काउन्सिलले जनाएको छ।

सरकारी सञ्चार माध्यमको दुरुपयोग गर्दै कुनै दल तथा उम्मेदवारको विषयमा मात्र एकपक्षीय रूपमा सामग्री सम्प्रेषण गरेको बारेमा परेको उजुरीउपर सुनुवाइ गरी काउन्सिलले नेपाल टेलिभिजनसँग ‘भिडियो फुटेज’ का लागि पत्राचार गरी सो सम्बन्धमा अनुगमनसमेत गरिरहेको छ।

यसैबिच कुनै दलका उम्मेदरवारलाई लक्षित गरी प्रकाशित ‘हाते पर्चा’ उकालो डटकममा प्रकाशन भएको उदधृत गर्दै प्राप्त उजुरी र प्रकाशित सामग्रीबारे अध्ययन-अनुगमन भइरहेको र उकालो डटकमलाई सचेत गराइसकिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले निर्वाचनमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई वर्गीकरण/मूल्याङ्कनका साथै लोक कल्याणकारी भुक्तानीका लागि आधारको रूपमा लिनेगरी अभिलेखीकरण गर्ने निर्णय भएको छ।

यसैगरी, काउन्सिलले सबै प्रावधानतर्फ विशेष ध्यान दिई समाचार, विज्ञापन सम्प्रेषण गर्न/गराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालाई ध्यानाकर्षण गराएको छ।