गत वर्ष दाङको लमही नगरपालिका–६, देउपुरका विष्णु पौडेलको काटेर खेतमा सुकाएको धान वर्षाले भिजेपछि खेतमै उम्रने अवस्थामा पुगेको थियो । गत साल जस्तै नहोस् भनेर उहाँले यसपालि हरियोमै धान काट्नुभयो र राम्रोसँग सुक्न नपाउँदै उठाएर जम्मा गरिसक्नुभयो ।
बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विभिन्न सेवा सुरु गरेको सानो समयमै ठूलो फड्को मारेको छ। अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यताको करिबकरिब अन्त्य भएको अस्पतालले जनाएको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू गाउँगाउँ पुगेका छन्। विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न गाउँगाउँ पुगेर मतदातासँग भेटघाट गर्ने गरेका छन्। लमजुङका राजनीतिक दलका नेता, कार्यकर्ता पनि उम्मेदवारसँगै मतदाता भेटघाटमा व्यस्त छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षणजस्ता कार्यक्रमको बहानामा दैनिक गाउँघर पसेका छन्। उम्मेदवारहरू घरघरमा पुगी वृद्धवृद्धाको आशीर्वाद लिने, मतदानका लागि अनुरोध गर्ने र ढोग्दै पनि हिँडेका छन्।
मङ्सिर ४ गतेका लागि तोकिएको संसदीय निर्वाचनमा उम्मेदवारी दिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ मतदाता रिझाउन गाउँ पस्नुभएको छ। पूर्वप्रधानमन्त्री खनालले बिहीबारमात्रै आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र–१ का गाउँमा भोट माग्ने अभियान सुरु गर्नुभएको छ। सातौँ पटक इलाम–१ मा उम्मेदवारी दिनुभएका खनाललाई यस पटक निर्वाचनमा भने सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साथ दिँदैछन्।
राजधानीलगायत अन्य प्रमुख सहरमा तरकारी आपूर्ति गर्दै आएको यो जिल्लामा तरकारीको भाउ निकै चर्काे भएको छ। चाडपर्वको मौसम सुरु भएसँगै जिल्लामा तरकारीको मूल्य आकाशिएपछि यो जिल्लाबाट तरकारीमा भर पर्ने अन्य स्थानमा त्यसको प्रभाव पर्ने भएको छ। गौशाला नगरपालिका–१० का व्यावसायिक तरकारी कृषक दिनेश महतोका अनुसार असोज अन्तिम साता परेको अविरल वर्षाका कारण तरकारीको मूल्य आकाशिएको हो।
‘बीबीसी मास्टर सेफ दी प्रोफेसनल्स’का विजेता सन्तोष साहले नेपाली परिकारलाई विश्वभर चिनाउन सम्भव रहेको बताउनुभएको छ । साहले भन्नुभयो, “नेपाली खानाको ब्रान्डिङ गर्न सक्ने सम्भावना धेरै ठूलो छ । खाडी देशदेखि बेलायत, अस्ट्रेलिया र अमेरिकासम्म नै नेपाली खाना पु¥याउन सकिन्छ । यस विषयमा म अध्ययन र सम्भावनाको खोजीमा लागेको छु ।” मास्टर सेफ साह विश्वभरिका खानाका पारखीमाझ परिचित हुनुहुन्छ । आफूले स्थापित गरेको पहिचान सदुपयोग गर्दै नेपाली मौलिक खानाको प्रवद्र्धनमा जुट्ने उहाँले बताउनुभयो ।
सरकारले प्लास्टिकजन्य फूलमाला प्रयोग र खरिद बिक्री नगर्न सचेत गरएको छ । वातावरण विभागले बिहीबार सूचना सार्वजनिक गर्दै प्लास्टिकजन्य फूलमालाको प्रयोग वा बिक्री वितरण गरेमा एक लाख रुपियाँसम्म जरिवाना हुने जनाएको हो । प्लास्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न विभागले सचेत गराएको हो ।
वैदेशिक रोजगार विभागले द रिभर ओभरसिज कम्पनीलाई मलेसिया जाने युवाबाट उठाइएको बढी रकम फिर्ता गर्न निर्देशन दिएको छ । मौखिक उजुरीका आधारमा वैदेशिक रोजगार विभागले मङ्गलबार अनुुगमन गर्दा रोजगारीका लागि मलेसिया जाने १९ युवाबाट प्रतिव्यक्ति दुुई लाख ३० हजार रुपियाँका दरले पैसा लिएको पाइएको जनाइएको छ । ती युवा बुधबार मलेसिया प्रस्थान गरेका छन् ।
कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई बैङ्क तथा वित्तीय संस्थाले ब्याज बढाएर व्यवसायलाई धरापमा पारेको आरोप पोखराका पर्यटन व्यवसायीले लगाएका छन् । होटल सङ्घ पोखराले बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदर एक अङ्कमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौँमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई घुस लिएको आरोपमा शुक्रबार नियन्त्रणमा लिएको छ । खतिवडाले मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग पाँच हजार रुपियाँ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्र्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको दाबी गर्नुभएको छ । सो पार्टीको तर्फबाट शुक्रबार अपिल जारी गर्दै अध्यक्ष नेपालले उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच प्रतिस्पर्धा हुन लागेको बताउँदै त्यो जिम्मेवारीलाई पूरा गर्न नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
तिहारमा आवश्यक पर्ने भाइमसलाको आयात साढे दुई अर्ब रुपियाँको हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/८९ मा दुई अर्ब ५५ करोड ८३ लाख ३९ हजार रुपियाँको तिहारलाई लक्षित सामान आयात भएको हो । तिहारमा बढी खपत हुने नरिवल, काजु, सुकमेल, ल्वाङ, छोकडा, पेस्ता, किसमिस, बदाम, ओखर, मिस्रीलगायतका अन्य सामान आयात हुने गरेको छ ।
गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ
जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो । खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ ।
विगत १९ वर्षदेखि पशुपति विकास कोषको जग्गा भोगचलन गर्दै आएको मारवाडी सेवा समितिले निर्माण गरेको अवैध संरचना हटाइने भएको छ। गौशाला चोकमा रहेको कोषको नौ रोपनी १४ आना जग्गामा बनेको भवनसहितको जग्गा कौडीको भाउमा लिजमा लिएर धर्मशाला सञ्चालन गर्दै आएको समितिलाई ३५ दिने समय दिएर अवैध संरचना हटाउन कोषले निर्देशन दिएको छ।