• १६ भदौ २०८१, आइतबार

गाउँगाउँमा पुगे उम्मेदवार

blog

बेलिना थापा

लमजुङ, कात्तिक ५ गते । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू गाउँगाउँ पुगेका छन्। 

विभिन्न दलबाट उम्मेदवार बनेकाहरू आफ्नो पक्षमा मत माग्न गाउँगाउँ पुगेर मतदातासँग भेटघाट गर्ने गरेका छन्। लमजुङका राजनीतिक दलका नेता, कार्यकर्ता पनि उम्मेदवारसँगै मतदाता भेटघाटमा व्यस्त छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षणजस्ता कार्यक्रमको बहानामा दैनिक गाउँघर पसेका छन्। उम्मेदवारहरू घरघरमा पुगी वृद्धवृद्धाको आशीर्वाद लिने, मतदानका लागि अनुरोध गर्ने र ढोग्दै पनि हिँडेका छन्। 

नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचन केन्द्रित भेला तथा कार्यक्रमहरू भइरहेको बताउनुभयो। प्रदेश सभा ‘ख’का उम्मेदवार पनि भएकाले मतदातासँगको भेटघाटलाई तीव्र पारेको र निर्वाचनमा जित हासिल गर्ने बताउनुभयो। जनताले मन पराएको पार्टी र जनताका लागि स्थापित पार्टी एमाले भएकाले आफ्नो पार्टीको पक्षमा मत आउने विश्वास व्यक्त गर्नुभयो। 

नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेको बताउनुभयो। निर्वाचन नजिकिँदै गर्दा उम्मेलवारहरू आफ्नो पक्षमा मत माग्न व्यस्त रहेको बताउनुभयो। लमजुङमा सत्ता गठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन्। प्रतिनिधि सभा माओवादीले र प्रदेश सभा ‘क’ र ‘ख’मा कांग्रेसले उम्मेदवारी पाएको छ। 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज पारसमणि पौडेलले गठबन्धनका उम्मेदवार र नेताहरू कार्यकर्ता भेटघाट, नागरिक भेटघाटमा लागिपरेको बताउनुभएको छ। 

प्रतिनिधि सभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। प्रदेश सभा (क)मा एमालेका जमीन्द्रमान घले र कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा (ख)मा एमालेका कृष्णप्रसाद अधिकारी र कांग्रेसका भेषबहादुर पौडेल चुनावी मैदानमा हुनुहुन्छ।

प्रतिनिधि सभामा एक जना स्वतन्त्रसहित ११ जना उम्मेदवार छन्। प्रदेश सभा (क)मा पाँच जना र प्रदेश सभा (ख)मा छ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताउनुभयो। प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ, नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, नेपाली कांग्रेस (बीपी)का लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालको उम्मेदवारी कायम छ। 

प्रदेश सभा (क)मा नेकपा एमालेका जमीन्द्रमान घले, नेपाली कांग्रेसका टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङ र मङ्गोल नेसनल अर्गनाइजेसनका बृखबहादुर तामाङको उम्मेदवारी रहेको छ। प्रदेश सभा (ख)तर्फ नेकपा एमालेका कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्बहादुर गुरुङ, मङ्गोल नेसनल अर्गनाइजेसनका राज गुरुङ र नेपाली कांग्रेस (बीपी)को नवराज बसौलाको उम्मेदवारी रहेको छ।