• २० असोज २०८१, आइतबार

त्रासमा धान भित्र्याउँदै किसान

blog

दिवाकर पोख्रेल

देउखुरी, असोज ५ गते । गत वर्ष दाङको लमही नगरपालिका–६, देउपुरका विष्णु पौडेलको काटेर खेतमा सुकाएको धान वर्षाले भिजेपछि खेतमै उम्रने अवस्थामा पुगेको थियो । गत साल जस्तै नहोस् भनेर उहाँले यसपालि हरियोमै धान काट्नुभयो र राम्रोसँग सुक्न नपाउँदै उठाएर जम्मा गरिसक्नुभयो । 

सोही ठाउँका रामबहादुर चौधरीले पनि राम्रोसँग धान पाक्न नपाउँदै काट्न सुरु गर्नुभएको छ र थ्रेसर पाएसम्म काट्नेबित्तिकै भित्र्याउने योजनामा उहाँ हुनुहुन्छ । गढवा गाउँपालिका–६, बाँकीका पुरन चौधरी बिहान काटेको धान बेलुकीसम्ममा जम्मा गरिरहनुभएको छ । धान भित्र्याएपछि मात्रै तिहारको सरजाम जुटाउने योजनामा उहाँ हुनुहुन्छ । 

अहिले दाङ देउखुरीका अधिकांश किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ छ । सकेसम्म वर्षाबाट धान सुरक्षित गर्न पाए हुन्थ्यो भन्ने योजनामा किसान छन् । 

गत साल धान थन्क्याउने समयमा भएको वर्षाले धानमा ठूलो क्षति भएपछि यसपालि काँचै बाली भित्र्याउन किसान कस्सिएका हुन् । लमही–६, देउपुरका विष्णु पौडेलले भन्नुभयो, “गत साल खेतमै धान भिज्यो, धानमा ठूलो नोक्सानी बेहोर्नु प-यो, अहिले समयमै भित्र्याऊँ भनेर हतारो गरेका हौँ ।” दशैँमा परेको पानीले किसानलाई झन् त्रास दिएको छ । वर्षासँगै आएको बाढी र डुबानले जोगिएको धान समयमै थन्क्याउने योजनामा रहेका किसानलाई काँचो बाली भित्र्याउँदा हुने क्षतिभन्दा बर्सातको चिन्ता देखिन्छ । “पानी परिहाल्यो भने धान कामै नलाग्ने हुन्छ, हप्ता दिनपछि काट्नुपर्ने धानलाई अघि काटेका छौँ,” गढवाका पुरन चौधरीले भन्नुभयो ।