• २० असोज २०८१, आइतबार

उपलब्धिको रक्षा गर्न आग्रह

blog

काठमाडौँ, कात्तिक ५ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्र्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको दाबी गर्नुभएको छ । 

सो पार्टीको तर्फबाट शुक्रबार अपिल जारी गर्दै अध्यक्ष नेपालले उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच प्रतिस्पर्धा हुन लागेको बताउँदै त्यो जिम्मेवारीलाई पूरा गर्न नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो । 

अध्यक्ष नेपालले हस्ताक्षर गरेको अपिलमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिको प्राप्ति र अग्रगमनका निम्ति निरन्तर पहल गरिरहने पक्षमा लाग्न अनुरोध गरिएको छ । उहाँले पार्टीको स्थापना नै सोही कारणले आफ्नो पार्टीले जनताले प्राप्त उपलब्धिको रक्षा र अग्रगमनको पक्षमा मत जाहेर गर्ने विश्वास लिएको अपिलमा उल्लेख गर्नुभएको छ । 

एमाले नेतृत्वलाई सुधार्न र ठीक ठाउँमा ल्याउन नसकिने भएपछि हामीले विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्न बाध्य भएको दाबी गर्नुभएको छ । अपिलमा पार्टी स्थापनाको छोटो समयमै हासिल गरेको उपलब्धिको रक्षा गर्दै जनताको पक्षमा आफूहरूले काम गर्ने प्रतिबद्धता गरिएको छ । 

बदर मत रोक्नु आवश्यक 

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसालले संविधान रक्षाका लागि गठबन्धन बनेकाले इमानदार बनेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभएको छ । 

महासचिव भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थितिमा पुगिसकेको बताउनुभयाे । 

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा उहाँले नेपाली जनताले गरेका सङ्घर्षको प्रतिफल जोगाउन गठबन्धन आवश्यक रहेको दाबी गर्नुभयो ।