• ११ असोज २०८१, शुक्रबार

चुनावी मैदानमा नयाँ र पुराना अनुहार

मतदाता रिझाउन गाउँमा नेता

blog

कोकिला ढकाल

इलाम, कात्तिक ५ गते  । मङ्सिर ४ गतेका लागि तोकिएको संसदीय निर्वाचनमा उम्मेदवारी दिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ मतदाता रिझाउन गाउँ पस्नुभएको छ। पूर्वप्रधानमन्त्री खनालले बिहीबारमात्रै आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र–१ का गाउँमा भोट माग्ने अभियान सुरु गर्नुभएको छ। सातौँ पटक इलाम–१ मा उम्मेदवारी दिनुभएका खनाललाई यस पटक निर्वाचनमा भने सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साथ दिँदैछन्। 

२०४८, २०५१, २०६४, २०७० र २०७४ मा नेकपा एमालेबाट निर्वाचित खनाल २०५६ मा भने नेपाली कांग्रेसका बेनुप प्रसाईंसँग पराजित हुनुभएको थियो। एमालेबाटै देशको प्रधानमन्त्रीसमेत हुनुभएका खनाललाई यस पटक कांग्रेसकै नेता विक्रम पाण्डेले बागी उम्मेदवारी दिएपछि चुनौती भने थपिएको छ। 

नेकपा एमालेबाट जिल्ला अध्यक्ष महेश बस्नेत इलाम–१ मा खनालका प्रतिस्पर्धी हुनुहुन्छ। नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा जानुभएका खनाल अहिले आफ्नो पुरानो विरासत जोगाउन पनि इलाम–१ का गाउँगाउँमा जाने र आमभेला गर्ने तयारीका साथ लाग्नुभएको छ। 

आगामी कात्तिक २४ गतेसम्म निर्वाचन क्षेत्रअन्तर्गत पालिकास्तरीय मतदाता भेटघाट कार्यक्रम तय गरिएको वाम लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन समन्वय समितिले जनाएको छ। 

यता पाँचौँ पटक आफ्नो निर्वाचन क्षेत्र इलाम–२ मा उम्मेदवारी दिनुभएका संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि यतिबेला चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ। उम्मेदवारी दर्ता गरेसँगै चुनावी अभियानमा रहनुभएका नेम्वाङले इलाम नगरपालिकामा मतदाता भेटघाट गरेर देउमाई नगरपालिकामा मतदाता भेटघाट 

गरिरहनुभएको छ। 

नगरपालिकामा प्रत्येक वडा, वडास्तरीय भेटघाट गरिरहनु भएका नेम्वाङ यस पटक पनि आफू विजयी बन्नेमा ढुक्क हुनुहुन्छ । २०५६, २०६४, २०७० र २०७४ मा इलाम–२ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङको प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का पनि चुनावी प्रचारमै रहनुभएको छ। 

इलाम–२ मा सङ्घीय निर्वाचनकै लागि नेपाली कांग्रेसकै जुनु माखिमले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी अभियानमा लाग्नुभएको छ तर जसले जे टीकाटिप्पणी गरे पनि चार पटक नेकपा एमालेले जितेको इलाम–२ मा भएको विकास निर्माण, पूर्वाधार, स्वास्थ शिक्षा, खानेपानी, सिँचाइलगायतका कामले गर्दा पनि यस पटक पनि नेकपा एमाले विजयी बन्छ भन्ने कुरामा आफू ढुक्क रहेको नेम्वाङ बताउनुहुन्छ।