• १६ भदौ २०८१, आइतबार

ब्याजदर एकल अङ्कमा झार्न माग

blog

रमेश पौडेल

पोखरा, कात्तिक ५ गते । कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई बैङ्क तथा वित्तीय संस्थाले ब्याज बढाएर व्यवसायलाई धरापमा पारेको आरोप पोखराका पर्यटन व्यवसायीले लगाएका छन् । 

होटल सङ्घ पोखराले बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदर एक अङ्कमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ । 

सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । अहिलेको अवस्थामा बैङ्क तथा वित्तीय संस्थाले मनोमानी रूपमा ब्याजदर बढाए पनि राष्ट्र बैङ्क र सम्बन्धित मन्त्रालय चुप लागेर बसेकोमा आक्रोश व्यक्त गरे ।  

कार्यक्रममा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड–१९ पछि पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०–२५ प्रतिशत अकुपेन्सीले सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताउनुभयो । आम्दानी पनि नभएको र पर्यटक आगमन दर पनि अपेक्षित बढ्न नसकेको अवस्थामा होटल क्षेत्र अहिले बैङ्कले प्रदान गरेको कर्जाको साँवा तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको उहाँले बताउनुभयो । 

सो अवसरमा होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, होटल सङ्घ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे, सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनलगायतका वक्ताले दुई वर्ष पर्यटन क्षेत्र बन्द रहेको अवस्थामा अहिले ब्याज बढाएर वित्तीय आतङ्क सिर्जना गरिएको आरोप लगाउनुभयो ।