ललितपुर, कात्तिक १९ गते । साहित्यकार मोतीलक्ष्मी शाक्य र मनदेवी ताम्राकारका दुई कृति सार्वजनिक भएका छन् । शाक्यको प्रबन्ध सङ्कलन ‘झीगु नेवा: संस्कार व संस्कृतिया धुकूपिकू’ (हाम्रो नेवार संस्कार र संस्कृतिको ढुकुटी) र ताम्राकारको कथा सङ्ग्रह ‘छेँदुने’ (घरभित्र) एकसाथ सार्वजनिक गरिएको हो । शनिबार ललितपुरको उग्रचण्डी मन्दिरमा आयोजित कार्यक्रममा शिक्षाविद् तथा समाजसेवी हितकरवीर कंशाकार, साहित्यकार सुवर्ण केशरी चित्रकार, समीक्षक तथा समालोचक डा. पुष्प राज राजकर्णिकार, पूर्ण ताम्राकार र गजलकार भूषण प्रसाद श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । साहित्य लेखनलाई निरन्तरता दिनुभएकोमा प्रमुख अतिथि कंशाकारले खुसी व्यक्त गर्नुभयो । प्रमुख अतिथि कंशाकारले राणा कालमा अन्तर क्याम्पस नेपालभाषा साहित्य सम्मेलन, हाजिरी जवाफ प्रतियोगितासँगै क्याम्पस क्याम्पसमा नेपालभाषा वार्षिक पत्रिका प्रकाशन हुने भए पनि लोकतन्त्रपछि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं, कात्तिक १९ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नम्बर ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार-प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचार-प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’, व्यवस्था छ ।“तपाईँले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट)को प्रतिकूल हुने गरी निर्वाचन प्रचार-प्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईँले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने कार्य गर्नुभएको हो ?”, आयोगको स्पष्टीकरणमा भनिएको छ ।आयोगले निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकाले आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई भनेको छ ।
नेकपा (एकीकृत समाजवादी)की सचिव तथा गुल्मी–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मीको पोटफोलियो बदल्ने बताउनुभएको छ। उहाँले चुनाव जितेपछि गुल्मीका अवसर, चुनौतीको पहिचान गरेर इमानका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
नेपालले बङ्गलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई १-० गोलले हरायो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताउनुभएको छ।
नेकपा (एमाले) काठमाडौं क्षेत्र ९ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले आफ्नो क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गर्नुभएको छ । शनिबार ६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उहाँहरूले सो घोषणा गर्नुभएको हो ।
पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोलीएपीएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा आजभोलि धार्मिक शक्तिपिठको पूजाआजा गरिने जाँत मेलाको रौनक छ । धार्मिक परम्परासँगै मौलिक संस्कृतिका साथ जाँत हुने भएकाले यहाँका गाउँघरमा रौनक छाएको हो ।
निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहे आयोग चुप लागेर नबस्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रामचन्द्र पौडेलले संविधान बचाउन र अग्रमनको लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गर्नुभएको छ।
निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहलाई स्पष्टीकरण सोधेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि पनि सङ्घ र सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बुताउनुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको समयमा मङ्सिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नेपाल–भारत बीचको सीमा नाका बन्द गरिने भएको छ ।