• १६ भदौ २०८१, आइतबार

विकासका लागि गठबन्धन जरुरी छ : नेता पौडेल

blog

बन्दीपुर गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक १९ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रामचन्द्र पौडेलले संविधान बचाउन र अग्रमनको लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गर्नुभएको छ।

बन्दीपुर गाउँपालिका–१ मा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो आग्रह गर्नुभएको हो।  महिला जनजाति, दलितको अधिकार रक्षा गर्न, अहिलेको नेपालमा आएको परिवर्तन जोगाउँदै अग्रगमनतिर जानका लागि गठबन्धन बनेको नेता पौडेलको भनाइ छ। 

‘‘गठबन्धनले राजनीतिक अधिकार सुरक्षित गर्छ, बचाउँछ अर्को नागरिक भएर बाच्न अधिकार अवसर दिन्छ’’, नेता पौडेलले भन्नुभयो। तनहुँमा नमुना सहर बनाउनेको लागि बन्दीपुर गाउँपालिका र भानु नगरपालिकालाई समेटेर डुम्रे भन्सार सहरी विकास योजना आफूले ल्याएको नेता पौडेलले बताउनुभयो । 

दश वटा राम्रा राम्रा ठूला सहर बनाउने योजनामध्ये परेको र त्यसको लागि आवश्यक बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो। ‘‘सुन्दर देशकै नमुना सहर बनाउँछौँ, त्यसको लागि राजनीति सुधार गरौँ, राजनीतिक जोगाऔँ’’, नेता पौडेलले भन्नुभयो।  

ठूलो समस्या भनेको गाउँमा आम्दानी र रोजगारीको अभावमा विदेशमा गएर जोखिमपूर्ण काम गर्नु भएकोले अब त्यसको अन्त्यको लागि उम्मेदवार बनेको नेता पौडेलको भनाइ थियो। पर्यटनको विस्तार, कृषि क्रान्ति, सिँचाई खानेपानी, पशुपालनबाट राज्यले किसानलाई दिने सुविधा दिने जस्ता कार्यमा ध्यान दिने नेता पौडेलले बताउनुभयो। 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले फरक आस्था भए पनि माओवादी केन्द्रसँगको तालमेल स्वाभाविक भएको बताउनुभयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा तनहुँ-१ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार हरिबहादुर चुमानले जनताको ठूलो बलिदानी र सङ्घर्ष प्राप्त गरेको संविधानको रक्षाको लागि गठबन्धन गरिएको बताउनुभयो।