गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १९ गते । नेकपा (एमाले) काठमाडौं क्षेत्र ९ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले आफ्नो क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गर्नुभएको छ । शनिबार ६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उहाँहरूले सो घोषणा गर्नुभएको हो ।
एमालेको तर्फबाट प्रतिनिधिसभामा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश ९ (१) का हरिकृष्ण डङ्गोल र प्रदेश ९ (२) मा केशवप्रसाद पोखरेलले उम्मेदवारी दिनुभएको छ । पोखरेल बागमती प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य हुनुहुन्छ । उम्मेदवारले काठमाडौं महानगरपालिका –१४ कुशेश्वरमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता गर्नुभयो ।
प्रतिबद्धतापत्रमा कलङ्की–नागढुंगा सडक खण्डको विस्तारित लेनलाई सहज गर्न बल्खु खोलामा थप पक्की पुल बनाइने बताउनुभयो । कलङ्की–नागढुंगा, कलङ्की–भीमढुंगा–धादिङ, फस्कूचोक–नर्सरी भन्ज्याङ–स्युचाटार नर्सरी, नर्सरी भन्ज्याङ–स्वीजरल्याण्ड पार्क, तीनथाना–मच्छेगाउँ सडकलगायतका रणनीतिक सडकहरूको विस्तार तथा स्तरोन्नति गरिने चर्चा गर्नुभएको छ ।
आर्थिक सामाजिक अन्तर्गत दहचोक कालु पाण्डे समाधि–कंकाली–नर्सरी–थाप्ले हुँदै सेतो गुम्बासम्मको मझौला पदयात्रा मार्ग र सो मार्गमा आवश्यक पर्यटकीय पूर्वाधार सञ्चालनका लागि युवालाई उत्प्रेरित गर्ने नीति लिइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
छिमेकी धादिङ जिल्लाका ग्रामीण क्षेत्रका उत्पादन मुख्य सहरी क्षेत्रमा उपभोगका लागि गाउँ–सहर सम्बन्ध केन्द्रको व्यवस्था गरिने, सघन करेसाबारी खेती, कौसी खेती, हाइड्रोपोनिक, घरभित्रै गरिनजस्ता सहरी खेतीका विभिन्न प्रकारलाई भान्साबाट उत्सर्जित हुन फोहरसँग एकीकृत गरी प्रभावकारी ढङ्गबाट सञ्चालन गरिने नीति अघि बढाइने उहाँहरूको सामूहिक प्रतिबद्धता छ ।
पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले घोषित प्रतिबद्धताअनुसार काम गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । प्रदेश सांसदद्वय महर्जन र पोखरेलले आफ्नो क्षेत्रको विकासमा जनता सँगसँगै अघि बढ्ने बताउनुभयो ।
चन्द्रागिरि र नागार्जुन नगरपालिकाको समदरीमा पर्नेगरी नागरिक अस्पतालको निर्माण गर्न पहल गर्ने, कक्षा १२ सम्म सञ्चालनमा रहेका यस क्षेत्रका सामुदायिक विद्यालयको स्तरोन्नति गर्दै स्नातक र स्नातकोत्तर तहसम्मको अध्यापन केन्द्रको रूपमा क्रमशः विकास गर्ने, एक निर्वाचन क्षेत्रमा दुई खेलकुद स्थल निर्माणाधीन नैकाप फुटबल मैदानको स्तरोन्नति तथा हसन्टार फुटबल क्रिकेट मैदान निर्माण कार्यलाई अगाडि बढाइने उहाँहरूको प्रतिबद्धता छ ।
डा. अजयक्रान्ति शाक्य, कामपाका पूर्व मेयर विद्यासुन्दर शाक्य, निर्वाचन परिचालन कमिटीका अध्यक्ष अवन्ति सिग्देलसहितको उपस्थितिमा भएको कार्यक्रममा मङ्सिर ४ गते एमालेको सूर्य चिन्हमा मतदान गर्न अपिल गरेको थियो ।