• १ जेठ २०८२, बिहिबार

लोकतन्त्रको नाममा लुटतन्त्र : अध्यक्ष लिङदेन

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन । फाइल तस्बिर

गोरखा, कात्तिक १९ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताउनुभएको छ। 

शनिबार गोरखामा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वाइडबडी, ललिता निवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताउनुभयो। 

अध्यक्ष लिङदेनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरे पनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलमा रहेको बताउनु भयो। उहाँले राजनीतिक दलको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता सङ्कटमा परेको उल्लेख गर्नुभयो। उहाँले ठूला भनिएका राजनीतिक दलले जनताको लागि नभई विदेशीका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको बताउनुभयो। 

अध्यक्ष लिङ्देनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्ने कुरा विदेशीले भन्ने गरेको उल्लेख गर्नुभयो। उहाँले नेपालको राजनीतिमा विदेशीको आशीर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गर्नुभयो। उहाँले नेपाली नेतामा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताउनु भयो। 

अध्यक्ष लिङदेनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आम जनताको आकंक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गर्नुभयो। पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा लक्षित चुनावी प्रचारप्रसार तीव्र बन्दै गएको छ। विभिन्न दलका शीर्ष नेताले विभिन्न स्थानमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन्। राप्रपाले पनि गोरखा, नवलपरासी, चितवन लगायत देशभरका विभिन्न स्थानमा चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ।