• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिममा बडाल जाँतको रौनक

blog

बडला जाँतमा तरबार नचाइ चौलौ खेल्दै स्थानीय । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, कात्तिक १९ गते । सुदूरपश्चिमका पहाडी जिल्लामा आजभोलि धार्मिक शक्तिपिठको पूजाआजा गरिने जाँत मेलाको रौनक छ । धार्मिक परम्परासँगै मौलिक संस्कृतिका साथ जाँत हुने भएकाले यहाँका गाउँघरमा रौनक छाएको हो । 

जाँतमा देवी देवताको पूजाआजासँगै धामी नाच, स्थानीय मौलिक बाजागाजा चौलो, देउडा हुनेगरेकाले जाँतमा रौनकता थपिएको स्थानीयको भनाइ छ । गाउँघरमा अहिले दैनिक रूपमा कुनै न कुनै देवी देवताको पूजाआजा गरी जाँत भइरहेको छ । 

कात्तिक शुक्ल एकादशीको राति पूजा गरी जाग्राम बसेर दोस्रो दिन कात्तिक शुक्ल द्वादशीका दिन  बिहानदेखि लाटागन्याप देवताको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । गन्यापधुरा गाउँपालिका –२ बडालमा रहेको लाटागन्याप देवताकाको पूजा गरी बडाल जाँतमा नाङ्गो तरबार नचाएर चौलो खेलिन्छ । 

धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ हुन्छ । प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास छ ।

दाईना, दमाहा, रुईसिंग, भोकर बाजागाजाका साथ स्थानीयहरू हातमा तलवार खेलाई चौलो खेल्दै गाँज नचाइ सकेपछि बडाल जाँत सम्पन्न हुन्छ । तलवार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको लाटागन्याप भूमि देवलक्षेत्र विकास समितिका अध्यक्ष पूर्णबहादुर देउवाले बताउनुभयो । 

सुदूरपश्चिमकै सबैभन्दा बढी दाइन, दमाहा र भोक्कर बजाइने मेलाका रूपमा समेत बडाल जाँत प्रसिद्ध  छ । जाँतमा स्थानीयहरूको उत्पादन अहिले पनि साटासाट हुने गर्छ । स्थानीय कृषकको विभिन्न कृषि उत्पादन, दाल, हलो, जुवा, पारा ठेकी, लगायतका वस्तुको समेत मेलामा किनमेल हुने गर्छ ।