एउटा मात्रै प्रतिनिधि सभा रहेको डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आलेमगर सुरुवातदेखि नै अग्रता लिदै आउनुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले ३ हजार ३०४ को फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ ।
हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाममा संघतर्फ नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ।
ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा सदस्य (ख) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी हुनुभएको छ।
उदयपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। उदयपुर १ मा नेपाली कांग्रेसका डा.नारायण खड्का अगाडि हुनुहुन्छ।
काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाइँको अग्रता कायम रहेको छ । मतगणनाको सुरुदेखि नै अग्रतामा रहनुभएका हुमागाइँ र नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाबीच ७१८ को मतान्तर रहेको छ ।
श्यामशङ्कर पाण्डे लुम्बिनी, मङ्सिर ६ गते । रुपन्देही क्षेत्र नं ३ मा राप्रपा नेता दीपक बोहोरालाई पछि पार्दै कांग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले अग्रता लिनुभएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६ हजार २ सय ३५ मत गणना हुँदा मन्त्री खाणले ६ हजार १ सय १० र बोहोरले ५ हजार ९ सय ५७ मत ल्याउनुभएको छ । खाण अहिले १ सय ५३ मतले अगाडि हुनुहुन्छ । यहाँ ९३ हजार ५ सय ६७ मत खसेको थियो ।
सुनसरी निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभाको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदबार सञ्चार तथा सूचना प्रविधी एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन हजार ४४१ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
ललितपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर जबरा एक हजार दुई सय मतले अगाडि हुनुहुन्छ।
डोटी प्रदेश सभा (क)मा कांग्रेस सभापति र एमाले अध्यक्षबीच कडा प्रतिस्पर्धा भएको छ ।
डडेलधुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच हजार ४४९ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।
स्याङ्जा क्षेत्र नं. २ को मतगणना मङ्गलबार अबेरसम्म सुरु हुन सकेको छैन । चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले) ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै धर्ना बसेको छ ।
इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले एमालेका सुभासचन्द्र नेम्वाङलाई पछि पार्दै अग्रता बढाउनु भएको हो।
समानुपातिक निर्वाचनमा मतगणको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगको साँझा पाँच बजेको तथ्यांक अनुसार एमालेले एक लाख सात हजार १५९ मत प्रप्त गरेको हो।
पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित हुनुभएको छ ।