धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । मतगणनामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बस्न पाउने वा नपाउने विषयमा उत्पन्न विवाद टुङ्गो लागेपछि मतगणना सुरु भएको हो ।
इलामको दुबै निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुभासचन्द्र नेम्वाङ र महेश बस्नेतले अग्रता लिनुभएको छ । नेकपा (एस) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले शुरुदेखि पछि पार्नुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ३ को (क) मा नेपाली कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो ।
पाल्पाको प्रतिनिधि सभातर्फको दुई क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ । पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नारायण आचार्यले अग्रता लिनुभएको हो ।
रामेछापमा मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा अहिले प्रदेश १ को मतगणना भइरहेको छ ।
जाजरकोटमा प्रतिनिधि सभा तथा प्रदेशसभाको मतगणना जारी छ । प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिनुभएको छ ।
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार उम्मेदवार वासुदेव घिमिरेले अग्रता लिनुभएको छ । वासुदेव घिमिरेले ६ हजार ३७० मत प्राप्त गर्नुभएको छ ।
झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ ।
आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार मध्याह्न १२ः१५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतगणना जारी छ ।
सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । तीमध्ये क्षेत्र नम्बर तीन र चारमा नेपाली कांग्रेस अगाडि छन् भने क्षेत्र नम्बर १ मा जसपा र क्षेत्र नम्बर २ मा जनमत पार्टी अगाडि रहेको छ ।
कैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा जित नजिक पुग्नु भएको छ ।
म्याग्दीमा मतगणना पुन : सुरु गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि स्थगित भएको मतगणना फेरी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिनुभयो ।
झापा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाउनु भएको छ ।
पाँचथरको प्रतिनिधि सभातर्फ हालसम्म सार्वजनिक भएको मत परिणाममा नेकपा एमालेका वसन्तकुमार नेम्वाङले पुनः अग्रता लिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ।