कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिकसँगै आगामी भदौ २४ गतेलाई चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।
सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । स्थानीय तह निर्वाचनको मुखैमा तत्कालीन नगर कार्यपालिकाको चैत १६ गतेको बैठकबाट मापदण्ड हेरफेर गरिएको थियो । तालको ६५ मिटर क्षेत्रसम्म भौतिक संरचना बनाउन नपाइने मापदण्ड संशोधन गरेर महानगरले ३० मिटर कायम गरेको थियो । सर्वोच्चले यसअघि नै ६५ मिटर क्षेत्रभित्र बनाइएका भौतिक संरचना हटाउन नेपाल सरकारका नाममा परमादेशसमेत जारी गरिसकेको अवस्थामा फैसला कार्यान्वयनको सट्टा मापदण्ड संशोधन गरिएको थियो ।
बर्सेनि बाढी प्रभावित हुने कैलालीको टीकापुर नगरपालिकाले विपत्बाट बच्न पूर्वतयारी गरेको छ । बर्सेनि बाढी र डुबानबाट प्रभावित हुने टीकापुर नगरपालिकाले यस वर्ष मनसुन आउनुपूर्व नै आर्थिक, भौतिक र व्यवस्थापकीय तयारी गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन । मूल्य बढ्दा माग घट्ने अपेक्षा गरिए पनि पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा १० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ । गत वर्षको तुलनामा सवारीसाधनको प्रयोग र बिक्री वितरण पनि बढ्दा पेट्रोलियमको मूल्य बढे पनि यसको खपत नघटेको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल र डिजेलको खपत वार्षिक १० प्रतिशतका दरले बढेको छ । “मूल्य बढे पनि पेट्रोलियम पदार्थको खपत घटेको देखिँदैन,” उहाँले भन्नुुभयो, यो वर्ष इन्धनको परिणाम र मूल्य दुवै बढेको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव २०७९’को दोस्रो दिन पुरानो घर समूह रौतहटको थारु भाषाको ‘कनन हरलता’, मञ्चन भयो । असार १२ देखि १८ गतेसम्म सञ्चालन हुने उत्सवमा विभिन्न भाषाभाषीको ७ वटा नाटक मञ्चन हुँदैछ ।
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको तामाकोसीमा रहेको सडक पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढेको छ । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिका जोड्ने पुलको जग र पिलरमात्रै बनाएर अलपत्र छाडिएका कारण तामाकोसी नदीको पुरानो पक्की पुलसमेत जोखिममा परेको बताइएको छ ।
काठमाडौंको बालुवाटारस्थित सुनौलो नेपाल र मेरी स्टोप्स् भवनमा बुधबार बिहान आगलागी भएको छ । बिहान ७ः०० बजेदेखि लागेको आगलागी अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत कास्कीले पोखराको मुख्य बजार न्युरोड क्षेत्रमा रहेको अर्बौं मूल्य पर्ने जग्गा सार्वजनिक हुने ठहर गरेको छ । पोखरा महानगरपालिका–४ निवासी कोइराला परिवारले आफ्नो हकदाबी माग गरेको उक्त जग्गा अदालतले सार्वजनिक ठहर्ने फैसला सुनाएको हो ।
सिन्धुलीको तीनपाटन गाँउपालिका–७ पत्यानीमा चट्याङमा परी एक जना वृद्धको ज्यान गएको छ । मङगलबार राति परेको चट्याङमा परि ६० बर्षीय गोपाल तमाङको घट्नास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष युवराज पहाडीले जानकारी दिनुभयो ।
रौतहटको अधिकांश निजी एवं सामुदायिक विद्यालयका विद्यार्थी दुर्व्यसनमा फस्दै गएको पाइएको छ । लागूऔषध तथा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागरण मञ्च (विजाम)ले सार्वजनिक गरेबमोजिम कक्षा ९ देखि कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी दुव्र्यसनी बन्दै गएको पाइएको हो ।
पाठ्यपुस्तक समयमा नपुगेपछि माथिल्लो हुम्लाका विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरु वैकल्पिक बिधिबाट पाठन पाठन गर्न बाध्य भएका छन् । विद्यालय सञ्चालन भएको डेढ महिना पुग्दासम्म पुस्तक आई नपुगेपछि विद्यालयहरुले पढाई सुचारु राख्न वैकल्पिक बिधि अपनाएका हुन् ।
घाँसे मैदानमा खेलिने ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनमा उपाधिका प्रमुख दावेदार नोभाक जोकोभिच पहिलो चरणमा लयमा देखिनुभएको छैन । लगातार चौथो पटक र कुल सातौँ पटक विम्बल्डन उपाधि जित्ने अभियानमा रहेका जोकोभिचले मङ्गलबार दक्षिण कोरियाका क्वोन सुन वुलाई ६–३, ३–६, ६–३, ६–४ ले हराएर दोस्रो चरणमा स्थान बनाउनुभएको छ ।
हिजो रातिबाट भएको वर्षाका कारण धनगढीका केही भूभागमा डुबान भएको छ । उपयुक्त निकास नहुँदा वर्षाको पानी जमेर डुवान भएको हो । धनगढीको हसनपुर क्षेत्र, ग्यालेक्सी माध्यमिक विद्यालय क्षेत्र, मुख्य सडक लगायतको क्षेत्रमा डुवान भएको छ ।
गए रातिदेखि परेको अबिरल वर्षाले सडकमा पहिरो खसेपछि पाल्पाका मुख्य राजमार्ग र सहायक राजमार्गमा यातायात अवरुद्ध भएका छन् । वर्षासँगै सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा पहिरो खसेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउनका लागि कार्बाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई सचेत गराएको छ । विभागका अनुसार अहिले आँपको सिजन भएको र काँचो आँप पकाउन यस प्रकारको ग्यास प्रयोग हुने भएकाले त्यसो नगर्न आग्रह गरेको हो ।