• ८ जेठ २०८१, मङ्गलबार

अनुवाद कथा

झ्याल र महिला

blog

झ्याल त कुनै समस्या थिएन तर त्यहाँबाट देखिने ती महिला भने समस्या नै थिइन् । 

उनी बसस्टपमा धेरै बाँदर, केही काग र एक जोडी कुकुर लिएर बसिरहेकी थिइन् । बसस्टप मेरो कोठाको ठीक अघिल्तिर थियो र म र मेरो सानो लेखन टेबलको सामुन्ने । म त्यसमा केही लेख्छु भन्ने होइन तर त्यसले मेरो अस्तित्वमा एक प्रकारको जिम्मेवारीको भावना भरिदिएको थियो । कोठा सस्तो थियो; यसमा समान रूपमा सस्तै भेन्टिलेसन थियो । मेरो ओछ्यान, सानो कपाट र गितार अटाउने प्रशस्त ठाउँ थियो । म गीतारमा तीनवटा कर्ड बजाउन सक्थेँ– जी, डी र ए । लकडाउन समाप्त होस् अनि थप सिकौँला भन्ने योजनामा थिएँ । मेरो कोठाबाट सडेको चियाको धुलो र बिरालोको फोहोरको जस्तो गन्ध आइरहेको थियो । मलाई थाहा थिएन किन । म बसेको कोठानजिक कतै चियाको धुलो वा बिरालो थिएन । अन्यथा सामान्य देखिने कोठाका बारेमा यो एक अनौठो कुरा थियो । कोठामा कुनै छत थिएन; त्यसैले काठको राफ्टरको बीचैमा बसोबास गर्ने खरानी मुसाको तल्लो पेट हेर्न पाउँदा मलाई रमाइलो लाग्थ्यो । 

सानो लेख्ने टेबल र झ्याल मेरा लागि साँझ आराम गर्ने ठाउँजस्तै थिए । एक दिनको कुरा हो । आकाशलाई पहेँलो बैजनी बादलले ढाकेको थियो । बादलका टाटा धेरै ठाउँमा देखिन्थे । म भर्खरै टेबलमा बसेर रातको खानामा के बनाउने होला भनेर सोचिरहेको थिएँ । कोट्टु र पराठाबीच आफैँ बहस गरिरहेको बेला एउटा भ्यान आएर बसस्टपमा रोकियो । बसस्टपको पातलो फलामको फलैँचामा एउटी महिला बसिरहेकी थिइन् । फलामका तीनवटा ग्याल्भानाइज्ड पाइपमा बस्दा पक्कै पनि असहज हुन्छ तर कुनै पनि असहजता नभएजस्तो गरेर उनी त्यहाँ बसिरहेकी थिइन् । एक अर्थमा उनी बोक्सीजस्तै देखिएकी थिइन् । 

भ्यानको अचानक आगमनले उनी छेलिइन् । राम्ररी लुगा लगाएकी ती महिला, खासै नराम्री देखिएकी भने थिइनन् । थोरै बिग्रिएको गोरो छाला थियो उनको । उमेर हेर्दा करिब तीन वर्षकी हुनुपर्छ । उनले आफ्नो खुट्टाको टुप्पोमा हेरिन् । मैले मेरा स्नायु शान्त पार्न चुरोटबाट गहिरो धुवाँ लिएँ । गर्जनका साथ पानी पर्न थालेपछि मैले झ्याल बन्द गरेँ । त्यो आँधीबेहरीको रात थियो । केही अनौठा कारणहरूले म राम्ररी सुत्न सकिनँ ।

भोलिपल्ट बिहान बसस्टपमा ती आइमाई भेटिएलिन् भन्ने मैले आसै गरेकी थिइनँ तर उनी भेटिइन् । भोलिपल्ट बिहान मात्र होइन, त्यसपछि आउने हरेक बिहान पनि उनी देखिइन् । उनी त्यहाँ यसरी बसेकी थिइन् मानौँ त्यो पृथ्वीको एक मात्र ठाउँ हो जसले उनलाई सुरक्षित राख्न सक्छ । यो सत्य थियो वा यो मेरो कल्पना मात्र थियो, मैलाई थाहा भएन ।

म कोठैमा बस्नुप¥यो । लकडाउनको कारणले महामारी बढ्दै गयो । त्यहाँबाट सार्नका लागि कुनै ठाउँ थिएन । म हरेक दिन दिनभरि कोठाको वरिपरि घुम्थेँ । मलाई थाहा थियो साङ्ला र छेपाराहरू मसँगै बस्छन् । भित्ता र भुइँमा कति प्वालहरू छन् भनी मलाई थाहा थियो । हिँडडुल नगर्दा वा सुत्ने बेला लेख्ने टेबलछेउ बस्थेँ । 

यस्तोमा एक समस्या हुन पुगिन् ती महिला ।

बाँदरहरू एक एक गरेर आए । मलाई थाहा छैन कसलाई कसको डर थियो । लाग्थ्यो, बाँदरहरूको पनि जिज्ञासा ती महिलाप्रति बढिरहेको छ । बसस्टपको छेउमा रहेको रुखबाट खसेका आँप बाँदरसँग बाँड्थिन् ती महिला । मानिसहरू भन्थे उनी पागल छिन् । 

“त्यस्तो राम्रो देखिने केटी पागल हो,” त्यस भाडाको कोठाकी कोठाकी मालिक्नी, एउटी वृद्ध महिला फुसफुसाइन् । कागहरू पछि आए तर तिनीहरूले बाँदरको तुलनामा केटीको बाटो सहजै छोडिदिए । कुकुरहरूलाई यो सबैभन्दा गाह्रो लाग्यो; सायद उनलाई कुकुरको हेरचाह गर्ने उचित तरिका थाहा थिएन । त्यसैले कुकुरहरूले सधैँ आफ्नो दूरी कायम राखे । 

अब यो कोठा शान्त ठाउँ रहेन । महिलाले त्यसलाई अझ सानो बनाइन् । मेरो झ्यालको छेउमा बसेकी पागल महिलालाई हेरेर बस्नुबाहेक अरू केही गर्न नपरेजस्तो म त्यहाँ बसिरहन थालेँ । इमानदारीपूर्वक भन्नुपर्दा, मसँग योभन्दा महत्वपूर्ण अर्को केही थिएन । 

मानिसहरू बाँदर, काग र कुकुरको पछि लागे । तिनीहरू प्रायः आवारा थिए जो स्वास्थ्य नियमहरूको उल्लङ्घन गरिरहेका थिए । 

घाम अस्ताउँदा सडक सुनसान भयो तर बसस्टपमा भने कोलाहल मच्चियो । ती महिला राति झनै रिसाएकी थिइन् । आकाशमा चन्द्रमा लागेकै थियो । चन्द्रमाले पो उनलाई पागल बनाएको पो हो कि भन्ने सोचे मानिसहरूले । उनी चिच्याइन्, लडिन् र आँपको रूखको पछाडि लुकेर बसिन् । त्यस रात मैले सिरानीले टाउको छोपेँ र सुत्ने सक्दो प्रयास गरेँ । 

म ब्युँझिएँ ओछ्यानमा बसेँ । सोचेँ– के महिला अझै पनि त्यहीँ छिन् ? 

कहिलेकाहीँ बाँदरहरू शान्त हुन्थे, काग हल्लिँदैनथे र कुकुर भुक्दैनथे । त्यस्ता दिनहरूमा उनी त्यो असहज बेन्चमा दिनभरि घुमेर सुत्थिन् । एक दिन मैले उनलाई घण्टौँसम्म हेरेँ तर उनी एक इन्च पनि सरिनन् । उनी पीडामा छिन् भन्ने कुरा त लगभग बुझिन्थ्यो र यसको बारेमा उनी सचेत पनि थिइन् । तर उनले बसस्टप छोडिनन् ।

“जब तिनीहरू आउँछन्, तिमीहरू सबैलाई मार्नेछन् । म मात्र बाँचेको हुनेछु !” उनी एक पटक रोइन् । एक पटक मात्र । यति कुरा म जीवन्त रूपमा सम्झन सक्छु । म छक्क परेँ, उनको स्वर यति बलियो होला भन्ने आशा थिएन । मैले उनको कुरा सुनेको यो नै पहिलो र अन्तिम पटक थियो ।

कोलाहलपूर्ण बसस्टप पनि छेवैमा रहेको अर्को एउटा कोठाजस्तै थियो । त्यस कोठाबाट अनौठा आवाजहरू आइरहन्थे । दुईवटा कोठालाई एउटा पातलो पर्खालले छुट्याएको थियो । त्यहाँ एक जोडी लोग्ने–स्वास्नी बस्थे । महिला भने आफ्नो पार्टनरसँग यौनसम्पर्क गर्दा धेरै हल्ला गर्थिन् । धेरै जसो कोलाहलपूर्ण रातहरूमा म हस्तमैथुन मात्र गर्न सक्थेँ, छेउको कोठामा कस्ती महिला होलिन् भन्ने कल्पेर । उनी पातली र गोरी हुनुपर्छ । त्यस्तो आत्मविश्वासपूर्ण स्वरमा आवाज निकाल्ने उनी तीस वर्षको हाराहारीकी हुनुपर्छ । 

यौनसम्पर्क नगरेको बेला उनीहरू खुब तर्क गर्थे । एउटा राजनीतिक उदारवादी जस्तो देखिन्थ्यो र अर्को निश्चित रूपमा त्यस्तो थिएन । यसले उनीहरूलाई तर्क गर्न धेरै आधार दिएको थियो । म तिनीहरूको बहस सुन्थेँ । त्यो प्रायः यौनकै विषयमा केन्द्रित रहन्थ्यो । हुनसक्छ महिला गोरी थिइनन् । कपाल धमिलो, लामो र रेशमी र शरीर भद्दा हुनुपर्छ । 

अरू पुरुषहरू पनि आउन थाले । ती महिलाको आवाज झन् झन् बढ्दै गयो । सायद चन्द्रमा उनको पागलपनको कारण थिएन । बाँदर, काग र कुकुरहरू उनको पागलपनको बेवास्ता गरिरहेका थिए । मैले पनि यसमा उल्लेख्य केही पनि सकिनँ । मेरो झ्यालको छेउतिर डुलिरहेको दुई जना केटाहरू खुसीसाथ कुराकानी गरिरहेका थिए । मैले निदाइरहेको नाटक गरेँ ।

“ओई, त्यसका स्तनलाई हेर् न । कति ठूला छन् । तर कठै, ऊ पागल हो,” एउटाले भन्यो ।

“कहिलेकाहीँ त आफ्नो स्कर्ट उठाएर आफ्नो चिज देखाउँछे ! तर त्यो हेर्न हामी कति भाग्यमानी छौँ, त्यसका लागि केही समय पर्खनुपर्छ,” अर्को हाँस्यो ।

म घृणित महसुस गर्न थालेँ । म ती केटाहरूमाथि चिच्याउन चाहन्थेँ र तिनीहरूलाई भगाउन चाहन्थेँ । तर मलाई त्यसो गर्न गाह्रो भयो । के उनका स्तन लचिलो थिए ? के उनले आफ्नो स्कर्टलाई सबैले हेर्नका लागि माथि उठाउलिन् ? के उनी पागल छिन् ? पक्कै पनि उनी पागल छिन् । केटाहरू टाढा गएपछि म झ्याल खोलेर लेख्ने टेबलमा बसेँ, आफँैलाई छुँदै ।

भोलिपल्ट बिहान ती महिला त्यहाँबाट गइसकेकी थिइन् । बाँदरहरू सामान्यभन्दा बढी बकबक गरिरहेका थिए । कुकुरहरू आँपको रुखमुनि सुतेका थिए । कागहरूले पनि निकै कम वास्ता गरेजस्तो लाग्थ्यो । बसस्टप सामान्यभन्दा खाली थियो । “बस र जनताले प्रयोग नगर्ने हो भने बसस्टपको के फाइदा ?” भनेर कसैले, महिलालाई जोडेर, तर्क गर्न सक्छ तर अब पागल महिला पनि त्यहाँ थिइनन् । म ती महिलालाई सहयोग गर्न त चाहन्थेँ तर मसँग पैसाको कमी थियो । लामो कफ्र्यु र तलबमा भएको ठूलो कटौतीपछि, जो कोही पागल हुन सक्थ्यो, केवल एक महिला मात्र होइन ।

मैले ती पागल महिलाको अस्तित्व बिर्सिसकेको थिएँ । एक दिन झल्याँस्स सपनामा देखेँ । उनी मतर्फ लम्किइन् । उनको हरियो गाउन सुस्त गतिमा हल्लिरहेको थियो । अहिले भने उनको कपाल फुकेको थिएन । कपालको माथिल्लो भाग राम्रोसँग खोपो पारिएको थियो र त्यसमा एउटा फूल सिउरिइएको थियो । चन्द्रमाको उज्यालोमा, बलिया गिजा भएको उनको अनुहार हीराजस्तै देखिन्थ्यो । उनी पागल हुन् भन्ने सोच्दा पनि अनौठो लाग्यो । उनको शरीर न्यानोपनले ओतप्रोत थियो । जब मैले उनलाई छुने प्रयास गरेँ उनी मेरो छेउमा बसिन् र मेरो टाउको सुमसुम्याउन थालिन् । म उनलाई महसुस गर्न चाहन्थेँ । उनी अनौठी देखिएकी थिइन् । 

उनले आफ्नो गाउन फुकालिन्, उनको शरीर अलाबास्टरजस्तो देखिन्थ्यो र उनका स्तनहरू विलासी रूपमा भरिएका थिए । जब मैले उनलाई नियालेर हेरँे, मैले सासै फेर्न सकिनँ । उनको शरीरमा योनी थिएन । मैले हतार–हतार उसको अनुहारमा हेरँे । उसका आँखा अनौठो रूपमा चम्किरहेका थिए । योनी नभएकी महिलालाई के गर्ने भन्ने कुरामा म त्यति प्रस्ट थिइनँ । म भने कामेच्छाले धड्किरहेको थिएँ । 

म अलि अघि सरेर उनलाई मेरो छेउमा रहेको खाली ठाउँ देखाएँ । “आउनुहोस्,” मैले भनँे, “हामी अँगालो हालेर सुतौँ ।” म धेरै हतास भएको हुनुपर्छ, ती पागल महिला चर्को स्वरले हाँसिन् र सडेको आँप खाँदै झ्यालबाट बाहिरिइन् ।

दिनहरू बित्दै गए । कफ्र्यु हटाइयो । छेवैमा बस्ने दम्पती अर्कै ठाउँ सरे । सायद उनीहरू यहाँ भाडा तिर्न नसक्ने भए । मानिसहरू लकडाउनअघिकै सुचारु जीवनमा फर्किरहेका थिए । सडकहरू व्यस्त हुँदै गए । बसहरू गर्जन थाले । केही भएको छैन जस्तो देखिन्थ्यो, कोही पनि मरेका छैनन् र कुनै महामारी छैनजस्तो । 

अझै बिहानी नै थियो तर घण्टीले मलाई ब्युँझाइदियो ।

मैले काल्पनिक ताजा हावालाई कोठा भर्ने अनुमति दिँदै झ्याल खोलेँ । बसस्टप व्यस्त थियो । त्यहाँ मानिसहरू थिए । तिनीहरूकै माझ धेरै बाँदरहरू थिए, कागहरू थिए, कुकुरहरू थिए । मेरो सपनामा जस्तै, बसस्टपमा पनि तिनै महिला थिइन् । म अविश्वासले त्यतैतिर हेर्दै उभिएँ । उनको बढेको पेटले उनलाई पहिले कहिल्यै नभएको जस्तो बूढो, डरलाग्दो र पागल देखायो । 


(अमली मल्लवारच्ची श्रीलङ्काकी प्रसिद्ध कथाकार, चलचित्र निर्माता तथा महिला अधिकारकर्मी हुन् ।)

अनुवाद : महेश पौड्याल