वर्तमान नेपालको सुदूरपश्चिम क्षेत्र तत्कालीन समयमा डोटी राज्यका नामले चिनिन्थ्यो । यस क्षेत्रमा विशेष गरी बहुसङ्ख्यक मानिसले लोक तथा मातृभाषाका रूपमा डोट्याली भाषा बोल्ने गरेको पाइन्छ । हिन्दुको बसोबास भएको यस क्षेत्रमा विशेष गरी डोट्याली संस्कृतिको प्रभुत्व रहेको पाइन्छ । डोट्याली समुदाय भाषा, कला, संस्कृति तथा लोकसाहित्यले एकदमै समृद्ध रहेको पाइन्छ । यस क्षेत्रमा बोलिने डोट्याली भाषामा थुप्रै लोकसाहित्य रहेको पाइन्छ । विभिन्न संस्कारमा प्रस्तुत हुने संस्कार गीत सगुन, फाग, पर्व तथा जात्रमा गाइने पर्व गीत, गाथा गीत, त्यसै गरी कृषिकर्मका अवसरमा प्रस्तुत हुने कृषि गीतलगायत थुप्रै लोकसाहित्य यसमा रहेको पाइन्छ । यिनै लोकसाहित्यमा विविध विधा र प्रस्तुतिमध्ये धान रोप्दा गाइने भैन पनि एक हो । यस क्षेत्रका महिलाले धान रोप्दा सामूहिक रूपमा गाइने कृषिगीतलाई भैन भन्ने गरिन्छ । रोपाइँका अवसरमा प्रस्तुत हुने भैनहरूमा साइ बादुरको भैन, हंसारानीको भैन आदि प्रमुख रहेका छन् ।
असारको महिना खेतमा रोपाइँ चलिरहेको हुन्छ । रोपाइँमा हलबौस्या, रोप्दारीहरू खेतमा काम गर्दै गरेका हुन्छन् । घरमा हंसारानी र उनकी सासूले मिलेर काम गर्ने मानिसका लागि खाना तयार गरेका हुन्छन् । छकालो हुन लाग्दा उनकी सासूले हंसालाई गोरुहरूका लागि बाडी चाल्न लगाएको र खेतमा काम गर्ने मानिसका लागि खाना लग्न ढिलो भएको प्रसङ्गबाट भैनको सुरुवात हुने गर्छ । हंसाको सानै उमेरमा बिहे भएको र उनका श्रीमान्ले बिहे गरेकै वर्ष छाडेर परदेश गएका हुन्छन् । सासूले ‘सेरी खेतमा खाना लगेर जानू’ भनेपछि उनले ‘सेरी खेतको बाटो नदेखेको हुनाले कसरी जाउँ’ भन्दा सासूले रिसाउँदै गाली गरेर ‘तिमीले नगए के तिम्रो बाबु
जान्छ ?’ भनेर नाना प्रकारमा गालीगलौज र विभिन्न किसिमका जवाफ दिएको हुन्छ । हंसा रुँदै खाना लगेर सेरी खेतको बाटो लाग्दछिन् । बाटोमा एउटा जोगी भेटिन्छ । जोगीले हंसाको बाटो छेकेपछि ‘खेतमा काम गर्दै गरेका मान्छे भोकै रहेका हुनाले छिटो पुग्नु छ त्यसकारण मेरो बाटो नरोक’ भन्छिन् । जोगीले हंसालाई हेर्छ र उसले लगाएका लुगा हेरेर ‘तिम्रो लुगाफाटो पुरानो किन हो’ भन्दा ‘घरका सदस्यले यस्तै दिए त्यसैले जसो मिल्यो उसै लाएको’ भन्छिन् । त्यसै गरी जोगीले तिम्रा श्रीमान् कहाँ छन् भनी सोध्छन् । उनले ‘मेरा श्रीमान् पहिले नै परदेश गएका र अहिलेसम्म नफर्किएको’ कुरा राख्छिन् । हंसाका कुरा सुनेपछि तिम्रो जसयराज म स्वयम् हुँ भनी आफ्नो परिचय दिन्छिन् । हंसाले बिहेको दिन देखेका जसयराज र जोगीको अनुहार र डिलडाल फरक देखेपछि पत्याइनन् र भनिन् मेरा जसयराज, मोटाघाटा र गोरा थिए तिमी त्यसो नभएको भन्दछिन् । जसयराजले म परदेशको घामले कालो भएको, घुम्दाघुम्दा दुब्लो भएको भन्ने कुरा राख्छन् । यसरी हंसा र जसयराजको भेट भयो । जसयराजले पनि घरका सदस्यले आफ्नी श्रीमतीलाई दिएको दुःखका बारेमा थाहा पाए ।
हंसारानीको भैन डोट्याली लोकसमुदायमा कृषि तथा तत्कालीन समाजको चित्रण गरिएको भैन हो । यसमा प्रमुख भूमिकामा देखिएकी हंसा जसयराजकी श्रीमती हुन् । यसमा विशेष गरी डोट्याली लोकसमुदायमा रोपाइँका बेलाको हतारोलाई यसरी चित्रण गरिएको पाइन्छ । त्यसै गरी रोपाइँमा गोरहरूलाई बाँडी खुवाउने बाडी र खेतमा काम गर्ने मानिसलाई खाना खेतमै पु-याउने गरेको कुरालाई यसरी देखाइएको पाइन्छ :
छाकाली बरु भैछ हंसा छकाली बरु भैछ
चाल चाल हंसा बाडी चाल हंसा बाडी चाल
बार बिसी हल बौस्या भोक म-या हंसा भोका म-या
बार बिसी रोप्दारी भोक मरिन हंसा भोक मरिन
रथका हल बल्ल भोका म¥या हंसा भोका म¥या
झान झान हंसारानी सेरी खेत हंसा सेरी खेत
त्यसै गरी तत्कालीन समाजमा नारीहरूले नारीबाटै पीडित भइरहेको र विशेष गरी सासूले बुहारीहरूलाई दिएको दुःख तथा पीडा र उसलाई सुनाउने गरेका कटुवचनलाई यसरी प्रस्तुत गरिएको पाइन्छ ः
मुइले नाइ धेक्या जिउ हौ सेरीको बाटो जिउ हौ सेरीको बाटो
अनको को धेकलो हंसा तेरो बुवा हंसा तेरो बुवा
बुवाकी बलाया लिउलो मुइ झौलो जिउ हौ मुइ झौलो
विशेष गरी सासूहरूले बुहारीलाई गाली गर्दा माइती पक्षलाई समेत गाली गर्ने गरेको र माइतीलाई गाली गरेर बुहारीको चित्त दुखाउने गरेको र माइती पक्षलाई गालीबाट जोगाउन नारी तथा बुहारीले आफ्नो क्षमताभन्दा पनि बढी काम गरेर भए पनि उनलाई गाली खुवाउनबाट बचाउने गरेको जन्मभूमि र आमाबुवाप्रतिको मायाप्रेमलाई यसरी प्रस्तुत गरिएको छ ।
झान झान हंसारानी सेरी खेत हंसा सेरी खेत
मुइले नाइ धेक्या जिउ हौ सेरीको बाटो जिउ हौ सेरीको बाटो
अनको को धेकलो हंसा तेरो काका हंसा तेरो बुवा
काकाकी बलाया लिउलो मुइ झौलो जिउ हौ मुइ झौलो
झान झान हंसा रानी सेरी खेत हंसा सेरी खेत
मुइले नाइ धेक्या जिउ हौ सेरीको बाटो जिउ हौ सेरीको बाटो
अनको को धेकलो हंसा तेरो भौल्या हंसा तेरो बुवा
भौलुकी बलाया लिउलो मुइ झौलो जिउ हौ मुइ झौलो
त्यसै गरी तत्कालीन समाजमा रोपाइँका सन्दर्भमा प्रयोग हुने सामग्री तथा लोकपरिकार घुम्ट्या डोको, छाँचको पारो आदि प्रयोग हुने गरेको प्रसङ्गलाई यसरी प्रस्तुत गरेको पाइन्छ ः
घुम्ट्या डोको पिठी हाल्यो छाची पारो हात छाची पारो
अटुली छाडिबरे बटुली लागी हंसा बौली समाइ
त्यसै गरी श्रीमान्ले सानै छँदा घर छाडेर जाने र घरका अन्य सदस्यले राम्ररी खानलाउनसमेत नदिने तथा अन्य विविध यातना दिने गरेको कुरा र पीडा सहेर पनि काममा जोतिइरहने कुरा यस भैनमा प्रस्तुत भएको पाइन्छ । त्यसै गरी घरका अन्य सदस्यले दिएको फाटापुराना लुगा लगाएर बस्न बाध्य नारी समुदायका पीडा यस भैनमा यसरी प्रस्तुत गरेको पाइन्छ ः
बाटाका अघबटामाइ त भिटी हाल्यो जोगी ठाकुरो
छाडछाड जोगी बटुली जोगी बाटुली
बार बिसी हल बौस्या भोक म¥या जोगी भोका म¥या
बार बिसी रोप्दारी भोक मरिन जोगी भोक मरिन
रथका हल बल्ल भोका म¥या जोगी भोका म¥या
छाडछाड जोगी बटुली जोगी बाटुली
आङकी अङिया तेरी गात क्या भिजी हंसा गात क्या भिजी
गातकी घगिया तेरी गात क्या भिजी हंसा गात कया भिजी
सासूससुराले इसोइ दियो जोगी मुइले इसोइ लाया
तमरा जसैराज काँ छन् हंसा काँ छन्
मेरा जसै राज घर आथिन् हंसा घर आथिन्
मेरा जसैराज देश गयान हंसा देश गयान
तमरो जसै राज मुएइ हौलो हंसा मुएइ हौलो
मेरा जसैराज काला नाइ आइथि जोगी काला नाइआथि
देशमा घामले कालो भयो हंसा कालो भयो
मेरा जसैराज मोटा थिया जोगी मोटा थिया
देश डुलनाले दुबलियो हंसा दुबलियो
यसरी हंसारानीको भैन तत्कालीन कृषि तथा रोपाइँका समयमा प्रस्तुत हुने गरेको पाइन्छ । यस भैनमा तत्कालीन लोककृषि, गाउँले जनजीवन र नारी समुदायले भोग्नु परेका पीडाको चित्रण गरेको पाइन्छ ।