सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले संस्कृति, चाडपर्व र रीतिरिवाज संरक्षण गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ।
अध्यागमन विभागले फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगेको छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ ।
अवैध लागूऔषध कोकिन र चरेशको कारोबारमा संलग्न तीन जना विदेशीसहित छ जना पक्राउ परेका छन् ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ ।
उत्तर चीनमा जाडोयाममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् ।
तनहुँमा शहीदको सम्झनामा पार्क तथा छात्रावास निर्माण गरिएको छ । व्यास नगरपालिका –१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको परिसरसँग जोडेर शहीदचन्द्र नेपाली छात्रावास तथा पार्क निर्माण गरिएको हो ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा दुई अर्ब ५० करोड रुपियाँ लगानीमा स्थापना भएको स्वस्तिक रोलिङ्ग मिलले व्यवसायिक उत्पादन सुरु गरेको छ।
भरतपुर महानगरपालिकाले नारायणगढबजार क्षेत्रमा सडक मापदण्ड विपरीत निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार बिहानदेखि पूर्व–पश्चिम राजमार्गको नारायणगढबजार क्षेत्रमा निर्माण भएका भवन भत्काउन सुरु गरिएको हो ।
टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग परिसरमा रहेका एक दर्जन आवास भवनहरु रेखदेखको अभावमा अलपत्र परेका छन् । चीन सरकारको आर्थिक सहयोगमा बनेको देशकै ठूलो लुम्बिनी चिनी उद्योग निजीकरण भएपछि सञ्चालको लापर्वाहीका कारण उद्योगभित्र र उद्योग परिषर बाहिर रहेका करोडौं रुपियाँ लगानीका दर्जनभन्दा बढी आवास भवनहरु रेखदेखको अभावमा अलपत्र छन् ।
नेपाली कांग्रेस मधेश प्रदेश समितिको बैठकले प्रदेश संसदीय दलको नेता छनोट गर्न प्रदेश समितिका उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड र अस्मिता परियारको स्वर रहेको ‘यही कुरा साँचो हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कपिलवस्तुबाट वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेशभित्र रहेका राष्ट्रिय वनको दिगो विकास, संरक्षण तथा वन पैदावारको सदुपयोग गर्न सो कामको शुरुवात गरिएको हो ।
काठमाडौं, पुस ८ गते। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु गलत भएको उहाँको टिप्पणी छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री रेग्मीले महिला हिंसा बढ्दै जानु तर आयोगले काम गर्न नसक्नु दुःखद विषय भएको गुनासो गर्नुभएको हो। उहाँले मन्त्रालयमा बजेट नै नभएकाले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पार्नुभयो। मन्त्री रेग्मीले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसाका लागि आवश्यक बजेटको व्यवस्था हुनेगरी आफूले योजना तय गरेको दाबी गर्नुभयो। ‘‘महिला आयोग आफैँ आन्तरिक द्वन्द्वमा फसेर कति काम गर्नुस् भनेर हामीले छलफल गर्दा पनि त्यहाँबाट काम हुन सकेको छैन। यो विडम्बनाको कुरा हो’’, उहाँले भन्नुभयो, ‘‘आगामी बजेटमा थोरै बास्केट फण्ड हुन्छ। त्यो पीडित महिलालाई दिन सकियोस्। अन्यथा एउटा एकदमै अप्ठ्यारो परेको महिला आउनुभयो भने पकेटबाट दुई पैसा दिनुबाहेक मन्त्रालयसँग एक पैसा पनि छैन। पैसा नै नभएपछि कसरी पीडितलाई राहत दिने ?’’मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गर्ने काम गरेको पनि बताउनुभयो। ८० करोडभन्दा बढी बजेट नभएको मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १ अर्ब ७८ करोड पुर्याइएको उहाँले बताउनुभयो। मन्त्री रेग्मीले ८० प्रतिशत जनसङ्ख्यालाई प्रतिनिधित्व गर्ने आफ्नो मन्त्रालयका लागि अझै पनि बजेटको अभाव रहेको र सोही कारण पीडितको मागलाई सम्बोधन गर्न नसकिएको प्रष्ट पार्नुभयो। मन्त्री रेग्मीले आफूले मन्त्री भएर आएपछि नै महिला मन्त्रालयमा ‘महिला पहिला’ अभियान, महिला सुरक्षा कार्यक्रमजस्ता नयाँ काम सुरु भएको जानकारी गराउनुभएको छ।