• ९ मंसिर २०८१, आइतबार

शहीदको सम्झनामा पार्क र छात्रावास निर्माण

blog

शहीदचन्द्र नेपाली पार्क तथा छात्रावासको उदघाटन कार्यक्रममा मन्त्री विश्वकर्मा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस ८ गते । तनहुँमा शहीदको सम्झनामा पार्क तथा छात्रावास निर्माण गरिएको छ । व्यास नगरपालिका –१ भादगाउँ, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको परिसरसँग जोडेर शहीदचन्द्र नेपाली छात्रावास तथा पार्क निर्माण गरिएको हो । 

२००७ माघ १ गते राणाशाहीको गोलीबाट तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुरमा सैनिक हिरासत मारिएका व्यास नगरपालिका –११ तनहुँसुर निवासी चन्द्रबहादुर सार्की (नेपाली) को सम्मानमा निर्माण गरिएको छ । पार्क तथा छात्रावासको गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले एक कार्यक्रमबीच शुक्रबार उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री विकले शहीदको सम्मानमा पार्क तथा छात्रावास सञ्चालनमा आएको क्षण आफ्नो जीवनमा सबैभन्दा खुसीको क्षण भएको बताउनुभयो । सहिदको योगदानलाई जीवन्त राख्न यस्ता पार्क तथा छात्रावासले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशसभाका सदस्य हरिबहादुर चुमान, निवर्तमान सदस्य सरिता गुरुङ, जिल्ला समन्व्य समितिका प्रमुख शान्तिरमण वाग्लेलगायतले छात्रावासको क्षमता विस्तारका लागि सबै जना एकजुट हुनुपर्ने र भविश्यमा छात्रहरुका लागि पनि आवासको व्यवस्था गर्न पहल गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

यस छात्रावासको परिकल्पनाकार पूर्व राष्ट्रिय सभाका सदस्य ऋषिबाबु परियार हुनुहुन्छ ।  यसलाई मूर्तरुप दिने कार्य कांग्रेस तथा गण्डकी प्रदेशका मन्त्री विकले गरेको छात्रावास सञ्चालक समितिका पूर्व अध्यक्ष केशबहादुर सुनारले जानकारी दिनुभयो । 


छात्रावास निर्माणका लागि २०५८ साउन १० गते मन्त्री बिक संयोजकत्वमा निर्माण समिति गठन गरी सर्वप्रथम राष्ट्रिय सभाका सदस्य परियार एक लाख ५० हजार आर्थिक सहायता प्रदान गरेपछि काम सुरु गरिएको सुनारले जानकारी दिनुभयो । सरकारका विभिन्न निकायबाट १ करोड ११ लाख ७७ हजार प्राप्त भई पहिलो तला पूरा भए पनि माथिल्लो तल्लाका लागि रकम अभाव भएको सुनारले जानकारी दिनुभयो । 

छात्रावास निर्माणका लागि व्यास नगरपालिका १ का वडाध्यक्ष तथा दमौलीस्थित निर्मल माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रमेशचन्द्र हड्खले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज खनालले जग्गा उपलब्ध गराउन मद्दत गर्नुभएको सुनारले स्मरण गर्नुभयो । निर्मल माध्यामिक विद्यालयको नाउँमा रहेको जमिन आदिकवि भानुभक्त क्याम्पसका तत्कालीन प्रमुख तथा हाल व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययनका लागि सहज बनाउन जग्गा माग गरेपछि विद्यालयले भोगाधिकार दिएको सुनारले जानकारी दिनुभयो । 

सुनारका अनुसार कांग्रेस नेता रामचन्द्र पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, संविधान सभा सदस्यद्वय रामचन्द्र पोखरेल, ध्रुव वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, व्यास नगरपालिका प्रथम प्रमुख ताराप्रसाद श्रेष्ठ, समाजसेवी मोतीकुमार श्रेष्ठ, बुद्धिकुमार बतासले महत्वपूर्ण भूमिका खेल्नुभएको उहाँले  बताउनुभयो ।