सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले संस्कृति, चाडपर्व र रीतिरिवाज संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ। प्रमुख जोशीले बाजुरेली सेवा समाजद्वारा धनगढीस्थित खुलामञ्चमा आयोजित भुवा पर्वको शुक्रबार उद्घाटन गर्नुहुँदै संस्कृति, चाडपर्वको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो पहिचान छैन भने हाम्रो धर्म र हामी मानव हुनुको औचित्य छैन। त्यसकारण यसको जगेर्ना गरेर अगाडि बढ्न आवश्यक छ।” उहाँले भुवा पर्व आयोजना गरेर सराहनीय र प्रशंसनीय कार्य गरेको चर्चा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
हिमालपारिको जिल्ला मुस्ताङका स्याउ किसानहरू अहिले बगैँचा व्यवस्थापनमा व्यस्त रहेका छन् । रसिलो स्याउको राजधानीको रूपमा रहेको मार्फा लगायतका क्षेत्रका स्याउ किसानहरू स्याउ जातका फलफूलको बगैँचा व्यवस्थापनमा सक्रिय रहेका छन् ।
कैलालीको वसन्ता कोरिडोर आसपासका गाउँमा दिउँसै बाघ डुल्न थालेपछि स्थानीय त्रसित भएका छन्। एक सातादेखि गाउँतिर बाघ बरालिएको देखिन थालेपछि कैलारी गाउँपालिका–७ र ५ का बासिन्दा त्रसित भएका हुन्। स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही दिनदेखि गाउँ, खेततिर देखिने गरेको छ। बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको वस्तु सम्भवतः ‘रेडियो कलर’ जडान गरिएको हुनुपर्छ।
पहाडी जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको छ। दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि खोटाङ तराईसँग सिधा सडकमा जोडिएको हो। सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत वारिपारि सडक बने पनि नदीमा पुल नहुँदा पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डबाट यात्रा गर्न सास्ती थियो। हिउँदमा अस्थायी रूपमा फोक्सिङटार बेलिब्रिज जडान गरेर सवारीसाधन वारपार हुने गरेको थियो। बर्खाको समयमा भने बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा र दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता थियो।
जिल्लाको प्रमुख सडकका रूपमा रहेको नवलपुर–मलङ्गवा सडक कालोपत्रे भएपछि यहाँका स्थानीयको अवस्था फेरिएको छ। सडक कालोपत्रे भएपछि सडक आसपास घर भएका स्थानीय र यात्रुले धुलोबाट मुक्ति पाएका छन्। पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरदेखि सदरमुकाम मलङ्गवासम्मको यात्रा निकै सहज पनि बनेको छ। लामो प्रतिक्षापछि २५ किलोमिटर सडक भर्खरै कालोपत्रे भएको हो।
यो साता कैद गरिएका मन परेका उत्कृष्ट तस्बिरहरू ।
भरतपुर महानगरपालिकाले निःशुल्क बालिका बीमा कार्यक्रम (बाल उमङ्ग जीवन बीमा) सुरु गरेपछि यहाँ समयमा जन्मदर्ता गर्ने क्रम बढेको छ। महानगरपालिका प्रमुख रेनु दाहालले बीमा कार्यक्रम लागू भएयता ३५ दिन नकटाई जन्मदर्ता गर्ने क्रम बढेको जानकारी दिनुभयो। उहाँले लिङ्ग पहिचान गरी हुने गरेको भ्रूण हत्याजस्ता जघन्य अपराधमा समेत कमी गर्न सकिन्छ भन्ने ध्येयले उक्त कार्यक्रम राखिएको बताउनुभयो।
लोकदोहोरी गीतको रियालिटी सो ‘दोहोरी आइडल’ हुने भएको छ। डीएआर मुभिजले आयोजना गर्ने यस रियालिटी कार्यक्रममा ७७ वटा जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो भएकाले आवेदन दिन सक्नेछन्। नेपालका प्रतिष्ठित ४२ कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहने आयोजकले जनाएको छ। नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी सो गर्न लागिएको कार्यक्रमका संयोजक अमृत खातीले जानकारी दिनुभयो।
गायिका लक्ष्मी आचार्यको नयाँ गीत ‘लाई हेल कालो टिको’ सार्वजनिक भएको छ। सुदूरपश्चिमको कला र संस्कृति समेटिएको यस गीतमा गायिका आचार्यको स्वरमा गायक प्रकाश सपूतले साथ दिनुभएको छ। गीतको भिडियोमा गायिका आचार्य र गायक सपूतको अभिनय रहेको छ भने शब्द तथा सङ्गीत नरेन्द्रराज रेग्मीले दिनुभएको छ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शुक्रबारदेखि छैटौँ सिन्धुली महोत्सव–२०७९ सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त महोत्सवको उद्घाटन गर्नुभयो । ‘कृषि उद्योग र पर्यटनमा अभिवृद्धि गरौँ, समृद्धि र समुन्नत सिन्धुली निर्माणका लागि अघि बढाैँ’ भन्ने नारासहित सुरु भएको यो महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री बडूले ग्रामीण तहदेखि नै औद्योगिक ग्राम स्थापना सरकारको लक्ष्य रहेको बताउनुभयो ।
जग्गा विवादका कारण रोकिएको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुर क्षेत्रको जग्गाको नापजाँच प्रतिवेदन छिट्टै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले ड्रोनबाट गरिएको जग्गा नापजाँचको प्रतिवेदन स्थानीय तहमा पठाउने प्रतिबद्धता जनाउनुभएको भन्दै बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले अब औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने बताउनुभयो ।
सडक सुरक्षा र आपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–५, दमारका किसान शर्मिला सार्कीले उन्नत जातको होलिस्टिन गाई पाल्न आफ्नो गोठ सुधार गरी चिटिक्क पार्नुभएको छ । गत वर्ष कमलामाई नगरपालिका र हेफर इन्टरनेसनलबीच ‘मिल्की परियोजना’ सञ्चालन गर्न भएको सम्झौताअन्तर्गत उहाँले निःशुल्क रूपमा होलिस्टिन जातको एउटा कोरली बाच्छी आइतबार प्राप्त गर्नुहुनेछ । उन्नत जातको गाई पाउने भएपछि उहाँले पाल्दै आउनुभएको भैँसी बेचेर गोठ खाली गरिसक्नुभएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले स्थानीय सरकार प्रमुख भएको महसुस गर्न सक्नुभएको छैन । उहाँ २०५४ सालमा पनि साविकको स्थानीय निकायमा जनप्रतिनिधि हुनुहुन्थ्यो । अहिले स्थानीय सरकार प्रमुख भएर काम गर्दा व्यवहारमा सरकार प्रमुख भएको महसुस नभएको उहाँको ठम्याइ छ । उहाँले भन्नुभयो, “पहिला साधन स्रोत कम थियो । अहिले साधन र स्रोत अलि बढी छ । पहिला काम गर्न ऐन नियमले रोक्दैन थियो । अहिले सबै काममा कानुनी बाधा सिर्जना हुन्छ ।”
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘महिला पहिला’ नामक कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाएको छ । लैङ्गिक हिंसा न्यूनीकरण, महिला नेतृत्व विकासको लक्ष्य रहेको यो कार्यक्रम कार्यान्वयनका लागि ६० स्थानीय तहमा बजेट पठाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जिम्मेवारी सम्हाल्नुभएपछि गरिएका कामबारे शुक्रबार जानकारी दिँदै मन्त्रालयमार्फत पहिलो पटक महिला पहिला भन्ने कार्यक्रम ल्याइएको, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि १० लाख रुपियाँ बजेट छुट्याइएको बताउनुभयो ।