नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।
काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई ठुलो सङ्ख्यामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ । सोमबार भएको जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई तीन दिन दिन बन्द गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ देखि ३ बजेसम्म) हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरिएको हो ।
भक्तपुर अस्पतालमा औषधी प्रतिरोधी क्षयरोग (डिआर टिबी) को उपचार सुरु भएको छ । आइतबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. श्रीराम तिवारी र अस्पतालका निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टबिच औषधी प्रतिरोधी क्षयरोगको उपचार सुरु गर्ने सम्झौता भएसंगै उपचार सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्यान्सरलगायत आठ प्रकारका कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै विपन्न नागरिकलाई प्रदान गरिँदै आएको आठ प्रकारका कडा रोगको उपचार सुविधा प्राप्त गर्न अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने र असोज मसान्तसम्म दर्ता हुनुपर्ने व्यवस्था लागु गर्नुभएको छ । रोग लागेका विपन्न बिरामीले असोज मसान्तसम्म स्वास्थ्य बिमा दर्ता गर्नुपर्ने छ ।
नेपाली राजनीतिक रूपान्तरण, जहानियाँ राणाशासनको अन्त्य, लोकतान्त्रिक व्यवस्थाका सूत्राधार, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको जन्मदिन आज ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकको निःशुल्क उपचार गर्न मातहतका सबै सङ्घीय अस्पताललाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसले ‘जेनजी’ प्रदर्शनका क्रममा युवाले ज्यान गुमाएको र घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस बैठकले देशव्यापी जेनजीसहित सबैलाई संयमित रहन अपिल गर्ने निर्णय पनि गरेको छ । बैठकमा जेनजीको प्रदर्शन हिंसात्मक भएकोप्रति पनि गम्भीर छलफल भएको छ । साथै कांग्रेसले जेनजीका मागप्रति कांग्रेसको गम्भीर दायित्व भएको निष्कर्ष निकाल्दै सुरक्षाकर्मी परिचालन र भिड नियन्त्रण गर्ने क्रममा कमजोरी भएको स्वीकार गरेको छ ।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे छानविन समिति गठन गरी अवस्थाबारे जनतालाई जानकारी गराउने निर्णय भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताले सोमबार आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । घटनाबारे आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति गठन गर्ने बताउनुभएको छ ।
जेनजी प्रदर्शनमा सोमबार सुरक्षार्थ खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी झडपमा घाइते भएका छन् । निषेधित क्षेत्रमा केन्द्रित प्रदर्शनलाई नियन्त्रण लिने र शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरीतर्फ १७८ र सशस्त्र प्रहरी बलतर्फ ३० जनाभन्दा बढी घाइते भएका छन् ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारका लागि आज साँझ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको हो ।
नेपाली कांग्रेसले संस्थागत निर्णयमार्फत सामाजिक सञ्जाल खोल्न सरकारसँग आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्मका लागि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।