प्रवीणकुमार शर्मा
रौतहट, पुस १४ गते । रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ ।
चन्द्रपुर नगरपालिकाका शिक्षा अधिकृत दLपेन्द्रकुमार मण्डलले दिनुभएको जानकारी अनुसार पुस १४ देखि १८ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिइएको हो ।
यसअघि शीतलहर र चिसोका कारण रौतहटको माधव नारायण नगरपालिकाले शुक्रबार सूचना प्रकाशन गरेर पुस १३ देखि १८ गतेसम्म नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा बिदा दिएको थियो ।
त्यस्तै अधिकांश विद्यालयले यसअघि नै बिदा दिएको थियो । गौर नगरपालिका, राजपुर नगरपालिका, राजदेवी नगरपालिका र ई शनाथ नगरपालिकाले पुस ८ देखि ११ गतेसम्म चार दिनका लागि तथा देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका र गढिमाई नगरपालिकाले पुस ९ देखि ११ गतेसम्म तीन दिनका लागि आआफ्नो नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको थियो । चिसो र शीतलहर यथाबत रहेकाले पुस १३ देखि १५ गतेसम्म तीन दिनका लागि पुनः विद्यालयमा बिदा दिइएको वृन्दावन नगरपालिकाका प्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिनुभयो । अवस्था अनुकूल नभए पुनः बिदा थप हुनसक्ने उहाँले बताउनुभयो ।