रमेश विश्वकर्मा
गुल्मी, पुस १४ गते । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मीमा दुई लाखभन्दा बढीले मतदान गर्न पाउने भएका छन् । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता छन् । २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा अहिले मतदाताको सङ्ख्या पाँच हजार २७३ ले बढेको छ । हालसम्म यस जिल्लामा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ ।
यहाँको निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना मतदाता छन् । जसमा महिला ६२ हजार २७२ जना र पुरुष ५९ हजार ९१४ जना मतदाता छन् । यस क्षेत्रमा ८३ मतदान स्थल र १५५ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन क्षेत्र नम्बर– २ मा एक लाख सात हजार ३६३ जना मतदाता छन् ।
जसमा महिला ५२ हजार ९३८ जना, पुरुष ५४ हजार ४२३ जना र अन्य दुई जना मतदाता छन् । यस क्षेत्रमा ६२ मतदान स्थल र १२९ मतदान केन्द्र कायम गरिएको छ । २०७९ को निर्वाचनमा १४२ मतदान स्थल, २७८ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र थिए ।
यसैगरी यस जिल्लामा अस्थायी मतदाता पनि सङ्कलन गरिएको छ । जसमा कर्मचारी दुई हजार ९५ जना, सुरक्षा कर्मचारी ५३९ जना, जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा थुनुवा १११ जना र राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा ३६ जना अस्थायी मतदाता रहनुभएको छ । यस जिल्लामा शिक्षक तथा विद्यालयका कर्मचारी तीन हजार ३८० जना छन् ।
जिल्ला कारागार गुल्मी र राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रमलाई अस्थायी मतदान केन्द्र कायम गर्न सिफारिस गरिएको छ । यस जिल्लामा गत असार १७ देखि मङ्सिर २० गतेसम्म मृत्यु दर्ता भएका कारण मतदाता नामावलीबाट ५६७ जनाको नाम हटाइएको छ । यो सङ्ख्यात्मक विवरण गुल्मीदरबार गाउँपालिका बाहेकको रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
कार्यालयका अनुसार यस गाउँपालिकाले यससम्बन्धी कुनै पनि विवरण नपठाएको पाइएको छ । अद्यावधिक भई त्रुुटि सच्याउने र ठाउँ सारी ४५१ जना, दोहोरो नामावली ४१० जना र रद्द/त्याग अन्य विवरण पाँच जनाको हटाइएको छ ।