शैक्षिक सत्र सुरु भए पनि खोटाङमा पाठ्यपुस्तक अझै आइपुगेका छैनन्। जिल्लामा सञ्चालित ४९३ वटा सामुदायिक विद्यालयमध्ये हालसम्म दिक्तेल बजारमा सञ्चालित सरस्वती माध्यमिक विद्यालयबाहेक अन्य विद्यालयले अहिलेसम्म पाठ्यपुस्तक पाएका छैनन्। अधिकांश सामुदायिक विद्यालयले दिक्तेल बजारमा सञ्चालित स्टेसनरीसँग नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक ढुवानीका लागि सम्झौता गरेका छन्। सरस्वती माविले दिक्तेलमै सञ्चालित ‘खोटाङ हलेसी सप्लायर्स’मार्फत सबै विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक खरिद गरेको जनाएको छ।
नयाँ शैक्षिक सत्र २०८० सुरु भएसँगै सरकारले भर्ना अभियान सञ्चालन गरेको छ। ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने मूल आदर्श वाक्यका साथ सामुदायिक विद्यालयमा सञ्चालन गरिएको भर्ना अभियानसँगै विद्यालयहरूले बालबालिकालाई कक्षाअनुसारको नयाँ पाठ्पुस्तक पनि वितरण गरेका छन्।
निर्माता रामकृष्ण पोखरेलको नयाँ लघु चलचित्र ‘द साइलेन्ट इको’ भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा उत्कृष्ट चलचित्र घोषणा भएको छ । नेपाल, भारत, बङ्गलादेश र फ्रान्सको संयुक्त निर्माणमा तयार भएको चलचित्रले उत्कृष्ट चलचित्रसँगै, उत्कृष्ट छायाङ्कनको पनि अवार्ड पनि हात पारेको छ ।
भक्तपुरको मौलिक कलासंस्कृतिलाई समेटेर तयार पारिएको कला प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको छ । कलाकार पूर्ण ह्योजुले अहिलेको समयमा कलाकारको आर्थिक अवस्थालाई बलियो बनाउन प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले भक्तपुरका परम्परागत तथा समसामयिक कलाकारलाई एकै ठाउँमा उभ्याएर कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । कलाकार सुन्दर सिङ्ख्वालले प्रदर्शनीमा भक्तपुरका झन्डै ८० प्रतिशत कलाकारलाई समेटिएको बताउनुभयो ।
नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणलाई एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न ई–सिम उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाबीच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र नेपाल विद्युत् प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गर्नुभयो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगले तेस्रो वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रदेश प्रमुखको कार्यालय हेटौँडामा बिहीबार आयोजित कार्यक्रममा आयोगका सदस्य रीना रानाले आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।
बैङ्क तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग सम्बन्धित सम्पूर्ण सर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर मात्र सेवा लिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
जनस्तरबाट जुटेको रकम जुरे पहिरोपीडितलाई वितरण गरिने भएको छ। पहिरोपीडितका नाममा जनस्तरबाट दुई करोड २४ लाख ६६ हजार ६५७ रुपियाँ ८५ पैसा सहयोग जुटेकोमा त्यसबेला पहिरोपीडितलाई रकम नबाँडेर सरकारी खातामा जम्मा गरिएको थियो। वैशाख ५ गते सम्पन्न जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जुरे पहिरोपीडितको उद्धार, राहत र पुनस्र्थापनाका नाममा सङ्कलन भएको रकम नगदै वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो। २०७१ साउन १७ गते इटिनी पहाड खसेर जुरे पहिरो गएको थियो। उक्त पहिरोमा परी १४२ जनाको ज्यान गएको र १५३ घरपरिवार विस्थापित भएको विपत् व्यवस्थापन समितिको तथ्याङ्क छ।
जाजरकोटमा एक बालक भेरी नदीमा बेपत्ता भएको छ । नलगाड नगरपालिका १० रग्दाका भूपेन्द्र परियार भेरी नदीमा डुबेर बेपत्ता भएको प्रहरी जनाएको छ ।
नारायणी नदीपारि गैँडाकोटतर्फ पनि तटबन्ध बन्ने भएको छ । चितवनको नारायणगढतर्फ नारायणी नदीमा तटबन्ध निर्माण भएपछि नदीको अर्काेतर्फको गैँडाकोटमा क्षति हुने भन्दै विरोधमा उत्रेका स्थानीयको माग सम्बोधन गर्न नारायणी नदी व्यवस्थापन कार्यालय तयार भएको छ।
काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन हुने तथा जिल्लाबाट बाहिर जाने मालवाहक सवारीसाधनको भारवहन जाँच सुरु भएको छ। क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण राजमार्गको अवस्था जीर्ण भएको र दुर्घटनाको जोखिम बढेपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि मालवाहक सवारीसाधनको भारवहन जाँच सुरु गरिएको हो।
नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन क्षेत्रमा रहेका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।