• १३ साउन २०८१, आइतबार

टेलिकमले प्राधिकरणलाई ई–सिम उपलब्ध गराउने

blog

काठमाडौँ, वैशाख ८ गते । नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणलाई एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न ई–सिम उपलब्ध गराउने सम्बन्धमा दुई संस्थाबीच बिहीबार सम्झौता भएको हो । 

सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र नेपाल विद्युत् प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलसम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत् खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत् चुहावट नियन्त्रणलगायतका कार्य गर्न सहयोग पुग्दछ । 

ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । एक सय एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकका लागि ई–सिम प्रयोग हुने प्राधिकरणले जनाएको छ । नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणलाई यसअघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।