• १३ असोज २०८१, आइतबार

भर्नासँगै हातमा पाठ्यपुस्तक

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख ८ गते । नयाँ शैक्षिक सत्र २०८० सुरु भएसँगै सरकारले भर्ना अभियान सञ्चालन गरेको छ। ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने मूल आदर्श वाक्यका साथ सामुदायिक विद्यालयमा सञ्चालन गरिएको भर्ना अभियानसँगै विद्यालयहरूले बालबालिकालाई कक्षाअनुसारको नयाँ पाठ्पुस्तक पनि वितरण गरेका छन्। 

सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयमा निजी बोर्डिङ स्कुल छोडेर भर्ना हुन आउने बालबालिकाको थामिनसक्नु भीड बढेको छ। सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद पाण्डेका अनुसार करिब तीन हजार पाँच सयको सङ्ख्यामा विद्यार्थी अघिल्ला वर्षदेखि त्यहीँ अध्ययनरत रहेको अवस्थामा भर्ना अभियान सुरु भएको चार दिन नबित्दै १७० जनाले बुधबार प्रवेश परीक्षा दिएका छन्।

 यो शैक्षिक वर्षमा थप पाँच सय जनासम्म मात्र नयाँ भर्ना लिन सक्ने विद्यालयको क्षमता भएको तर ठूलो सङ्ख्यामा बालबालिकाले भर्ना हुन पाउँ भनी फाराम भरेकाले शिक्षक दरबन्दी, कक्षाकोठाको व्यवस्थालगायतको प्रबन्ध गर्न नसकिने बताउँदै उहाँले अभियानलाई बिचैमा रोकेर कक्षा सञ्चालन गर्नुपर्ने स्थिति आएको बताउनुभयो। 

त्रियुगा माविमा गुणस्तरीय पठनपाठन हुने गरेकै कारण विद्यार्थीको चाप थामिनसक्नु छ। नयाँ भर्ना भएका र अघिल्लो वर्षदेखि यहाँ अध्ययनरत रहेका कक्षा १ देखि १० सम्मका सबै बालबालिकालाई वैशाख १० गते एकैसाथ पाठ्यपुस्तक वितरण गरिने विद्यालयका प्रधानाध्यापक सुवास विष्टले जानकारी दिनुभयो। 

अघिल्ला शैक्षिक वर्षभन्दा यो वर्ष विद्यालयहरूले समयमै नयाँ पाठ्यपुस्तक प्राप्त गरेका छन्। जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा पठाएकाले उदयपुरका विद्यालयमा अध्ययनरत करिब २८ हजार बालबालिकाले यो वर्ष कक्षामा भर्ना भएसँगै पाठ्यपुस्तक पाउन सकेका हुन्।

उदयपुर जिल्लामा यो वर्ष कक्षा १ देखि ५ सम्म २९ हजार ८२३, कक्षा ६ देखि ८ सम्म ११ हजार ५७२ बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ उदयपुरका शाखा अधिकृत भवानी कटेलले बताउनुभयो। सरकारले यस वर्ष कक्षा १ देखि ५ सम्मको किताब छाप्न निजी क्षेत्रलाई र ६ देखि १० सम्मको जनक शिक्षा सामग्री केन्द्रलाई जिम्मा दिएको थियो। 

कक्षा ५, ८ र १० को पाठ्यपुस्तक परिवर्तन भए पनि बजारमा पाठ्यपुस्तक अभावको कुनै समस्या नभएको स्थानीय बिक्रेताहरूको भनाइ छ। सदरमुकाम आसपासका विभिन्न ३२ वटा सामुदायिक विद्यालयलाई विगत वर्षहरूदेखि नै पाठ्यपुस्तक बिक्री गर्दैआएको गाईघाटस्थित साझा पुस्तक पसलका व्यवस्थापक चतुरनारायण चौधरीका अनुसार कक्षा ६, ७, ८, ९ र १० का पाठ्यपुस्तकहरू जनक शिक्षा सामग्री केन्द्रले तीन दिनअघि मात्रै दिएकाले आपूmहरूले धमाधम बिक्री गरिरहेको बताउनुभयो। 

कोशी प्रदेशका ओखलढुङ्गा, खोटाङ र उदयपुर तथा मधेश प्रदेशका आठवटा गरी ११ वटा जिल्लालाई पाठ्यपुस्तक वितरण गर्दै आएको जनकपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयले भने वैशाख १० गतेभित्र सबै जिल्लालाई पाठ्यपुस्तक उपलब्ध गराइसकिने जनाएको छ।

सो केन्द्रका प्रादेशिक प्रमुख रुद्र खनालले भन्नुभयो– “अहिलेसम्म सर्लाही, रौतहट र पर्साबाहेकका सबै जिल्ला बारा, धनुषा, महोत्तरी, ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी र सिराहा जिल्लामा किताब पु-याइएको र बाँकी जिल्लाका लागि पनि धमाधम प्याकिङ भइरहेको छ।”