• १३ असोज २०८१, आइतबार

अझै आइपुगेन पाठ्यपुस्तक

blog

खोटाङ समाचारदाता 

खोटाङ, वैशाख ८ गते । शैक्षिक सत्र सुरु भए पनि खोटाङमा पाठ्यपुस्तक अझै आइपुगेका छैनन्। जिल्लामा सञ्चालित ४९३ वटा सामुदायिक विद्यालयमध्ये हालसम्म दिक्तेल बजारमा सञ्चालित सरस्वती माध्यमिक विद्यालयबाहेक अन्य विद्यालयले अहिलेसम्म पाठ्यपुस्तक पाएका छैनन्।   

अधिकांश सामुदायिक विद्यालयले दिक्तेल बजारमा सञ्चालित स्टेसनरीसँग नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक ढुवानीका लागि सम्झौता गरेका छन्। सरस्वती माविले दिक्तेलमै सञ्चालित ‘खोटाङ हलेसी सप्लायर्स’मार्फत सबै विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक खरिद गरेको जनाएको छ। 

दिक्तेल बजारस्थित अम्बागाछीमा सञ्चालित न्यु शाक्य पुस्तक सेन्टरले विभिन्न ४५ वटा सामुदायिक विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएको छ। न्यु शाक्य पुस्तक सेन्टरमा कक्षा–६ देखि माथिका कक्षाको मात्र पाठ्यपुस्तक आएको छ। कक्षा १ देखि कक्षा ५ सम्मका पाठ्यपुस्तकसमेत ढुवानीको प्रक्रियामा रहेको पुस्तक सेन्टरका सञ्चालक रमा शाक्यले जानकारी दिनुभयो। गत वर्षजस्तो समस्या नरहेको र अबको केही दिनमा ढुवानी गरी विद्यालयलाई सबै पाठ्यपुस्तक जिम्मा लगाइने उहाँको भनाइ छ। 

पाठ्यपुस्तकको जिम्मा लिएका अधिकांश पसलले सबै कक्षाका पुस्तक आइनसकेको जनाएका छन्। कतिपय पुस्तक अपुग भएकाले केही दिनपछि मात्र लिन बोलाएकाले ढिलाइ भएको उहाँहरूको भनाइ छ। यद्यपि वैशाख १५ सम्म सबै पाठ्यपुस्तक ल्याइने बताइएको छ। 

कुल १० स्थानीय तह रहेको खोटाङमा ४९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९० वटा माध्यमिक, कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने ६६ वटा विद्यालय र कक्षा १ देखि कक्षा ५ सम्म पढाइ हुने आधारभूत विद्यालय ३३७ छन्।

नेपाल सरकारले कक्षा १२ सम्म सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदै आएको छ। नयाँ शैक्षिक सत्र सुरु भएको पाँच दिन बितिसक्दा पनि जिल्लाका एउटा विद्यालयबाहेक कुनै पनि स्थानीय तहमा सञ्चालित विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइपुगेका छैनन्।