हरेक वर्ष असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भएता पनि म्याङ्लुङ नगरपालिकाले भने अझैसम्म बजेट ल्याउन सकेको छैन। अघिल्लो आर्थिक वर्षको करिब तीन करोड ऋण रहेको र चुक्ता गर्ने विषयमा कार्यपालिका सदस्यसँग मतभेद भएपछि बजेट ल्याउन ढिलाइ भएको म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताउनुभयो।
राजविराज नगरपालिकाले अतिक्रमण गरी बनाएको संरचना शुक्रबार बेलुकीदेखि नगरक्षेत्रमा त्यस्ता संरचना भत्काउन सुरु गरेको छ । नगरपालिकाले सूचना जारी गरेर पनि खाली नगरिएको संरचना एक्स्काभेटर लगाएर भत्काउन सुरु गरिएको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि पहल गरिरहेको पनौती नगरपालिकामा पनौती घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्य तथा पनौतीको महत्वका बारेमा जानकारी दिने उद्देश्यले ‘पर्यटक सूचना केन्द्र’ स्थापना गरिएको छ ।
पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ । हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दाे बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता लगाउन उक्त समिति गठन गरिएको हो ।
चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ। यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो। चलचित्रको निर्माण पक्ष र सेभेन सिज कम्पनीबिच आधिकारिक सम्झौता भइसकेको छ। ‘कार्साङ’ का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतीक) सुवेदी र रमेश ढकालले सम्झौता गर्नुभएको हो। चलचित्रको ओभरसिज राइट्स छायाङ्कन अगावै बिक्री भएको छ।
कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरी मदन–शीला स्रष्टा सम्मानबाट पुरस्कृत हुनुभएको छ। नेपाली साहित्यमा विशिष्ट योगदान पु-याएबापत श्रेष्ठलाई २०७६ सालको र केशरीलाई २०७७ सालको सम्मान प्रदान गरिएको हो। त्यस्तै मदन–शीला साहित्यिक पत्रकारिता सम्मान मोहन दुवाल र रामप्रसाद पन्तलाई दिइएको छ। उहाँहरूलाई क्रमशः २०७६ र २०७७ सालको सम्मानबाट पुरस्कृत गरिएको हो। जनमत मासिकका सम्पादक दुवाल र दायित्व द्वैमासिकका सम्पादक पन्तले नियमित रूपमा पत्रिका प्रकाशन गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु-याएबापत उक्त सम्मान दिइएको हो।
नेपाली लोकसङ्गीतकी प्राध्यापक तथा गायिका शोभा तिवारी लोहनीको ७० औँ जन्मजयन्तीका अवसरमा लोकवाद्यवादन अन्तर्गत मादल वादक तथा लोकसङ्गीतका वरिष्ठ लोकगायक खर्कबहादुर बुढा मगरलाई शोभा अर्जुन सङ्गीत छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको छ । कार्यक्रममा ललितकला क्याम्पसका ललितकला विभागीय प्रमुख डा. धुर्वेशचन्द्र रेग्मीले प्राध्यापक तथा गायिका तिवारीको स्मरण गर्दै प्राध्यापनका क्रममा गरिएका उहाँसँगका सहकार्य तथा उहाँको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । त्यसै गरी ललितकला क्याम्पसका क्याम्पस प्रमुख प्राडा रमेश पोखरेलले कोषले गरेको कार्य सराहनीय भएको र आगामी वर्षमा ललितकला क्याम्पसले पनि सहकार्य गर्ने सोच रहेको बताउनुभयो ।
सिन्धुपाल्चोकमा सञ्चालन भइरहेका क्रसर उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरी बालुवा, गिट्टीलगायतका नदीजन्य पदार्थ सङ्कलन गरेको पाइएको छ। जिल्ला समन्वय समितिले शुक्रबार गरेको अनुगमनमा यस्तो पाइएको हो। सिन्धुपाल्चोकमा केही क्रसर उद्योग बन्द भएका छन् भने केहीलाई बाढीले क्षति गरेपछि सञ्चालन हुन सकेका छैनन्। काभे्र रोडा ढुङ्गा प्रालि, मेलम्ची ए क्रोन क्रसर उद्योग, जालपा इन्फास्ट्रक्चर प्रालि, सोना क्रसर उद्योगलगायतका अधिकांश क्रसर उद्योगले मापदण्ड मिचेर उत्खनन गरेका पदार्थ राख्ने गरेका पाइएको हो।
गोरखापत्र दैनिकमा कार्यरत पत्रकार चाँदनी हमाल र द राइजिङ नेपालका पत्रकार आशिष कुमार मिश्रलाई ‘इयू मानव अधिकार पत्रकारिता पुरस्कार–२०२३’ प्रदान गरिने भएको छ ।
हेटौँडा उपमहानगरपालिका–९ का धनप्रसाद सुवेदीलाई सरकारको एउटा निकायले दिएको जग्गाधनी पुर्जा सरकारकै अर्को निकायले खोस्दै छ। खरिद गरेको जग्गा गुम्ने र लालपुर्जा खोसिने मात्र होइन, सडक विस्तारका नाममा चार दशकभन्दा लामो समयदेखि बस्दै आएको थातथलो छाड्न उहाँलाई बाध्य बनाउन लागिएको हो।
रोजगार अनुमति प्रणाली (इपिएस) शाखा र आन्दोलनरत दक्षिण कोरियाबाट फर्केकाबिच शुक्रबार पाँचबुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका फर्केकासँग एचआरडी सर्भिस अफ कोरिया, इपिएस शाखाबिच सहमति भएको हो । विगत केही महिनादेखि इपिएस प्रणालीबाट दक्षिण कोरिया गएर फर्किएकाले रोस्टरमा भएका श्रमिकलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आन्दोलन गर्दै आएका थिए ।
अग्लो पहाडको फेदीमा छ रुकुमपूर्व भूमे गाउँपालिका–१ को लुकुम गाउँ । बोलिचालीमा मगर खाम भाषा रहेको यस गाउँमा ढुङ्गा र माटाले बनाइएको बाक्ला घर छन् । यसै गाउँमा हरेक वर्षको साउन महिनाको पहिलो सातामा एक दिन झाँक्री मेला लाग्ने गरेको छ । धामी–झाँक्री रूढिवादी र अन्धविश्वासी जीवन पद्धति नै हो । तर यहाँका लागि भने मौलिक संस्कृति पनि हो । गाउँछेउको पूर्वतिर अवस्थित चौतारामा अग्ला धुपीसल्लाका रूख छन्, तिनै धुपीसल्ला भएका ठाउँमा भेला हुन्छन् गाउँभरका झाँक्री । साउनको १ र २ गते छाडेर आउने सोमबार, मङ्गलबार र शनिबारमध्ये एक दिन यो मेला आयोजना गर्ने प्रचलन रहेको स्थानीयवासीले बताएका छन् । त्यसको अलवा झाँक्रीले तिथिमिति अनुसार साइत हेरेर पनि झाँक्री मेला लाग्ने गरेको छ । यस पटक मेलाको साइत बिहीबार परेको थियो ।
सङ्घीय व्यवस्थाले सेवाप्रदायक संस्था गाउँ गाउँमा पु-याए पनि सेवाग्राही भने सहर केन्द्रित भएका छन्। सरकारले साधन, स्रोत र जनशक्ति नागरिकको घरदैलोमा पु-याउने उद्देश्यले सङ्घीय व्यवस्था कार्यान्वयनमा ल्याए पनि सेवा लिने सेवाग्राही भने सहर केन्द्रित हुँदै गएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँमा भन्दा सहरमा बस्ने जनसङ्ख्या करिब तेब्बर छ। कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये नगरपालिकामा एक करोड ९२ लाख ९६ हजार ७८८ र गाउँपालिकामा ९८ लाख ६७ हजार ७९० जनाको बसोवास रहेको छ।
असहाय तथा गरिबको अस्पताल भनेर चिनिने वीर अस्पताल विगतको तुलनामा सुधार हुँदै गएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा पछिल्लो समय धेरै सुधारका प्रयास भइरहेको दाबी गर्नुभयो। अनलाइनबाट टिकट काट्ने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले लामो समय शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो।
कर्मचारीको जस्तै हात्तीको पनि दरबन्दी व्यवस्था गरिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्ला। तर हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा जन्मिई तालिम लिएका चार वटा हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जका विभिन्न पोस्टमा पोस्टिङ गरिएको छ। शनिगजलाई सौराहा हात्तीसारमा, खगेन्द्रगज र गोपालगजलाई निकुञ्जको मुख्यालय कसरामा र सिमसारगजलाई खोरिया मुहान पोस्टमा दरबन्दी कायम गर्दै पोस्टिङ गरिएको हो।