• १३ साउन २०८१, आइतबार

पर्यटक सूचना केन्द्र स्थापना

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, साउन १३ गते । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि पहल गरिरहेको पनौती नगरपालिकामा पनौती घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्य तथा पनौतीको महत्वका बारेमा जानकारी दिने उद्देश्यले ‘पर्यटक सूचना केन्द्र’ स्थापना गरिएको छ । 

पनौती पर्यटन विकास समितिको १५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामाले नयाँ व्यवस्थापनसहित सुरु गरिएको केन्द्रको उद्घाटन गर्नुभएको हो । केन्द्रले पनौतीमा आउने पर्यटकलाई पनौतीमा रहेका पुरातात्त्विक, सांस्कृतिक तथा ऐतिहासिक विषयको जानकारी दिनुका साथै पनौती आसपास रहेका पर्यटकीय गन्तव्य, प्राकृतिक गन्तव्य, होटल, रिसोर्ट तथा घरबास (होम स्टे) का बारेमा जानकारी दिन ‘पनौती हेरिटेज पासपोर्ट’ सुरु गर्ने भएको छ । 

केन्द्रका सदस्य प्रशान्त श्रेष्ठले केन्द्रले पनौतीमा आउने पर्यटकका लागि भदौ १ गतेदेखि पनौती हेरिटेज पासपोर्ट लागु गर्ने तयारी गरेको भन्दै हेरिटेज पासपोर्टमा पनौतीका घुम्ने स्थान, उक्त स्थानसम्म पुग्ने दुरी, समय तथा बस्नका लागि त्यहाँ रहेका होटल तथा घरबास (होम स्टे) को जानकारी रहेको बताउनुभयो । “पनौतीमा आउने पर्यटकले हेरिटेज पासपोर्टको हार्डकपी वा क्यु आरमार्फत पनौतीका बारेमा जानकारी लिन सक्नुहुने छ, हेरिटेज पासपोर्ट लागु गरेपछि एक वर्षमा पनौती आउने पर्यटकको तथ्याङ्कसमेत सङ्कलन गर्न सहज हुने छ,” सदस्य श्रेष्ठले थप्नुभयो । 

केन्द्रले पनौतीमा आउने पर्यटकका लागि घुम्नुपर्ने पनौतीभित्रका सांस्कृतिक सम्पदा (मन्दिर) ३३ वटा मन्दिर तथा त्यहाँसम्म पुग्ने पनौती सांस्कृतिक पदमार्ग नक्सासमेत तयार गरेको छ । केन्द्र उद्घाटन कार्यक्रममा मन्त्री लामाले पनौतीमा आउने पर्यटकको बसाइँ लम्ब्याउन सकेमा स्थानीय नागरिकको आर्थिक अवस्थामा सुधार आउने बताउनुभयो । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले नगरपालिकाले पनौती नगरपालिकाको वडा नम्बर ७ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिरहेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य र पनौती पर्यटन केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती स्मारक क्षेत्रभित्रका घरको रङ एउटै गर्न सकेको खण्डमा पर्यटकलाई थप आकर्षित गर्न सकिने बताउनुभयो ।

केन्द्रले कोभिडभन्दा अघि पनौतीमा वार्षिक आन्तरिक र बाह्य गरेर करिब १२ हजार पर्यटक आउने गरेकोमा होम स्टे तथा होटलको सुविधा थप भएसँगै त्यो सङ्ख्या दोब्बर भएको जनाएको छ ।