काठमाडौँ, साउन १३ गते । कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरी मदन–शीला स्रष्टा सम्मानबाट पुरस्कृत हुनुभएको छ। नेपाली साहित्यमा विशिष्ट योगदान पु-याएबापत श्रेष्ठलाई २०७६ सालको र केशरीलाई २०७७ सालको सम्मान प्रदान गरिएको हो।
त्यस्तै मदन–शीला साहित्यिक पत्रकारिता सम्मान मोहन दुवाल र रामप्रसाद पन्तलाई दिइएको छ। उहाँहरूलाई क्रमशः २०७६ र २०७७ सालको सम्मानबाट पुरस्कृत गरिएको हो। जनमत मासिकका सम्पादक दुवाल र दायित्व द्वैमासिकका सम्पादक पन्तले नियमित रूपमा पत्रिका प्रकाशन गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु-याएबापत उक्त सम्मान दिइएको हो।
कार्यक्रममा मदन–शीला प्रतिष्ठानका अध्यक्ष प्राडा वाशुदेव त्रिपाठीले मदनदेव भट्टराईलाई सम्झिँदै उहाँले ‘रत्नश्री’ पत्रिकामार्फत विभिन्न साहित्यिक कार्यक्रम गर्ने गर्नुभएको स्मरण गर्नुभयो। डा. त्रिपाठीले रत्नश्री पत्रिकाको साथै सम्मानित हुनुभएका व्यक्तिहरूको पनि प्रशंसा गर्नुभयो। कार्यक्रममा मदनदेव भट्टराईकी छोरी बिनुबाबा अर्यालले ‘रत्नश्री’ पत्रिकाको चर्चा गर्नुभयो। उहाँले सिद्धिचरण श्रेष्ठ, धर्मराज थापा, प्रा. शिवगोपाल रिसाल, वडागुरुज्यु प्रा. अम्बिकाप्रसाद अधिकारी, डा. तारानाथ शर्मा, अशेष मल्ल, डा. वनिरा गिरीलगायतले मदनदेव भट्टराईको बारेमा राख्नुभएको दृष्टिकोण पढेर सुनाउनुभयो।
प्रतिष्ठानको संरक्षक शीला भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मदन–शीला प्रतिष्ठानका उपाध्यक्ष महेश प्रसाईले मदन–शीला प्रतिष्ठानको स्थापना र यसले नेपाली साहित्यमा पु-याउँदै आएको योगदानको बारेमा जानकारी गराउनुभयो। उहाँका अनुसार साहित्यकार मदनदेव भट्टराईको सम्झनामा हरेक वर्ष प्रतिष्ठानले साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ।
संस्थाले यसअघि मदनमणि दीक्षित, प्रेमा शाह, गीतकार किरण खरेल, बालकृष्ण पोखरेल र माधव घिमिरेलाई साहित्यिक सम्मान प्रदान गरिसकेको छ। त्यस्तै मदन–शीला साहित्यिक पत्रकारिता सम्मान रोचक घिमिरे, नगेन्द्रराज शर्मा, हाम्रो पुरुषार्थ पत्रिका (तम्घास गुल्मी), भानु पत्रिका, दार्जीलिङबाट प्रकाशित हुने दियालो पत्रिका र उन्नयन त्रैमासिकका प्रधान सम्पादक अच्युतरमण अधिकारीलाई प्रदान गरिसकेको थियो।
विसं २०२० मा ‘रत्नश्री’ पत्रिकाको प्रकाशनमार्फत पत्रकारिता तथा साहित्यमा प्रवेश गर्नुभएका साहित्यकार भट्टराईका ‘मदन– वाटिका’, ‘जीवनस्मृति’, मदनदेव भट्टराईका संस्मरणहरू, ‘काया कल्प’, ‘समयको प्रतिविम्ब’, ‘दृश्य र ‘स्रष्टा’ तथा ‘रत्नपार्क’ आदि कृतिहरू प्रकाशित छन्।