आज पश्चिम तराईका कमैया र मधेशका हरवाचरवा मुक्ति दिवस । आजैका दिन विसं २०५७ साउन २ गते पश्चिम तराईका कमैया र विसं २०७९ साउन २ गते मधेशका हरवाचरवा मुक्तिको घोषणा गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसँगिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरूलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ ।
गण्डकी, साउन २ गते । गतवर्ष गण्डकी प्रदेशका किसानले पाँच हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपेका छन् । जुन आर्थिक वर्ष २०७८/७९ को तुलनामा एक हजार सात सय ३५ हेक्टरले कम हो । रोपाइँको क्षेत्रफलसँगै गत आवमा धान उत्पादन पनि घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा सीमित बन्यो । आर्थिक वर्ष २०७८/७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेको थियो । उक्त वर्ष किसानले सात हजार छ सय पाँच हेक्टरमा चैते धान रोपेका प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । चैते धानको उत्पादन घटेको पाइए पनि गतवर्ष आठ दशमलव ४६ प्रतिशतले उत्पादकत्व वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा गत वर्ष प्रतिहेक्टर चार दशमलव ६७ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन राम्रो दिने भए पनि बर्सेनि रोपाइँको क्षेत्रफल खुम्चिँदै जान थालेपछि प्रदेश सरकार र स्थानीय तहले चैते धान खेतीको प्रवर्धन गर्न थालेका छन् । चैते धानमा किसानलाई आकर्षित गर्न ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।“यस वर्ष नवलपुर, तनहुँ र गोरखामा विशेष बाली प्रवर्धन कार्यक्रमअन्तर्गत चैते धानलाई समेटेका छौँ, अरू जिल्लाका किसानलाई पनि यसतर्फ प्रोत्साहित गर्छौं”, उहाँले भन्नुभयो, “किसानलाई सिँचाइ, बीउबिजन, उपकरण, प्रविधिलगायत आवश्यक सामग्रीमा प्रदेश सरकारले सहयोग गर्छ ।”प्रमुख रेग्मीले बर्सातका बेला भित्र्याउनुपर्ने हुँदा धान सुकाउन किसानलाई (सोलार ड्रायर) को खाँचो रहेको बताउनुभयो । ठूलो मात्रामा उत्पादन गर्ने किसानको धानलाई बजारको सुनिश्चितताका लागि प्रदेश सरकारले सहजीकरण गर्ने उहाँको भनाइ थियो । “मिल सञ्चालक र व्यापारीसँग जोडेर सहज रुपमा धान बिक्री गर्न सकियो भने किसान चैते धानमा आकर्षित हुन्छन्”, प्रमुख रेग्मीले भन्नुभयो ।उब्जाउ जमिन नासिँदै जाँदा चैते मात्र नभएर समग्र धान खेतीको क्षेत्रफल बर्सेनि घटिरहेको निर्देशनालयको तथ्याङ्कले देखाउँछ । वर्षे धानको तुलनामा चेतै धानको क्षेत्र अझ खुम्चिँम्दो छ । पोखरा महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले चैते धानखेती लगाउने किसानलाई महानगरले प्रोत्साहन रकम दिने गरेको बताउनुभयो । उहाँका अनुसार महानगरले वडा नं १४, १५, २६ र २७ मा ‘चैते धान प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरेको छ । यस वर्ष वडा नं २६ मा चैते धानखेती गर्ने दुई सय ९५ र वडा नं २७ का एक सय दुईजना किसानलाई प्रतिरोपनी रू. नौ सयका दरले प्रोत्साहन रकम प्रदान गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । वडा नं १४ र १५ मा दुई सय ५० रोपनीमा चैते धान लगाएका किसानले पनि प्रोत्साहन रकम बुझेको उहाँको भनाइ थियो ।“चैते धान खेती विस्तारका लागि प्रवर्धनको कार्यक्रम सञ्चालन गरिएको हो, गत वर्षदेखि किसानले उन्नत जातका बीउ लगाउन सुरु गरेका छन्, उत्पादन बढेपछि किसान पनि खुसी छन्”, उहाँले भन्नुभयो, “नयाँ सिफारिस भएको जात चैते–५ धेरै राम्रो छ, उत्पादन बढी दिन्छ, फल भुइँमा झर्दैन, दाना पनि पहिलेको भन्दा सानो छ ।”वर्षेको तुलनामा चेतै धान पाक्न १५/२० दिन जति ढिलो हुने हुँदा लगाउने समयलाई अगाडि सार्नुपर्ने देखिएको प्रमुख कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरमा करिब दुई हजार रोपनी क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ । “बाह्रैमास सिँचाइ सुविधा भएका र खोला आसपास क्षेत्रका खेतमा चैते धान लगाउन सकिन्छ, एउटै खेतमा दुई पटकसम्म धान रोप्दा चामलको आयात पनि घट्छ, किसानले धान बेचेर आयआर्जन गर्न सक्छन्”, उहाँले भन्नुभयो । चैते धानसहित अन्य रैथाने बालीको संरक्षणमा महानगरले सहयोग गर्दै आएको प्रमुख कडरियाको भनाइ थियो । उहाँले जथाभावी रुपमा उब्जाउ फाँट घरघडेरीमा परिणत हुँदा धानखेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको बताउनुभयो । कृषियोग्य जग्गामाथिको अतिक्रमण रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा–२६ को वडास्तरीय कृषि सञ्जालका अध्यक्ष केशव ढुङ्गानाले चैते धान खेतीका लागि उन्नत बीउबिजन, सिँचाइ आदिमा किसानलाई सहयोग आवश्यक देखिएको बताउनुभयो । उहाँले किसानले उत्पादन गरेको धानको बिक्रीका लागि प्रदेश सरकार र महानगरले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ उन्नत जातको चैते धानले बढी उत्पादन दिएपछि चैते धानखेतीमा किसान हौसिएको उहाँको भनाइ छ । तीन मुरी वर्षे धान फल्ने खेतमा चैते धान पाँच मुरीसम्म फल्ने गरेको किसान बताउँछन् । गण्डकी प्रदेशमा नवलपुरको मध्यबिन्दु, त्रिवेणी, तनहुँको व्यास, भिमाद, गोरखाको दरौँदी किनारलगायत क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । अन्य जिल्लामा पनि केही मात्रामा खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा दस हेक्टर क्षेत्रफलमा मात्रै चैते धानखेती हुने गरेको बताउनुभयो । पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उहाँको भनाइ थियो ।“चैते धान भित्र्याउने बेला वर्षातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ । पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।”सिँचाइको असुविधा, गुणस्तीय बीउ तथा मलको अभाव, धानको उचित मूल्य नपाउनु, हावापानीमा परिवर्तन जस्ता समस्या किसानले व्यहोर्दै आएका उहाँले बताउनुभयो । चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ५, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ । तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्र्याउँछन् । रासस
जिल्लाको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाले कृषकलाई वितरण नगरी अध्यक्षको ससुरालीमा पठाएको अवस्थामा फेला परेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ ।
जुम्लामा नुन सहजै नपाएको भन्दै डिपोमा तोडफोड भएपछि वडामा नुन पठाउन तयारी गरिएको छ । स्थानीय प्रशासनले नुनको व्यवस्थापन प्रभावकारी बनाउन वडामै पठाउने तयारी गरेको हो ।
जिल्लाको पश्चिमी भेगमा पर्ने मदाने गाउँपालिकाले वडा नम्बर–१ अग्लुङ्गको वडा कार्यालयमा सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर सञ्चालन गरेको हो ।
दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छ भने अन्य सात जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालकसहित चार जनाको शव निकालिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साउन १ गतेबाटै लागू हुनेगरी ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व सङ्कलन सुरु गरेपछि अनलाइनमार्फत सिधै बैङ्कमा रकम जम्मा गर्न थालिएको हो ।
प्युठान नगरपालिका-१ खैराको फाँटमा लगाएको धानबालीमा रोग किरा देखिएको छ । धान लगाएको एक महिनामै धानमा गँड्यौला किरा लागेको लागेको स्थानीय भोज बहादुर बस्नेतले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।
लुम्बिनी प्रदेश सरकारको मातहत रहेको प्रदेशकै पहिलो लुम्बिनी आयुर्वेद चिकित्सालयले १५ शैयाको अस्पताल सञ्चालन गरेको छ ।
ललिता निवास प्रकरण बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि आज (मङ्गलबार) पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।
डी.पी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बूको सङ्गीत छ भने गीतलाई देवेश राईले सङ्गीत संयोजन गर्नुभएको हो ।