• १३ साउन २०८१, आइतबार

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग एक वर्षभित्र सञ्चालनमा ल्याउँछौँ : मन्त्री ज्वाला

blog

नागढुङ्गा सुरुमार्गमा भइरहेको कामबारेमा धादिङको सिस्नेरीमा सोमबार निरीक्षण एवम् जानकारी लिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौं, साउन २ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्र नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न हुने बताउनुभएको छ । मङ्गलबार उच्च अधिकारीसहितको टोलीसहित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन पश्चात् सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।

मन्त्री ज्वालाले सुरुङमार्गको ३५ मिटर मात्रै ब्रेक थ्रो गर्न बाँकी रहेको भन्दै करिब एक वर्षभित्र यातायात सञ्चालन गर्नेगरी निर्माण कार्य अघि बढाएको बताउनुभयो ।  उहाँले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै समयमा नै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देशकै सङ्घीय राजधानी काठमाडौं जोड्नका निम्ति यो धेरै महत्त्वपूर्ण आयोजना भएको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले नेपालमा पहिलो नमुना प्रयोगको रूपमा यातायात सुरुङ मार्गको रूपमा आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

‘‘अब जुन नागढुङ्गा सुरुङ मार्गको मुख्य टनेल छ । त्यसको ३५ मिटर मात्रै ब्रेक थ्रो हुन बाँकी छ । अर्को जुन आपत्कालीन सुरुङ माग छ । करिब साढे चार सय जति बाँकी छ । चार महिनाभित्र मुख्य सुरुङ मार्गको  ब्रेक थ्रो हुन्छ । आपत्कालीन सुरुङ मार्ग छ त्यो थोरै समयमा नै हुन्छ । अब सुरुङ माग करिब एक वर्षभित्र सरकारले यातायात सञ्चालन गर्नेगरी निर्माण सम्पन्न गर्ने गरी लागि रहेका छौँ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘देशकै सङ्घीय राजधानी काठमाडौं जोड्नका निम्ति यो धेरै महत्त्वपूर्ण आयोजना हो । नेपालमा पहिलो नमुना प्रयोगको रूपमा यातायात सुरुङ मार्गको रूपमा आयोजना अघि बढेको छ । आवतजावतको लागि सहजता हुन्छ । यो आयोजनाले नेपालको समृद्धिमा विकास आर्थिक रूपमा ठुलो मद्दत पुर्‍याउँछ ।’’

मन्त्री ज्वालाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा सम्पन्न भएसँगै काठमाडौं आवात जावातका लागि सहजता हुने बताउनुभयो । उहाँले यो आयोजनाले नेपालको समृद्धिमा विकास आर्थिक रूपमा ठुलो मद्दत पु¥याउने जानकारी दिनुभयो । नेपाल जस्तो पहाडी देशको निम्ति जापानको जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको सात अर्ब जति लगानी गरेको उहाँको भनाइ छ ।

मन्त्री ज्वालाले अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठुलो लाभ प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले टनेलको निर्माण कार्य सम्पन्न गरी सुरुङ मार्गमा यातायात सञ्चालन गर्ने विषय धेरै महत्त्वपूर्ण रहेको भन्दै सरकारले निर्धारित समयमा नै निर्माण सम्पन्न गर्ने जानकारी दिनुभयो । उहाँले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण भएका अवरोध हटाउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले  निर्माण कार्य र ढिला गर्ने र  गुणस्तर कम हुने कामलाई सरकारले कुनै छुट नदिने उल्लेख गर्नुभयो ।

‘‘नेपाल जस्तो पहाडी देशको निम्ति जापानको जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको सात अर्ब जति लगानी लगाएको छ । यो बजेटबाट जुन सुरुङ मार्गको काम गरिरहेका छौँ । अहिले देख्दा खर्च बढी जस्तो देखिन्छ । यो आयोजनाबाट भविष्यमा प्राप्त गर्नसक्ने लाभ छ । निकै महत्त्वपूर्ण छ । टनेलको निर्माण कार्य सम्पन्न गरी सुरुङ मार्गमा यातायात सञ्चालन गर्ने विषय धेरै महत्त्वपूर्ण छ । यो आयोजना हाम्रो मन्त्रालयको प्राथमिकतामा छ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘सरकारले निर्धारित समयमा नै निर्माण सम्पन्न गर्नेछौँ । स्थानीय जनता र जनप्रतिनिधिलाई सरकारको अनुरोध के छ भने निर्माणको काममा अवरोध भए सहयोग गर्नुपर्छ । निर्माणको काममा समस्या भए,काम ढिलो भए निर्माण व्यवसायीहरूले काम नगरे सरकारलाई सूचना दिनुहुने छ । निर्माण कार्य र ढिला हुने, गुणस्तर कम हुने कामलाई मन्त्रालयले कुनै छुट दिँदैन । सरकारले त्यस्तो भए कारबाही पनि गर्छौँ । गुणस्तरीय, समयमा नै काम गर्ने निर्माण व्यवसायी, प्राविधिक, कर्मचारीलाई सम्मान गर्छौँ । गुणस्तरीय र समयमा नै सुरुङ मार्गको काम सम्पन्न हुनेछ ।’’

मन्त्री ज्वालाले निरीक्षणका क्रममा थपिएको समय सीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिँदै निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो । २.६८ किलोमिटर  लम्बाई रहेको सुरुङ मार्गको नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् । सुरुङमार्गको निर्माण अवधि सरकारले १४ महिना थप गरेको छ ।

यो पनि पढ्नुहोस