रमेश विश्वकर्मा
गुल्मी, साउन १ गते । गुल्मीको एक स्थानीय तहले सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर सञ्चालन गरेको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने मदाने गाउँपालिकाले वडा नम्बर–१ अग्लुङ्गको वडा कार्यालयमा सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर सञ्चालन गरेको हो ।
नागरिकका कुराहरु सुन्दै र सेवा प्रवाह गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइसँगै घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो । उहाँले यस वडामा आर्थिक वर्ष २०७९-०८० मा गाउँपालिकाबाट भए गरेका विकास निर्माण एवम् विविध कार्यहरु र आगामी दिनमा हुने कार्यहरुको बारेमा जानकारी गाउनुभएको हो ।
भौगोलिक रुपमा जिल्लाको विकट मानिने अग्लुङ्गका नागरिकले गाउँपालिका एवम् वडाको सेवा प्रवाह र विकास निर्माणलगायतका कुराहरुमा निकै चासो दिएका थिए । उनीहरुले खानेपानी, सिँचाइ, सडक, यातायात, विद्यालय, वर्षायामको समयमा पहिरो, भल निकास, कृषि तथा पशु र वडामा भएको विकास निर्माण र समसामयिक विषयमा गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, वडा अध्यक्ष सुशील चन्दसहित जनप्रतिनिधिहरु र प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीसहित पालिकाका कर्मचारीहरुलाई सुनाएका थिए ।
त्यस अवसरमा वडा अध्यक्ष सुशील चन्दले आफू सधैँजुनसुकै परिस्थितिमा पनि नागरिकको साथ रहेको बताउनुभयो । उहाँले नागरिकको भावना अनुसार आफूले काम गरेको दाबी गर्नुभयो । अग्लुङ्गका नागरिकलाई विकाससँग जोड्न र समुन्नत अग्लुङ्ग निर्माणका लागि आफू दिनप्रति दिन खटेको उहाँको भनाइ छ ।
गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले गाउँपालिका र वडामा भएका कामप्रति नागरिकको कत्तिको चित्त बुझेको छ भन्दै आगामी दिनमा कसरी काम गर्न सकिन्छ भनेर नागरिकबाट सल्लाह सुझाव लिन आएको बताउनुभयो । नागरिकको समस्या समाधान गर्दै नागरिकसँगसँगै हुने प्रण गरेको र त्यसै अनुसार आफूहरुले काम गर्न जरुरी रहेको उल्लेख गर्दै नागरिकबाट आएका सबै कुराहरुलाई डिक्स्नेरीको रुपमा लिएको बताउनुभयो ।
त्यस्तै, घुम्ती शिविरमा पशुको औषधि वितरण, तरकारीको बीउ वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, पञ्जीकरण घटना दर्ता, व्यवसाय नवीकरणलगायतका सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ । जसमा छ सय १० जनालाई सेवा प्रवाह गरिएको हो ।