• १३ साउन २०८१, आइतबार

धानमा रोग लागेपछि किसान चिन्तित

blog

प्युठान नगरपालिका-१ मा अवस्थित झिमरुक फाँटमा रोग लागेको धान । तस्विर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, साउन २ गते । प्युठान नगरपालिका-१ खैराको फाँटमा लगाएको धानबालीमा रोग किरा देखिएको छ । धान लगाएको एक महिनामै धानमा गँड्यौला किरा लागेको लागेको स्थानीय भोज बहादुर बस्नेतले जानकारी दिनुभयो ।

जिल्लामा धान खेतीमा बर्सेनि रोग देखिएपछि किसान चिन्तित बनेका छन् । प्युठान नगरपालिका–९ का राधा पोख्रेलले लगाएको ४ रोपनीमध्ये २ रोपनी क्षेत्रफलमा रोग देखिएको छ । “धानमा रोग लागेपछि चिन्तित छौँ,” उहाँले भन्नुभयो, “अझै समाधान भइसकेको छैन ।” गतसाल पनि यस्तै समस्या भएको स्मरण गर्दै उहाँले यो वर्ष पनि रोग देखिएको बताउनुभयो । 

धानको बोटमा रोग देखिएको भन्दै किसानले खबर दिएको ठाउँमा पुगेर समस्या पत्ता लगाउने र उपचारको लागि सुझाव दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानका प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । किसानले खबर गरेलगत्तै खेतमा पुगेर अनुगमन गरिएको गिरीले बताउनुभयो । 

अघिल्लो वर्ष पनि धानबालीमा लागेको रोग पत्ता नलागेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँग समन्वय गरेर स्थलगत रूपमा अध्ययन गरिएको उहाँले जानकारी दिनुभयो। “धेरै खालका समस्या देखिएका छन्,” उहाँले भन्नुभयो, “ठ्याक्कै यही नै समस्या हो भन्ने पत्ता लाग्न सकेको छैन ।” 

खेतमा रातो गँड्यौला, खैरो थोप्ले रोग, फेद कुहिने, गवारो किरा, जिङ्कको कमी लगायतको समस्या देखिने गरेको छ ।