• ९ पुस २०८२, बुधबार

ईश्वरीलाई राष्ट्रपति रनिङ शिल्ड

blog

रमेश विश्वकर्मा 
गुल्मी, पुस ९ गते ।
गुल्मीदरबार गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ईश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’’ भन्ने नारासहित गाउँपालिका स्तरीय विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट हुँदै वडा नम्बर–६ चारपालास्थित ईश्वरी माध्यमिक विद्यालय प्रथम भएको गाउँपालिकाले जनाएको छ ।

यस गाउँपालिकाको वडा नम्बर–४ बिरबासस्थित रुन्खा दह माध्यमिक विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन भएको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको यस विद्यालयले विभिन्न खेल विधामा ११ स्वर्ण, तीन रजत र एक कांस्य गरी १५ पदक प्राप्त गरेको हो। द्वितीय भएको वडा नम्बर–४ बिरबासस्थित रुन्खा दह माध्यमिक विद्यालयले छ स्वर्ण, सात रजत र दुई कांस्य गरी १५ पदक प्राप्त गरेको छ ।

तृतीय भएको वडा नम्बर–५ अमरअर्बाथोकस्थित शारदा माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत र तीन कांस्य गरी १० पदक प्राप्त गरेको छ । प्रतियोगितामा पालिकाभित्रका १३ वटा विद्यालयको सहभागिता थियो । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले प्रतियोगितामा प्रथम भएको विद्यालयलाई शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय र तृतीय भएको विद्यालयलाई मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो ।