• ७ जेठ २०८१, सोमबार

जुम्लामा वडामै नुन पठाउने तयारी

blog

नेत्र शाही 

जुम्ला, साउन २ गते । जुम्लामा नुन सहजै नपाएको भन्दै डिपोमा तोडफोड भएपछि वडामा नुन पठाउन तयारी गरिएको छ । स्थानीय प्रशासनले नुनको व्यवस्थापन प्रभावकारी बनाउन वडामै पठाउने तयारी गरेको हो । 

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले डिपोमै तोडफोड भएको घटनाको विषयमा नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लालाई बुझिएको र प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन गरिएको जानकारी दिनुभयो । उहाँले यो भन्दा पहिला पनि वडामा पठाउने निर्णय भइसकेकाले वडाबाटै वितरण गर्दा मानिसहरू जिल्ला सदरमुकाम आउनुपर्ने र सजिलो भएकाले वडामा नुन पठाउने तयारी गरिएको हो ।

नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले अब वडाको समन्वयमा वडामै वितरण गर्न कार्यान्वयन गर्ने बताउनुभयो । उहाँका अनुसार लाइनमा लागेका व्यक्तिहरूले डिपोमा ढुङ्गामुढा गरेका थिए । नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा ढुङ्गामुढा भइरहेको जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन बाँडिरहेको समयमा अपुग भएको भन्दै आन्दोलन भएको र नागरिकलाई सहज नुन पाउने व्यवस्थापन गर्न स्थानीय सरकार सँगको समन्वयमा अगाडि बढाइने बताउनुभयो ।  

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार नुनको अभाव खासै नभएको तर व्यवस्थापनका विषयमा ध्यान दिन ढिलाइ भएकाले स्थानीय तहले यस विषयमा जोड दिन आवश्यक रहेको छ । 

नेपाल साल्टट्रेनिङ कर्पोरेश जुम्लाका प्रमुख मल्लका अनुसार गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भएपनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले अभाव देखिँदैन । हाल जुम्लाको सदरमुकाम खलङ्गामा भएको नेपाल खाद्य संस्थान कार्यालयबाट चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकाका नागरिक आएर नुन वितरण गरिँदै आएका छन् ।

पातारासीमा नुनको डिपो राख्न सुनुवाइ भएन  

नुन लिनका लागि भन्दै दुई तीन दिनसम्म विभिन्न चरणमा माग राख्दै आएपनि कार्यान्वयन हुन सकेको छैन । पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले डिपो नहुँदा पातारासी गाउँपालिकाले पटक-पटक पहल गरेपनि सुनुवाइ नभएको बताउनुभयो । 

जिल्ला स्तरबाट माथिल्लो निकायसम्म सो विषय पुगेपनि कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । पातारासी गाउँपालिकामा राजमार्गभन्दा टाढा भएपनि सरकारले नुन र खाद्यान्नको विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । 

यो पनि पढ्नुहोस

जुम्लामा नुन नपाएको भन्दै डिपोमा तोडफोड