गोरखा जिल्लाको धार्चे गाउँपालिका– ७, खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पहिरोका कारण बस्ती भएको जमिन चिरा चिरा परेपछि घर उच्च जोखिममा परेको बताउनुभयो। पहिराले बस्तीमाथिका जमिन चिरिएको र बस्तीमुनिका जमिन खाल्डो पर्दै गएपछि बस्ती पूरै जोखिममा परेको उहाँको भनाइ छ।
अब मर्जरमा गएका लघुवित्त वित्तीय संस्थाले एक वर्षको लाभांश वितरणमा सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले मर्जरमा गएका लघुवित्त संस्थालाई एक वर्षको लाभांश वितरणमा सहुलियत दिने भएको हो । राष्ट्र बैङ्कले बिहीबार लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै राष्ट्र बैङ्कले २०८१ साल असार मसान्तभित्र मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा गर्नुपर्ने थप प्रोभिजनमा सहुलियत दिएको हो ।
लगातारको वर्षा शुक्रवार पनि जारी रहेन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको र बाँकी क्षेत्रमा मध्यम खालको वर्षा हुने विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार बर्सेनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भन्दा गत आवमा मकवानपुर जिल्लाबाट भएको निर्यात व्यापारमा गिरावट आएको हो । गत आव २०७९/८० मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले ४८ करोड ६६ लाख ६९ हजार ८०३ रुपियाँ बराबरको निर्यात गरेका छन् । उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको मकवानपुर उद्योग वाणिज्य सङ्घ (मउवासङ्घ) का अनुसार आव २०७८/७९ मा यस जिल्लाबाट उद्योग र व्यावसायिक प्रतिष्ठानले गरी एक अर्ब ५५ करोड ५६ लाख ८० हजार १२९ रुपियाँ बराबरको निर्यात गरेका थिए । आव २०७७/७८ मा भन्दा आव २०७८/७९ मा यस जिल्लाबाट हुने निर्यात व्यापारमा वृद्धि भएको थियो ।
नेपाली कला क्षेत्रमा निर्माता, गायक तथा अभिनेताका रूपमा सक्रिय विक्रमजङ्ग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडेँ मैले’ सार्वजनिक गर्नुभएको छ । यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टीका पुनले साथ दिनुभएको छ । विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा ‘ब्रेकअपको कन्सेप्ट’ देखाइएको छ ।
मध्यपुर थिमि–१, लोकन्थलीमा रहेको सिद्धि गणेश दफा भजन खलले विगत १५ महिनादेखि सञ्चालन गर्दै आएको बाँसुरी वादन प्रशिक्षण बिहीबार पूरा भएको छ । प्रशिक्षण समापन तथा प्रदर्शन कार्यक्रम (बाजा पिथनेगु ज्याझ्वः) मा आठ वर्षको बालकदेखि ३८ वर्षको युवासम्म मौलिक पहिरनमा सजिएर बाँसुरी बजाई नगर परिक्रममा गरेका थिए ।
पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो। विदेशबाट फर्किएका सबै युवालाई पार्टी निर्माणमा केन्द्रित गर्ने गरी वडा खटिने रिटर्नी सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले बताउनुभयो। “हामी नेपाली रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ। देशमा कुनै युवा बस्न चाहँदैन,” सम्बाहाम्फेले भन्नुभयो, “सबै युवालाई देशमै केही गर्न सम्भव देशमै सपना देखाउनु पर्छ भन्ने सन्देश लिएर अभियानमा जोडिने छौँ।” युवालाई स्वदेशमै आशा जगाउने गरी अभियान चलाएर पार्टीमा सङ्गठित समेत गरिने उहाँले बताउनुभयो।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त स्रोत, साधन र जनशक्तिबिना अनलाइन सञ्चारमाध्यम दर्ता हुने विद्यमान कानुनी व्यवस्था पुनरवलोकन हुनुपर्ने बताउनुभएको छ। उहाँले अनलाइन दर्ता व्यापक बढेको तर गुणात्मक पक्ष भने फितलो रहेको भन्दै यसले पेसागत चुनौती थपेकोसमेत औँल्याउनुभयो।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल–चीन द्विपक्षीय आर्थिक सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। चीनको युनान प्रान्तमा आयोजित सातौँ चाइना साउथ एसिया एक्स्पो र २७ औँ चाइना कुनमिङ आयात तथा निर्यात मेलाको उद्घाटन समारोहमा सम्बोधन गर्दै उहाँले नेपालको व्यापार, पर्यटन, पूर्वाधार, सम्पर्क सञ्जाल र जलविद्युत् क्षेत्रमा लगानी गर्न चीन सरकारलाई आह्वान गर्नुभयो।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ । ‘चीन साउथ एसिया बिजनेस फोरम’ का तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित ‘चाइना नेपाल इन्डस्ट्रियल को अपरेसन प्रमोसन एन्ड इन्टरप्राइजेज म्याच मेकिङ’ बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालको प्राकृतिक स्रोत, दक्ष जनशक्ति, बजार पहुँच र चीन तथा भारतसँगको सहज बजार पहुँचको उपयोग गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको हो ।
आफूसँग पैसा हुँदाहुँदै स्थानीय बासिन्दाले पैसाको अभाव झेल्नु परिरहेको छ । यो बाध्यता इलामको पूर्वी सीमावर्ती क्षेत्रका नागरिकको हो । इलामको पशुपतिनगर बजार र त्यस आसपास अर्थात् भारतसँग सिमाना जोडिएका क्षेत्रका नेपालीलाई नेपाली पैसाको अभाव भइरहेको छ । नेपाली पैसाको अभावको मुख्य कारण भनेको भारतीय रुपियाँको कारोबार बढी भएर हो । पशुपतिनगर बजारसहित जिल्लाको पूर्वी क्षेत्रका अधिकांश किसानले उत्पादन गरेको कृषि उपज बिक्री गर्दा बढी मात्रामा भारत जाने गरेकाले त्यसको आम्दानी पनि भारतीय रुपियाँमै हुने गरेको छ तर भारतीय रुपियाँ सटही गरेर नेपाली रुपियाँ लिने ठाउँ नहुँदा यहाँका नागरिकले रकम अभावको समस्या झेल्नु परिरहेको स्थानीय बासिन्दा बताउँछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष थप ८२० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिएको छ । मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै यस वर्ष २२२ वटा मोटरेबल नयाँ पुल निर्माण भएको पनि जनाएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले आर्थिक वर्ष २०७९/८० मा २४९ किलोमिटर सडकको पुनर्निर्माण तथा पुनर्स्थापना भएको पनि बताउनुभयो । त्यसै गरी २४३ किलोमिटर नयाँ ट्र्याक खोलिएको, ६२८ किलोमिटर खण्डास्मित (ग्राभेल) गरिएको जानकारी दिनुभयो । उहाँले सो अवधिमा सडक विभागको भौतिक प्रगति ६९ प्रतिशत रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु शान्त विद्रोहबाट देश परिवर्तनका लागि प्रयास गरिरहेको बताउनुभएको छ ।
अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भने मात्र परिणाम आउने बताउनुभएको छ।