काठमाडौँ, भदौ १ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त स्रोत, साधन र जनशक्तिबिना अनलाइन सञ्चारमाध्यम दर्ता हुने विद्यमान कानुनी व्यवस्था पुनरवलोकन हुनुपर्ने बताउनुभएको छ। उहाँले अनलाइन दर्ता व्यापक बढेको तर गुणात्मक पक्ष भने फितलो रहेको भन्दै यसले पेसागत चुनौती थपेकोसमेत औँल्याउनुभयो।
नयाँ अनलाइन सञ्चारमाध्यमका सम्पादक, प्रकाशकका लागि बिहीबार काउन्सिलमा राखिएका आचारसंहिता अभिमुखीकरणमा उहाँले भन्नुभयो, “सुरु भएको एक महिनामै अनलाइन बन्द गर्नुपर्ने, पत्रकारले तलब नपाउने र सञ्चालक भाग्नुपर्ने अवस्था पनि छ। त्यसो हो भने किन हतारिएर दर्ता गर्नुप-यो ? सजिलै दर्ता गर्न सक्ने विद्यमान कानुनी व्यवस्थाका कारण यो अवस्था आएको हो कि ? अब त्यसको पनि पुनरवलोकन हुनु पर्छ।” नेपाल प्रेस काउन्सिलका अनुसार अभिमुखीकरणमा विषयगत विज्ञका रूपमा गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराईले आचारसंहिता र पत्रकारिताका मूल्यमान्यताका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले आचारसंहिताले गर्न हुने र नहुने काम प्रस्टसँग तोकिदिएको तर अनलाइनमा त्यसको पालना भएको नदेखिएको भन्दै सम्पादक, संवाददाताले यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो। काउन्सिलको अनुगमन यसतर्फ बढी केन्द्रित हुनुपर्ने उहाँले सुझाव दिनुभयो।