मतदान स्थलमा क्यामेरा, लाइटर, सलाई, मोबाइल लान नपाइने भएको छ । निर्वाचन आयोगले यी वस्तुहरू मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रबन्ध मिलाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
सुनसरीमा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिकमा मतदान गर्न कैदीबन्दी र कर्मचारीका लागि दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचनमा क्षेत्रीय एक हजार पाँच सय कैदीबन्दीमध्ये ५८ जनाले समानुपातिक निर्वाचन प्रणालीका लागि मतदान दिने जनाएको छ। झुम्का कारागारमा एउटा र कर्मचारी सुरक्षाकर्मीसहितका लागि जिल्ला समन्वय समिति सुनसरीमा एउटा गरी दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ।
मेलम्ची नदीको उद्गमस्थल भेमाथाङमा २०७८ साउन महिनामा गएको पहिरो स्थलको मङ्गलवार खिचिएका तस्बिर । क्यानेडियन र नेपाली जियो टेक्निकल इन्जिनियर सहितको टोलीले दुई हप्ता सम्म उक्त क्षेत्रको अध्ययन गरेको थियो
सभा पोखरी गाउँपालिकाको बर्थिङ सेन्टरका कर्मचारी निर्वाचनमा खटिँदा सेवा प्रभावित भएको छ। पालिकाको दुईवटै बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीहरू निर्वाचनमा खटाइएपछि एक हप्तासम्म सेवा बन्द हुने भएको हो। कात्तिक ३० देखि मङ्सिर ६ गतेसम्म दुवै बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी निर्वाचनमा खटाइएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य संस्थाहरूबाट दिइने सेवा बन्द भएकोले जिल्ला अस्पताल खाँदबारी जानुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जानकारी दिनुभयो।
संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले पहिले फिल्डिङ गर्दैछ । त्रिवी मैदान कीर्तिपुरमा बुधबार यूर्एइले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो । आजको खेलमा नेपाल जित निकाल्दै सिरिजमा फर्कने तयारीका छ ।
ग्रामीण भेगका किसानले पशुपालन गरेर उत्पादन गरेको दूध बिक्री गर्न डेरी सञ्चालन गरिदिन विश्वासिलो आधार दिने उम्मेदवारहरूलाई मत दिने किसानले बताएका छन्। लहानको मुख्य चोकमा सडक किनारमा बिहानै आई घण्टौँ उभिएर दूध बिक्री गर्न समस्या खेपिरहेका ग्रामीण भेगका किसानले यस्तो माग गरेका हुन्। लहान–२० का शिवनाथ साह, रामप्रसाद महतोलगायत तीन दर्जनभन्दा बढी किसान दूध बिक्री गर्न चोकमा आउँछन्। उनीहरूले चार/पाँच घण्टा उभिएर दूध बिक्री गर्नु परिरहेको बाध्यता व्यक्त गर्दै यो समस्या समाधान गर्ने दलहरूलाई मत दिने बताए।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले यो पटक आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक चुनावी प्रतिस्पर्धा गर्दै गर्दा खनालले यो प्रतिस्पर्धा पनि आफ्नो अन्तिम प्रतिस्पर्धा रहेको बताउनु भयो ।
प्रा. विष्णु राईको गीत तथा कवितासङ्ग्रह ‘खियामा ब्लु स्काई’ सार्वजनिक भएको छ। अङ्ग्रेजी भाषामा लेखिएको सो कृति वरिष्ठ राजनीतिज्ञ हरिबोल भट्टराईको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो।
बलिउड सुपरस्टार अमिर खानले ३५ वर्षको आफ्नो चलचित्रको करिअरपछि अभिनयबाट ब्रेक लिने हुनुभएको छ। अभिनेता खान केही महिनाअघि चलचित्र ‘लाल सिंह चड्डा’मा देखिनुभएको थियो तर यो चलचित्र बक्स अफिसमा खासै जम्न सकेन। योसँगै अभिनेताले अभिनयबाट ब्रेक लिने निर्णयले उहाँका फ्यानलाई ठूलो झट्का लागेको छ। अभिनयबाट ब्रेक लिनुका साथै उहाँले आफ्नो भावी योजनाका बारेमा पनि खुलासा गर्नुभएको छ।
वि.सं. २०४६ को जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनस्र्थापना भई शासनव्यवस्था जनप्रतिनिधिका हातमा आएपछि दलीय दाउपेच र अन्तद्र्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन, अस्थिरताको दलदलमा फस्यो। २०४८ सालको निर्वाचनदेखि २०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने। यिनै २८ सरकारको नालीबेली बताउने पुस्तक ‘सत्ता सङ्घर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ प्रकाशित भएको छ। पत्रकार रामकृष्ण भण्डारीले लेख्नुभएको पुस्तक साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो।
मङ्सिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि बाँकेका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मतदान केन्द्र व्यवस्थापन तालिम प्रदान गरिएको छ। संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको व्यवस्थापनलाई तालिममा विशेष प्राथमिकता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो।
मुलुककै जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड आफ्नो स्थापनाको ८६औँ वर्षमा प्रवेश गरेको छ। नेपालमा वित्तीय सुविधा विस्तारमा ऐतिहासिक भूमिका निर्वाह गरेको नेपाल बैङ्कले अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धा गरिरहेको छ। विभिन्न सुधार प्रयासका परिणामस्वरूप अहिले यो बैङ्क आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको छ। यिनै परिवेशमा नेपाल बैङ्क लिमिटेड सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीसँग गोरखापत्रका गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो।